अन्नपूर्ण फेरोमा स्कीको मज्जा

आश गुरुङ

लमजुङ — केही व्यक्ति हिउँमा टेकेर सरर दौडिएको देखेपछि मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेका राजु गुरुङ हेरेको हेर्‍यै भए । भेउ पाउन नसकेपछि उनी नजिकै गए । उनलाई बल्ल थाहा भयो, काठको जस्तो फलेकमा खुट्टा टेकेर मानिस दौडिएका रहेछन् ।

अन्नपूर्ण फेरोमा स्कीको मज्जा

आफ्नै आँखाअगाडिको यो खेलबारे उनले सुनेका थिएनन् । न देखेकै थिए । ‘हिउँमा टेकेपछि सललै बग्ने रहेछ । यहाँदेखि उहाँ पुग्दोरहेछ । उकालोमा त जाँदैन कि क्या हो,’ उनले ठट्यौली पारामा भने, ‘सोधपुछपछि थाहा भयो, यसलाई स्की भनिँदोरहेछ, के को काठको फलेक हुनु नि ।’ स्थानीय सोनाम गुरुङले स्की खेल मनाङका लागि नौलो खेल भएको बताए । ‘हामीले टेलिभिजन, युट्युबमा कहिलेकाहीं हेर्ने गरेका छौं । प्रत्यक्ष देखिएको त अहिले नै हो,’ उनले भने ।

हुम्डे समुद्री सतहदेखि ३ हजार २ सय मिटरको उचाइमा छ । हिउँ पर्दा यस क्षेत्रमा स्की खेल्न सकिन्छ । बेलायती सेनाबाट सेवानिवृत्त भएपछि म्याग्दीका हाल काठमाडौं बस्दै आएका समिर थापाले हुम्डे क्षेत्रका साथै नेपालमा स्कीको प्रशिक्षण दिँदै आएका छन् । सन् २०१६ मा सेवानिवृत्त भएपछि उनी नेपालीलाई स्की सिकाउने उद्देश्य राखेर हिँडेका छन् । फेब्रअरी २ देखि ११ सम्म हुम्डे क्षेत्रमा आयोजित तेस्रो आइस क्लाइम्बिङ फेस्टिबलमा सहभागी साथै स्थानीयलाई उनले स्की सिकाए ।

स्थानीय कमल गुरुङले दोस्रोपल्ट स्की खेलेको सुनाए । ‘पोहोर पहिलोपल्ट यहीं खेलेका हौं । समिर सरले तालिम दिनुभएको थियो । यसपालि मेरो दोस्रो हो,’ उनले भने, ‘पहिलोपल्ट खेल्दा आनन्द आयो । यसपालि झनै रमाइलो भयो । खेल्न नजान्दा सुरु सुरुमा लडियो ।’ हिउँको सग्लो ठाउँमा खेलिने यो खेललाई सरकारले प्राथामिकतामा राख्नुपर्ने उनी बताउँछन् । बेलायतमा सैनिकलाई समेत १२ वर्ष स्की सिकाएका थापा हिमालयन स्की एन्ड ट्रेकका प्रशिक्षक हुन् । उनी स्थानीयलाई स्की सिकाउन चाहन्छन् । ‘कतै–कतै सैनिकले हिमाली क्षेत्रमा स्कीलाई प्रयोग गरेको देखिन्छ । हिमालमा भागदौडका लागि पनि यसको प्रयोग गरेको पाइन्छ । नत्र मनोरञ्जनका लागि यो एक प्रकारको खेल हो,’ थापाले भने, ‘हामी यो खेल हिमालका स्थानीयलाई सिकाउन चहान्छौं ।’ उनले मनाङका अलावा लाङटाङ, मुस्ताङलगायत क्षेत्रमा गएर स्थानीयलाई स्की सिकाएको बताए ।

उनका अनुसार पछिल्लो समय नेपाल क्लाइम्बिङ टिमसँग मिलेर स्की प्रवर्द्धनको काम गरिरहेको छ । ‘जति पनि पर्वतारोहणका गाइड तथा प्रशिक्षक छन् । उनीहरूमा स्कीको क्वालिफिकेसन हुनुपर्छ,’ उनले भने, ‘आइस क्लाइम्बिङ भइरहेको ठाउँमा पुगेर प्रशिक्षण दिने गरेको छु ।’ उनका अनुसार नेपालमा स्कीको ठूलो प्रतियोगिता भएको छैन । तर यसको प्रतियोगिता हुन आवश्यक ठान्छन् ।

उनले गत वर्ष हुम्डेमा मात्रै देशीविदेशी गरी ४० जनालाई स्की सिकाएका थिए । २०१६ मा उनले गोसाइँकुण्डमा पुगेर स्की सिकाएका उनले सन् २०१७ र ०१८ मा मुक्तिनाथमा दुईपटक स्कीको प्रशिक्षण दिएका थिए । नेपाल क्लाइम्बिङ टिमका महासचिव विष्णु तामाङले आइस क्लाइम्बिङसँगै स्कीको प्रवर्द्धनमा काम गरिरहेको दाबी गरे ।

प्रकाशित : फाल्गुन १३, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?