पर्यटक तान्न चिनियाँ भाषा सिक्दै व्यवसायी

चिनियाँ पर्यटकले अंग्रेजी नजान्ने र जाने पनि बोल्न नचाहने भएकाले दोहोरो संवादमा समस्या
दीपक परियार

पोखरा — दुई वर्षअघि हेलिकप्टरमा सगरमाथा क्षेत्र जानुपर्ने चिनियाँ पर्यटक झुक्किएर अन्नपूर्ण पुगे । अन्नपूर्ण आधार शिविर (एबीसी) पुगेपछि मात्रै फरक गन्तव्यमा पुगेको उनीहरूले भेउ पाए । भाषाकै समस्याले चिनियाँ जोडीलाई आइपरेको समस्याको प्रत्यक्षदर्शी थिए, एयर डाइनेस्टी हेलिकप्टरको पोखरा कार्यालयमा कार्यरत सुरज घिसिङ । चिनियाँ पर्यटकसँग दोहोरो संवाद गर्न नसक्दा पर्ने समस्याको भुक्तभोगी उनी अहिले चिनियाँ भाषा सिकिरहेछन् ।

पर्यटक तान्न चिनियाँ भाषा सिक्दै व्यवसायी

आफ्ना प्रायः ग्राहक चिनियाँ भएकाले पनि भाषा सिक्न अनिवार्य भएको उनी बताउँछन् । उनका अनुसार चिनियाँ पर्यटकले अंग्रेजी नजान्ने, जाने पनि बोल्न नचाहने र पोखराका पर्यटन व्यवासायीले चिनियाँ भाषा नजान्ने हुँदा दोहोरो संवाद प्रभावकारी हुँदैनथ्यो । भाषाको आधारभूत ज्ञानसमेत नहुँदा सांकेतिक रूपमा बुझाएको अनुभव उनीसँग छ । ‘स्वागत, सत्कार र हिसाबकिताबमा प्रयोग हुने १० प्रतिशत जति शब्द जाने मात्रै पनि प्रभावकारी हुन्छ,’ उनी भन्छन्, ‘चिनियाँ भाषा केही अप्ठ्यारो छ तर जान्दै नजान्नुभन्दा सिकेकै राम्रो ।’

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पर्यटन बोर्डसँगको सहकार्यमा चिनियाँ भाषा कक्षा सञ्चालन गरेको हो । ट्राभल र ट्रेकिङ कम्पनी सञ्चालक एवं व्यवस्थापन हेर्ने कर्मचारीसहित ४० जना तालिममा सहभागी छन् । माघ तेस्रो सातादेखि सुरु भएको तालिमको अवधि एक महिनाको छ । भारतीयपछि पोखरामा धेरै आउने पर्यटक चिनियाँ हुन् । कोरोना महामारी सुरु हुनुअघिसम्म पोखरामा चिनियाँ पर्यटकको बाक्लो उपस्थिति थियो । उनीहरू पोखरा वरपर एबीसी, मर्दी हिमाल, सिक्लेस नजिकैको कपुचे ताल, कोरी, मनाङ, धौलागिरि आधार शिविरमा हेली टुर गर्न रुचाउँछन् । चिनियाँ नायिका स्वी छिङ नेपाल आएर हेलिकप्टरमै एबीसी पुगेपछि चिनियाँ पर्यटकको आगमनमा वृद्धि भएको घिसिङले सुनाए । ट्रेकिङमा भने उनीहरूको रुचि कम हुन्छ ।

सन् २०१० देखि २०१५/१६ सम्म पोखरा आउने जापानी पर्यटकको संख्या धेरै हुन्थ्यो । त्यति बेला पर्यटन व्यवसायी गोपालकृष्ण संग्रौलाले जापानी भाषा सिके । लकडाउन अघिसम्म चिनियाँ पर्यटकको संख्या बढ्न थालेपछि जापानी पर्यटक घट्दै गए । लेकसाइडमा काउन्सिल ट्राभल्स एन्ड टुर्सका प्रबन्ध निर्देशक उनलाई चिनियाँ भाषाको आवश्यकता महसुस भयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका सदस्यसमेत रहेका उनी चिनियाँ भाषा तालिममा सहभागी भए । ‘चिनियाँको धेरै आगमन पोखरामा हुने, अंग्रेजीमा प्रतिक्रिया दिँदा जति कुरा भन्नुपर्ने हो, त्यो नपुग्ने, नबुझ्दा नबुझ्दै उठेर जाने व्यवहार धेरैपल्ट भयो,’ भाषा नजान्दा आइपरेको समस्या सुनाउँदै उनले भने, ‘त्यस्तो अवस्थामा कसै न कसैले भाषा सिकेर डेस्कमा आएको बिजनेस नछुटाऔं भन्ने हिसाबले सिक्न खोजेको ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि चिनियाँ पर्यटकको संख्या ह्वात्तै बढ्ने व्यवसायीको अनुमान छ । विमानस्थलबाट पहिलो उडान चीनमा हुने खबरले यहाँका व्यवसायी उत्साहित छन् । दुई–तीन वर्षपछि चीनबाट नेपाल भित्रिने पर्यटकको संख्या धेरै हुने भएकाले त्यसैलाई लक्ष्य गर्दै भाषा सिकेको संग्रौलाले बताए । पृथ्वीनारायण क्याम्पसका प्राध्यापक देव तिमिल्सिना १२ वर्षदेखि लेकसाइडमै भिन्टेज ट्राभल्स एन्ड टुर्स चलाइरहेछन् । लकडाउनअघि चिनियाँ पर्यटकको उच्च आगमन र भविष्यको सम्भावनालाई दृष्टिगत गरी उनी पनि भाषा कक्षामा भर्ना भए । चिनियाँ भाषाको ज्ञान हुँदा पर्यटकसँग आत्मीयता बढ्ने र भन्न खोजेको कुरा सजिलैसँग बुझाउन सकिने उनी बताउँछन् ।

‘चीन गएर आफ्नो व्यापार प्रवर्द्धन गर्न सकिन्छ । त्यति बेला पनि त्यहाँका स्थानीय ट्राभल एजेन्ट, समुदायसँग अन्तरक्रिया गर्न सजिलो होस् भनेर कक्षामा भर्ना भएँ,’ उनले भने, ‘यसले दीर्घकालीन रूपमा सम्पूर्ण पर्यटन क्षेत्रलाई नै टेवा पुग्छ । व्यक्तित्व विकास हुन्छ ।’ चिनियाँ पर्यटकको रोजाइ र आवश्यकताअनुसारको सेवा दिन, नेपाललाई आफ्नो घरजस्तै महसुस गराउन सके आगामी वर्षमा पर्यटक बढ्ने उनको भनाइ छ । पोखरामा चिनियाँ पर्यटक धेरै भित्र्याउनेमध्ये पर्छ– एन्छाओ एडभेन्चर ट्राभल । यही ट्राभल कम्पनीमा दुई वर्षदेखि कार्यरत सुष्मा नेपाली फाट्टफुट्ट चिनियाँ भाषा बोल्छिन् । भाषाको कक्षा लिन थालेपछि उनलाई अझै सजिलो भएको छ ।

व्यवसायीलाई जाय युआनले चिनियाँ भाषा सिकाइरहेकी छन् । अध्ययनका क्रममा चीन पुगेका पोखराकै एक युवकसँग बिहे गरेकी उनी दुई वर्षदेखि यतै छिन् । धेरथोर नेपाली भाषासमेत बोल्ने र नेपाली संस्कृतिबारे जानकार भएकाले चिनियाँ भाषा सिकाउन सजिलै भएको उनले बताइन् । यहाँका पर्यटन व्यवसायीले भाषासँगै चिनियाँ संस्कृति, पर्यटकको बानीबेहोराबारे जानकारी राख्न सके व्यवसायमा लाभ पुग्ने उनको भनाइ छ । ‘स्वागत सत्कारमा आवश्यक आधारभूत शब्द मात्रै बोल्न सके व्यवसायलाई फाइदा पुग्छ,’ उनी भन्छिन्, ‘बाटो, पूर्वाधारको सुधारमा पनि नेपाल सरकारले ध्यान दिनुपर्छ ।’

महामारीको समयलाई सदुपयोग गरी व्यवसायीको क्षमता अभिवृद्धि गर्न भाषा तालिम सहयोगी बन्ने पर्यटन बोर्डका पोखरा कार्यालय प्रबन्धक विमल कँडेलले बताए । २०७२ को भूकम्पपछि पनि चार समूहमा ४०–४० जनालाई चिनियाँ भाषाको तालिम दिएको उनले सम्झिए । हाल पोखरामा तालिम लिइरहेका सहभागीलाई चिनियाँ दूतावासको सहयोगमा थप ६ महिना तालिम दिने तयारी गरेको उनले सुनाए । ‘भाषा कूटनीति भनेको व्यापार व्यवसायमा पहिलेदेखि चल्दै आएको हो,’ उनले भने, ‘अब पोखराको सम्भावनालाई हेर्ने हो भने यो तालिम कोसेढुंगा बन्न सक्छ ।’

चीनमा सेल्स मिसन लैजान पनि भाषा अनिवार्य भएको नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलको भनाइ छ । ‘हामी अब चीन नगई हुँदैन, त्यसका लागि सीप बढाउनुपर्छ,’ उनी भन्छन्, ‘त्यहाँका पाहुनालाई ल्याउन सक्ने दक्षता हुनुपर्छ भन्ने हिसाबले चिनियाँ भाषा सिकाउने हाम्रो तालिकामै थियो । महामारीका बेलामा अवसर पनि भयो ।’ चिनियाँ संस्कृतिसँग भिज्ने, आतिथ्य सिक्ने, सरकारले कूटनीतिक तहबाट प्रवर्द्धन र आकर्षक प्याकेज ल्याउन सके चिनियाँ पर्यटक बढ्ने उनको विश्वास छ ।

तालिम संयोजक खिम नेपाली महामारीको अन्त्यसँगै चिनियाँ पर्यटकको आगमनमा वृद्धि हुनेमा आशावादी छन् । ‘भाषा जान्ने हो भने हाम्रा पर्यटकीय गन्तव्यको बारेमा थप व्याख्या गर्न सकिन्छ,’ उनले भने, ‘यसबाट उनीहरुको बसाइँ लम्ब्याउन सकिन्छ ।’ पोखरामा चिनियाँ पर्यटक स्वागतको पूर्वतयारी स्वरुप नाट्टाले व्यवसायीलाई भाषा तालिम दिएको उनले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७७ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?