टर्फ मैदानमा फुटबल मेला- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टर्फ मैदानमा फुटबल मेला

३५ लाख खर्चेर कृत्रिम फुटबल मैदान
कान्तिपुर संवाददाता

गोरखा — गोरखा नगरपालिका–९ दलभन्ज्याङमा फागुन २४ देखि २७ सम्म तेस्रो फुटबल मेला हुने भएको छ । द ओसन क्लबले आयोजना गर्ने मेलामा भेट्रान्स कप फुटबल, यू–१३ फुटबल र फोटो प्रदर्शनीलगायत गतिविधि हुने क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए ।


यू–१३ प्रतियोगिताका लागि विद्यालय वा क्लबले सहभागिता जनाउन सक्नेछन् । विजेताले १५ र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन् । गोरखाको फुटबल विकासमा योगदान गर्नेमध्ये एकजनालाई सोही अवसरमा लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । खेलप्रेमीलाई एकीकृत गर्ने, अग्रज र युवा खेलाडीको जमघट गराउने, युवा खेलाडीको प्रतिभा प्रस्फुटन, जिल्लाको खेल पर्यटन विकासमा सहयोग पुर्‍याउने, स्थानीय कला, संस्कृति तथा परम्परागत खानपान प्रवर्द्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको आयोजकले जनाएको छ ।

क्लबले दलभन्ज्याङमा निर्माण गरेको आर्टिफिसियल टर्फ (कृत्रिम घाँसे मैदान) को खर्च विवरण पनि सार्वजनिक गरेको छ । मैदान निर्माण गर्न ३५ लाख १९ हजार रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष खत्रीले बताए । ‘३५ लाखमध्ये २६ लाख जुटायौं, सामान खरिद गरेको ठाउँमा अझै आठ लाख तिर्नै बाँकी छ,’ उनले भने, ‘बाँकी रकमलाई दाताको खोजी भइरहेको छ ।’

गोरखा नगरपालिकाबाट ११ लाख ४६ हजार, गण्डकी प्रदेशको सांसद कोषबाट ७ लाख ८ हजार र विभिन्न व्यक्ति तथा संघसंस्थाबाट ८ लाख १२ हजार रुपैयाँ जुटेको खत्रीले बताए । खेलप्रेमीका लागि बाह्रै महिना फुटबल खेल्न दलभन्ज्याङमा क्लबकै सक्रियतामा कृत्रिम घाँसे मैदान निर्माण भएको हो । मैदानमा अत्यावश्यक चेन्जिङ रूम, शौचालयलगायतका संरचना निर्माण गर्न अझै करिब २० लाख अपुग रहेको क्लबले जनाएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७७ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

पुनर्निर्माण हुँदै नारायणी रंगशाला

शंकर आचार्य

पर्सा — जर्जर बनेको वीरगन्जस्थित नारायणी रंगशालाको पुनर्निर्माण सुरु गरिएको छ । रंगशालाको दक्षिणपूर्वी प्यारापिट भत्काएर नयाँ निर्माण गरिँदै छ । मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति वीरगन्जका प्रमुख मोहम्मद जियाउल इस्लामका अनुसार हाल ९ लेनको करिब ८० मिटर लामो प्यारापिट निर्माण गर्न लागिएको हो ।

‘राष्ट्रिय खेलकुद परिषद्को लगानीमा यसवर्ष प्यारापिट निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘प्यारापिट निर्माणको काम निरन्तर चल्ने आश्वासन हामीले पाएका छौं ।’

नयाँ रंगशालाको संरचना निर्माण गर्न कुल २ अर्ब ६४ करोड रुपैयाँ लागतको डीपीआर तयार गरिएकोमा पहिलो चरणमा आव २०७४/०७५ मा ७५ लाख र २०७५/०७६ मा ५० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषद्ले निकासा गरेकोमा त्यसबाट कम्पाउन्ड वाल निर्माणको काम सकिएको छ । आव २०७६/०७७ मा राखेपले कभर्डहल निर्माणका लागि २ करोड र रंगशाला/प्यारापिट निर्माणका लागि ५ करोड निकासा गरी टेन्डर आह्वान गरी ठेक्कासमेत लागिसकेको थियो ।

तर कोभिड–१९ महामारीका कारण ठेकेदारले काम गर्न नसकेपछि गत वर्ष उक्त रकम फ्रिज भएको इस्लामले बताए । ‘यसपालि परिषद्ले सोही रकम निकासा गरी रंगशालाको प्यारापिट निर्माणको काम गरिरहेको छ,’ उनले भने, ‘हाल ३ करोड ७२ लाख रुपैयाँमा ठेक्का लागेर यो निर्माण काम भइरहेको छ ।’ रोशन/सागर निर्माण कम्पनीले ज्वाइन्ट भेञ्चरमा ठेक्का पाएको हो ।

ठूलो परियोजना रहेकाले हालको रकम रंगशाला निर्माणलाई अत्यन्त कम रहे पनि जर्जर बनेको रंगशालाले नयाँ जीवन पाउन लागेकाले आफूहरू उत्साही रहेको इस्लाम बताउँछन् । उनले भने, ‘कामले निरन्तरता पाउनुपर्छ र रंगशाला निर्माणका लागि कनिका छरेजस्तो रकम नभई एकमुष्ट रकम लगानी गरिए मात्र यो परियोजना सफल हुन्छ, नत्र एकातिर प्यारापिट बन्ने र अर्कोतिर भत्किने क्रम सुरु हुन्छ ।’

२ अर्ब ६४ करोडमा नयाँ रंगशालाको डीपीआरअन्तर्गत क्रिकेट मैदान, ट्र्याक एन्ड फिल्डसहित फुटबल मैदान, कर्भडहल, कम्पाउन्ड वाल निर्माण हुनेछ । हाल भत्काइएको दक्षिणपूर्वी कुनाको प्यारापिटको पूर्वतर्फको गेट नजिक दुई महिनाअघि ठूलो भाग भासिएर झरिसकेको छ । दक्षिणतर्फ पनि प्यारापिटमा ठूलो भ्वाङ परेको छ । हाल नभत्काइएको रंगशालाको पश्चिम, दक्षिण, उत्तरतर्फ पनि प्यारापिट कयौं ठाउँमा भत्केको छ ।

रंगशालाको मैदान पनि मर्मतसम्भार नहँॅदा प्रयोग गर्न लायक छैन । प्यारापिटका ठाउँठाउँमा झारपात उम्रिएको छ । झन्डै ४ दशकअघि निर्मित यो रंगशालाको नियमित मर्मतसम्भार नगरिँदा जर्जर बन्न पुगेको हो । लागूऔषध दुर्व्यसनीले ठाउँठाउँमा प्यारापिट फुटाएर रड झिकेकाले रंगशाला नै कमजोर भएको छ ।


रंगशालाको इतिहास

तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको सक्रियतामा करिब चार दशकअघि यो रंगशाला निर्माण गरिएको हो । रंगशाला निर्माणका लागि गुरुङ, तत्कालीन नगर प्रमुख तथा हालका विघटित संघीय संसदका सांसद विमल श्रीवास्तव, समाजसेवी हरिप्रसाद गिरी, पशुपतिविक्रम शाहसहितको टोलीले ठूलो मिहिनेत गरेको थियो । तीनैमध्ये एक पशुपतिविक्रम शाह उतिबेला प्रतिकट्ठा ४ हजार रुपैयाँका दरले रंगशालासँगै अस्पताल, छात्रावास, कभर्डहललाई समेत ३० बिघा जग्गा खरिद गरेको बताउँछन् ।

त्यतिबेला खरिद गरिएको ३० बिघा जग्गामध्ये धेरै जग्गा अतिक्रमणमा परेको छ । ‘रंगशाला निर्माण भएपछि त्यसमा दोस्रो राष्ट्रिय खेलकुद, पञ्चायत रजत जयन्ती कार्यक्रमहरूसमेत आयोजना भए, वीरगन्जवासीले गर्व गर्न लायक धरोहरमध्ये एक यो रंगशाला उतिबेला राजधानीको दशरथ रंगशालापछिकै ठूलो र भव्य रंगशाला मानिएको थियो,’ उनले भने, ‘तर न यसको संरक्षण गरियो, न त नियमित मर्मतसम्भार नै गरियो, त्यसको परिणाम चार दशक पनि रंगशाला टिक्न सकेन ।’

प्रकाशित : फाल्गुन ११, २०७७ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×