१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पहिरोपीडितका घर बनाउँदै प्रवासी

‘अबको बर्खा सुरक्षित ठाउँमा बस्न पाउने आशा छ’
घनश्याम खड्का

म्याग्दी — ‘दुई हल गोरुले जोत्ने पाखोबारीको छेउमा सानो घर थियो । टोलका सबै ५ घर पहिरोले लग्यो । ज्यान बाँच्यो । बर्खे झरी र हिउँद त्रिपालमुनि बित्यो,’ मालिका गाउँपालिका–७ विम नैरुङका ७२ वर्षीय अमप्रसाद दर्जीले गत असार २६ को घटना र त्यसपछिको अवस्था बताए, ‘सास भए आस आउने रहेछ । बाहिर देश गएकाले उठाएको पैसाले घर बन्दै छ । अबको बर्खा सुरक्षित ठाउँमा बस्न पाउने आशा छ ।’

पहिरोपीडितका घर बनाउँदै प्रवासी

पहिरोले बगाएपछि थातथलो नभएका र आफैंले बास निर्माण गर्न पनि नसक्ने विमका १० परिवारलाई पुनर्वास गराउन एकै ठाउँमा नयाँ घर बनाउन थालिएको छ । बाढीपहिरो घर बगाएका जिल्लाका ४० परिवारका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले नयाँ घर बनाइदिन थालेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयमा पुनर्वास गराउन सिफारिस गरेको सूचीमा तीन सय जनाभन्दा बढी बाढीपहिरोपीडित परिवार छन् । उनीहरूमध्ये ४० परिवारका लागि मोनाले घर बनाइरहेको हो । विममा १० घर, धौलागिरि गाउँपालिकामा–१४, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४/४ का दरले घर बन्दै छन् । ‘पहिरोपीडितलाई पुनर्वास गराउन घर बनाइदिन थालेका छौं,’ मोना हङकङका पूर्वअध्यक्ष तथा मोना अन्तर्राष्ट्रिय समितिका सल्लाहकार दल शेरबुजा मगरले भने, ‘विपद्मा परेका दाजुभाइलाई पुनर्वास गराउने अभियानमा श्रमदान गर्न पुर्ख्यौली थलो फर्केको हुँ । एउटाको नमुना र लागतको आधारमा अरू घर निर्माण अघि बढाउने योजना छ ।’

पुनर्वासका लागि सरकारले हालै जारी गरेको पुनर्निर्माण कार्यविधिमा हिमाली जिल्लामा घर बनाउन ५ लाख, मर्मत गरी पुनः प्रयोग गर्ने बनाउन ५० हजार र घर बनाउन जग्गा नभएकालाई घडेरी खरिद गर्न थप ३ लाख दिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले १ हजार ६८ घर पूर्ण क्षतिग्रस्त भएकाले नयाँ बनाउनुपर्ने सिफारिस गरेको छ ।

‘सरकारले निजी आवास पुनर्वासका लागि पुनर्निर्माण गर्न मोनासमेत व्यक्ति एवं निजी क्षेत्र अग्रसर भएकाले भूकम्प प्रतिरोधी घरको मापदण्डअनुसार काम गर्न स्वीकृति दिएका छौं,’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘बाढीपहिरोबाट घरविहीन एक हजारभन्दा बढी परिवारलाई पुनर्वास गराउन भूगर्भविद्समेतको प्राविधिक रिपोर्टअनुसार गृह मन्त्रालयमा सिफारिस गरेका छौं ।’

यसैगरी विम गाउँवासीको संस्था विम–मालिका संघ काठमाडौंले पनि २२ घर बनाइदिने भएको छ । संघले घर बनाउन योग्य घडेरी नभएका १० परिवारलाई पुनर्वास गराउन २० लाख खर्चेर ५ रोपनी जग्गा खरिद गरिसकेको छ । विमका अन्य २० परिवारको घर बनाउन वडाध्यक्ष रेशम जुग्जालीको अध्यक्षतामा गठित विम पुनर्निर्माण समितिले व्यवस्था गर्ने भएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७७ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?