बालिकालाई यौनजन्य हिंसा गर्ने शिक्षक पक्राउ- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालिकालाई यौनजन्य हिंसा गर्ने शिक्षक पक्राउ

कान्तिपुर संवाददाता

म्याग्दी — मालिका गाउँपालिकाकी १० वर्षीया बालिकालाई यौनजन्य हिंसा गरेको आरोपमा सोही ठाउँमा कार्यरत ५५ वर्षका शिक्षक पक्राउ परेका छन् ।

भारतको दार्जिलिङ घर भइ दरबाङको एक निजी विद्यालयमा पढाउँदै आएका प्रकाश लामामाथि माघ २४ मा बाटोमा खेल्दै गरेकी बालिकालाई आफ्नै कोठामा बोलाएर बालिकाको यौनांग औंलाले चलाई अनुचित यौन हिंसा गरेको आरोप लागेको हो ।

बालिकाकी आमाले प्रहरीसमक्ष बालिकालाई करणी सम्बन्धी कसुर गरेको अभियोगमा जाहेरी दरखास्त दिएपछि प्रहरीले माघ २८ मा पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

‘लामालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेका छौं,’ प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठले भने । प्रहरीले आरोपितलाई पक्राउ गरेपनि स्थानीय तहमा घटनाका विषयमा व्यवसायिक, धार्मिक तथा राजनीति जोडिएर विभिन्न आशंका उठेपछि सार्वजनिक हुन ढिलाइ भएको हो ।

प्रकाशित : फाल्गुन ५, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्

दशगजामा भारतले निर्माण गर्‍यो संरचना

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको भारतीय सीमावर्ती महेषपुर नाकामा भारतले दशगजामा भौतिक संरचना निर्माण गरेको छ । दशगजा क्षेत्रमा दुवै मुलुकले कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने भएपनि भारतले रातारात पक्की संरचना निर्माण गरेको हो ।

पाल्हिनन्दन गाउँपालिका १ ठुटीबारी नाकामा चेकजाँच गर्ने स्थल निर्माण गरेको भन्दै मंगलबार राति भारतले संरचना निर्माण गरेको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले बताए ।

‘भारतले एकाएक भौतिक संरचना निर्माण गरेको रहेछ । बिहानै स्थानीयले खबर गरेपछि स्थलगत अध्ययन गरेर भारतीय पक्षलाई संरचना भत्काउन आग्रह गरेका छौं,’ गाउँपालिका अध्यक्ष गुप्ताले भने,‘अब जिल्ला मार्फत केन्द्रिय सरकारले पहल लिनुपर्‍यो । ’

मंगलबार बिहान नभएको संरचना एकाएक बुधबार बिहान देखेपछि स्थानीय अचम्म परेका थिए । यसअघि पनि पटक पटक संरचना निर्माण गर्न खोज्दा नेपाली सुरक्षा निकायले रोकेपछि रातारात भारतीय एसएसबीले संरचना निर्माण गरेको हो ।

महेषपुर मूल भन्सार जिल्लाको सबै भन्दा बढी चहलपहल हुने क्षेत्र हो । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले दशगजा क्षेत्रमा भारतले संरचना निर्माण गरेको सूचना आएकाले आफूले सीमावर्ती भारतीय जिल्लाको गृह प्रशासन र गृह मन्त्रालय मार्फत् कूटनीतिक पहल सुरु गरेको बताए ।

प्रकाशित : फाल्गुन ५, २०७७ १७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×