१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संविधान प्रदत्त जिम्मेवारी पूरा गरेका छौं : प्रधान सेनापति

लालप्रसाद शर्मा

पोखरा — प्रधानसेनापति पूर्णचन्द्र थापाले जनचाहना अनुरुप परिवर्तन र परिमार्जन हुँदै आएको राज्य सञ्चालन प्रणालीलाई स्वतस्फुर्त रुपमा आत्मसात गर्दै संविधान प्रदत्त जिम्मेवारी बहन गरेको बताएका छन् । निःस्वार्थ त्याग, बलिदान र योगदानले नेपाली सेनाको विशिष्ट छवि अक्षुण रहँदै आएको उनले बताए ।

संविधान प्रदत्त जिम्मेवारी पूरा गरेका छौं : प्रधान सेनापति

गण्डकी प्रदेशस्तरीय भूपू सैनिक सम्मेलनको बुधबार उद्घाटन गर्दै उनले सेनाको छविलाई अक्षुण राख्न पूर्व सैनिकहरुको भूमिका पनि महत्वपूर्ण रहेको बताए । अग्रज र तपाई हामीले बगाएको रगत र पसिनाले राष्ट्रिय स्वाधिनता र अखण्डता कायम राख्न अहम् भूमिका खेलेको र सेनाले देशमा स्थिरताको खातिर पुर्‍याउँदै आएको अतुलनीय योगदानले गौरवको अनुभूति गराएको उनको भनाइ थियो । ‘नेपाली सेना जनताको आस्था एवं भरोसाको केन्द्र र एकताको प्रतिक हो,’ उनले भने, ‘देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्ने कर्तव्यपथमा अडिग रहेर संविधानले सुम्पेको विशिष्ट जिम्मेवारी निर्वाह गर्न जस्तोसुकै परिस्थितिको सामाना गर्न सदैव तयार छौं र भविष्यमा पनि तयार रहनेछौं ।’

कुशल व्यवासायिक कर्मका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो, विश्वासनीय र व्यवसायिक फौजका रुपमा नेपाली सेना स्थापित भएको र यसमा पूर्व सैनिकको भूमिका पनि उल्लेख्य रहेको उनले बताए । अवकाशप्राप्त र बहालवाला सैनिक एकै परिवारको सदस्य रहेको र अवकाशपछिको जीवनलाई आर्थिक समुन्नति र प्रगति आवश्यक रहेको उनले बताए । साझा समस्या र सरोकारका विषयमा जानकारी लिएर यथोचित सम्बोधन गरिने र कल्याणकारी कामलाई समयानुकुल परिवर्तन गर्ने उद्देश्य पनि सम्मेलनको रहेको उनले बताए ।

शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार गरी '४ स' को आधारमा हिताधिकारीको जीवनस्तर उकास्न सेनाले अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन कार्य अघि सारेको उनले बताए । ‘अवकाशपछिको जीवनलाई आर्थिक तथा सामाजिक हिसावले उकासेर समाजमा सम्मानजनक जीवनयापनमा सहयोग पुर्‍याउने सेनाको काम हो,’ उनले भने, ‘सम्मेलन भूपू सैनिक र उनीहरुका परिवारजनको पिरमर्का व्यवस्थापनको माध्ययमको रुपमा प्रभावकारी हुने विश्वास छ ।’

सम्मेलनमा प्रदेशमा १० जिल्लाका भूपू सैनिक र परिवारजन गरी ९ हजार ७७ जनाले भाग लिएको सेनाले जनाएको छ ।

प्रकाशित : माघ २८, २०७७ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?