अजिंगर भीर फोरेर सडक
म्याग्दी — अजिंगर भीर फोरेर रघुगंगा–४ को दग्नाम र दर्मिजा बस्ती जोड्ने सडकको ट्रयाक खुलेको छ । राहुघाट करिडोरमा पञ्चायतकालदेखि सबैभन्दा बढी राजनीति भएको भीरमा ट्रयाक खुलेसँगै दर्मिजा, चिमखोला, मंगले, घ्याँसीखर्क र मौवाफाँटसमेत सडक सञ्जालसँग जोडिएका छन् ।
उक्त भीरको बाटोमा हिँड्दा विगतमा दुई दर्जनभन्दा बढी पैदलयात्रुले ज्यान गुमाइसकेका छन् । भीर फोरेर पञ्चायतदेखि नै गोरेटो, घोडेटो र सहज सडक बनाउँछौं भन्नु हरेक चुनावमा भोट माग्ने बहाना बनेको थियो । पूर्वमन्त्री थममाया थापाले भनिन्, ‘डोरीमा झुन्डिएर सयौं पटक ओहोरदोहोर गर्दा सजिलो गोरेटो बाटोको कल्पना हुन्थ्यो ।
अहिले त्यही भीरमा मोटरबाटो खुलेपछि दुर्गमका बासिन्दा खुसी भएका छन् ।’ दग्नाम–चिमखोला ४.८१ किलोमिटर सडक खन्न हालसम्म ८ करोड बढी भुक्तानी भइसकेको छ । त्यसमा ८ सय मिटर अजिंगर भीर र ६ सय ३० मिटर दर्मिजा–चिमखोलाखण्डको गोखोभीरको रक कटिङको काम पनि पर्छ । पहरामा सडक कम्तीमा ७ देखि १० मिटरसम्म चौडा रहेको गाउँपालिकाले जनाएको छ ।
अजिंगर भीर फोर्न साझेदार तुँदीपावर कम्पनीका प्रतिनिधि इन्द्र ढकालले कटिङको काम अझै भइरहेको बताए । ‘अझै काम भइरहेको र भीर फोरेको सडकको दूरी नाप भइसकेको छैन,’ उनले भने । खुलेको ट्रयाकमा गाडी गुड्न मिल्ने बनाउने काम भइरहेको गाउँपालिकाका सबइन्जिनियर कमल चोखालले बताए । उनले भने, ‘छुट्टाछुट्टै निकायबाट आ–आफ्नो तरिकाले खर्च भएको छ । अजिंगर भीरमा तुँदीपावरले पनि काम गरिरहेकाले नाप र लागत निकालिसकेको छैन ।’
संघ, प्रदेश र स्थानीय सरकारको प्रयासबाट ट्रयाक खुलेको स्थानीय अगुवा गम पुनले बताए । ‘अझै एक करोड ४० लाखको बजेट रहेकाले छिट्टै गाडी गुड्ने विश्वास छ,’ उनले भने ।
प्रकाशित : माघ ६, २०७७ १२:१२