अजिंगर भीर फोरेर सडक- गण्डकी - कान्तिपुर समाचार

अजिंगर भीर फोरेर सडक

घनश्याम खड्का

म्याग्दी — अजिंगर भीर फोरेर रघुगंगा–४ को दग्नाम र दर्मिजा बस्ती जोड्ने सडकको ट्रयाक खुलेको छ । राहुघाट करिडोरमा पञ्चायतकालदेखि सबैभन्दा बढी राजनीति भएको भीरमा ट्रयाक खुलेसँगै दर्मिजा, चिमखोला, मंगले, घ्याँसीखर्क र मौवाफाँटसमेत सडक सञ्जालसँग जोडिएका छन् ।

उक्त भीरको बाटोमा हिँड्दा विगतमा दुई दर्जनभन्दा बढी पैदलयात्रुले ज्यान गुमाइसकेका छन् । भीर फोरेर पञ्चायतदेखि नै गोरेटो, घोडेटो र सहज सडक बनाउँछौं भन्नु हरेक चुनावमा भोट माग्ने बहाना बनेको थियो । पूर्वमन्त्री थममाया थापाले भनिन्, ‘डोरीमा झुन्डिएर सयौं पटक ओहोरदोहोर गर्दा सजिलो गोरेटो बाटोको कल्पना हुन्थ्यो ।

अहिले त्यही भीरमा मोटरबाटो खुलेपछि दुर्गमका बासिन्दा खुसी भएका छन् ।’ दग्नाम–चिमखोला ४.८१ किलोमिटर सडक खन्न हालसम्म ८ करोड बढी भुक्तानी भइसकेको छ । त्यसमा ८ सय मिटर अजिंगर भीर र ६ सय ३० मिटर दर्मिजा–चिमखोलाखण्डको गोखोभीरको रक कटिङको काम पनि पर्छ । पहरामा सडक कम्तीमा ७ देखि १० मिटरसम्म चौडा रहेको गाउँपालिकाले जनाएको छ ।

अजिंगर भीर फोर्न साझेदार तुँदीपावर कम्पनीका प्रतिनिधि इन्द्र ढकालले कटिङको काम अझै भइरहेको बताए । ‘अझै काम भइरहेको र भीर फोरेको सडकको दूरी नाप भइसकेको छैन,’ उनले भने । खुलेको ट्रयाकमा गाडी गुड्न मिल्ने बनाउने काम भइरहेको गाउँपालिकाका सबइन्जिनियर कमल चोखालले बताए । उनले भने, ‘छुट्टाछुट्टै निकायबाट आ–आफ्नो तरिकाले खर्च भएको छ । अजिंगर भीरमा तुँदीपावरले पनि काम गरिरहेकाले नाप र लागत निकालिसकेको छैन ।’

संघ, प्रदेश र स्थानीय सरकारको प्रयासबाट ट्रयाक खुलेको स्थानीय अगुवा गम पुनले बताए । ‘अझै एक करोड ४० लाखको बजेट रहेकाले छिट्टै गाडी गुड्ने विश्वास छ,’ उनले भने ।

प्रकाशित : माघ ६, २०७७ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्

तोडफोडबाट जोगाउन यसरी जोडिए प्रदेशसभाका कुर्सी

देवनारायण साह

विराटनगर — प्रदेश १ प्रदेशसभा सचिवालयले बुधबार दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकको तयारी पूरा भएको जनाएको छ । सचिवालयले बैठकमा कुनै किसिमको अप्रिय घटना हुन नदिन प्रत्येक कुर्सीलाई फलामको पातामा वेल्डिङ गरेर जोडेको छ ।

बैठक कक्षमा नेकपा औपचारिक रूपमा विभाजित नभएकाले सत्ता पक्षका लागि एउटै लाइनमा कुर्सी राखिएको छ । ४७ जना मर्यादापालक रहेकामा १० जना थपिएको पनि सचिवालयले जनाएको छ।

दर्शकदीर्घा र पत्रकारका लागि प्रदेशसभाको माथिल्लो तलाको हलमा बस्ने व्यवस्था गरिएको सचिवालयका सचिव गोपाल पराजुलीले बताए । उक्त हलमा जडान गरिएको टेलिभिजनमा बैठकको गतिविधि पत्रकार र दर्शकले हेर्न पाउने उनले बताए ।

भामुख प्रदीपकुमार भण्डारीले भने कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छैनन । सचिव पराजुलीले समितिको बैठक सभामुखको अधिकारको विषय भएको र त्यो बुधबार बिहानसम्ममा बोलाउन सक्ने बताए ।

बुधबारदेखि बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुँदैछ । नेकपा दाहाल–नेपाल समूहका ३७ सांसदले गत पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गराएकामा ५ जनाले हस्ताक्षर फिर्ताको घोषणा गरिसकेका छन् । ९३ सदस्यीय प्रदेशसभामा प्रस्ताव पारित गराउन ४७ मत चाहिन्छ ।

सम्बन्धित समाचार

के होला मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव ?

प्रकाशित : माघ ६, २०७७ ११:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×