महाशिला गाउँपालिकाको ‘गाउँ फर्क प्याराप्यारी’ अभियान 

अगन्धर तिवारी

पर्वत — कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका युवायुवतीलाई महाशिला गाउँपालिकाले गाउँमै रोजगारी दिन थालेको छ । विगतमा महाशिला स्वयंसेवक, एक घर एक रोजगार, एक घर एक टनेल कार्यक्रम ल्याएको पालिकाले यसवर्ष ‘गाउँ फर्क प्याराप्यारी’ अभियान अघि सारेको छ ।  

महाशिला गाउँपालिकाको ‘गाउँ फर्क प्याराप्यारी’ अभियान 

कोरोनाबाट बढी प्रभावित बेरोजगार युवायुवतीलाई लक्षित गरी ल्याइएको कार्यक्रममा २० देखि ५० वर्ष उमेर समूहका पुरुष तथा महिलालाई रोजगारी दिने कार्यक्रम छ । कार्यक्रमअन्तर्गत आफै व्यवसाय गर्न चाहनेलाई गाउँपालिकाले ब्याज अनुदान, योजनामा आधारित अनुदान तथा प्रतिफलमा आधारित अनुदान दिने कार्यक्रम छ । जग्गा जमिन नभएका तथा आफै रोजगारमूलक व्यवसाय गर्न नसक्नेका लागि पालिकामा हुने विकास निर्माणमा लगाउन थालेको छ । यो कार्यक्रमअन्तर्गत पालिकामा हुने भवन, सडक, गोरेटो बाटो तथा खानेपानीलगायतका आयोजनामा क्षमता र सीपअनुसारको रोजगारी दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष जीवनविक्रम उचै ठकुरीका अनुसार यो कार्यक्रमबाट हालसम्म ६० जनाले रोजगारी पाइसकेका छन् । १७ जनाले व्यवसाय गर्ने तत्परता देखाएका छन् । कोभिडपछि भारतलगायत विभिन्न मुलुकबाट २ सय ५० जना गाउँ फर्किएको उनले बताए । ‘सबैले व्यवसाय रोज्दैनन्,’ उनले भने, ‘व्यवसाय गर्न अनिच्छुकलाई प्रधानमन्त्री रोजगार र महाशिला विकास स्वयंसेवकमा सहभागी गराइएको छ ।’

पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम शुरु गरेको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले बताए । गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोही पेसाबाट आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले चालू आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । ‘विदेशमा कुनै विशेष सीप सिकेकालाई सोही सीप अनुसारको काम दिएका छौं,’ उनले भने, ‘सीप नभएकालाई उनीहरुको इच्छाअनुसार पालिकाका विकासे योजनामा सहभागी गराउँछौं ।’

यो कार्यक्रमका लागि गाउँसभाले कार्यविधि बनाएको छ । कार्यविधिअनुसार कम्तीमा ३ वर्षभित्र विदेशबाट फर्केर आएका युवायुवती समावेश हुनसक्ने पौडेलले बताए । गाउँपालिकाले सबै टोलमा पुगेर ‘गाउँ फर्क प्याराप्यारी’ अभियानको सूचना प्रवाह गरिरहेको छ ।

अभियानले बढ्दो वैदेशिक पलायन र बेरोजगारको दर कम गर्ने र गाउँमा गरिबीको दर घट्दै जाने ठकुरीले बताए । यस्तो कार्यक्रममा सहभागी हुन चाहने युवायुवतीले पछिल्लो तीन वर्षभित्र विदेशमा बसिआएको प्रमाण खुल्ने कागजातको प्रतिलिपि, आफूले गर्न चाहेको व्यवसायको प्रस्ताव, ऋण लिने वित्तीय संस्थाको सहमतिपत्र गाउँपालिकामा पेस गर्नुपर्छ । त्यसैगरी गाईभैंसी न्यूनतम ३ वा सोभन्दा माथि, कुखुरा ५ सय वा सोभन्दा माथि, बंगुर ३० वा सोभन्दा माथि पाल्नुपर्ने व्यवस्था छ । फलफूल तथा तरकारी खेती गर्न चाहनेले कम्तीमा ३ रोपनी क्षेत्रफलमा गर्नुपर्छ । पालिकाले बढीमा तीन लाखको १२ प्रतिशतको दरले अधिकतम २ वर्षको अवधिका लागि ब्याज अनुदान भुक्तानी दिन्छ ।

उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन भएको ठकुरीले बताए । चालु वर्ष ३० देखि ५० जना यो कार्यक्रममा समावेश हुने उनले बताए । ‘पालिकामै रोजगारी गर्छु भन्नेलाई महाशिला स्वयंसेवक कार्यक्रमअन्तर्गत सहभागी गराइन्छ,’ उनले भने, ‘ऋण लिएर व्यवसाय गर्छु भन्नेले ब्याज तिर्नु पर्दैन । आगामी वर्ष कार्यक्रम विस्तार हुन्छ ।’

प्रकाशित : पुस २८, २०७७ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?