बुटवल–नारायणगढ सडक विस्तार : मजदुर र ठेकेदारबीच सहमतिपछि काम सुरु- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल–नारायणगढ सडक विस्तार : मजदुर र ठेकेदारबीच सहमतिपछि काम सुरु

नारायण शर्मा

नवलपरासी — मजदुर आन्दोलनले १५ दिन रोकिएको बुटवल–नारायणगढ सडक निर्माण फेरि सुरु भएको छ । ठेकेदार, मजदुर प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयबीच सहमतिपछि मजदुरहरू काममा फर्किएका हुन् ।

मजदुर आन्दोलनको अगुवाइ गरेका अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष सानोकाजी डंगोलले कामदारलाई न्यूनतम सुविधाबाट वञ्चित नगर्ने सहमतिपछि सोमबार काममा फर्किएको जानकारी दिए ।

उनका अनुसार गत मंगलबार जिल्ला प्रशासनमा भएको छलफलमा मजदुरको न्यूनतम ज्यालामा वार्षिक एक हजार वृद्धि गर्ने, बिमा गर्ने, नियुक्ति दिने, ओभरटाइम काममा लगाउँदा डेढ गुणा बढी तलब दिने, सुरक्षा पोसाक दिने सहमति भएको थियो । त्यसलाई कार्यान्वयन गर्ने सहमतिपछि मजदुर काममा फर्किएका हुन् । सुपरभाइजरले चाहेका बेला कामबाट निकाल्न सक्ने भन्ने प्रावधान हटाइएको छ ।

बुटवल–नारायणगढ सडक विस्तारको काममा ५ सयभन्दा बढी मजदुर चिनियाँ ठेकेदारले नेपालको श्रम ऐनअनुसार न्यूनतम सुविधा नदिएको भन्दै १५ दिनदेखि आन्दोलनमा थिए । सडक विस्तारको ठेक्का पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) का मेनेजर भूमिनन्द ढकालले मजदुर र व्यवस्थापन पक्षबीचको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतापछि काम सुरु भएको जानकारी दिए ।

पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनीबहादुर थापाले दुवै पक्षबीच काम गर्ने/गराउने बारेमा सहमति भएको र त्यसलाई दुवै पक्षले पालना गर्नुपर्ने बताए । प्रशासनले श्रम ऐनअनुसारका सहमति कार्यान्वयन गराउन पहल गरिरहने उनको भनाइ छ ।

यसअघि पनि दुईपटक जिल्ला प्रशासन कार्यालयमा मजदुर र ठेकेदार कम्पनीका प्रतिनिधिबीच सहमति भएको थियो । तर ठेकेदारले सहमति कार्यान्वयन नगरेको भन्दै मजदुरहरूले तीनपटक काम रोकिसकेका छन् । १ सय १४ किलोमिटर सडक विस्तार सुरु गरिएको दुई वर्षमा २ प्रतिशत मात्र काम भएको छ । पुराना पुल, कल्भर्ट भत्काएर नयाँ बनाउने, सडक फारकिलो पार्ने काम अलपत्र छ ।

प्रकाशित : पुस २१, २०७७ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्

बेइजिङमा हजारौंलाई दिइयो खोप

एएफपी

बेइजिङ — चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको छ ।

खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरूमा लामबद्ध देखिएका छन् । दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप लिनेहरूमा सामुदायिक कार्यकर्ता र बस चालकहरू पनि छन् ।

स्वास्थ्य अधिकारीहरूले चिनियाँ फर्मास्युटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई ससर्त स्वीकृति प्रदान गरिसकेको छ । यस खोपको प्रभावकारिता झन्डै ७९ प्रतिशत रहेको सिनोफार्मले जनाएको छ । बेइजिङमा ठूलो संख्यामा मानिस स्थानीय अस्पतालहरू र सामुदायिक स्वास्थ्य केन्द्रहरूमा खोपका लागि भेला भएको दृश्य सरकारी टेलिभिजन सीसीटीभीले प्रसारण गरेको छ । स्वास्थ्य अधिकारीहरूले जिम र कारखानाका खाली भवनहरूलाई पनि खोपका लागि प्रयोग गरिएको बताएका छन् ।

चीनले गत वर्ष सन् २०२० मा आपत्कालीन प्रयोगअन्तर्गत करिब ४५ लाख व्यक्तिलाई खोप दिइसकेको छ, जसमा अधिकांश स्वास्थ्यकर्मी र विदेशमा काम गर्ने व्यक्तिहरू रहेका छन् । अहिले चीनले भाइरसबाट सर्वाधिक जोखिममा रहेका समूहलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी सुरु गरेको छ । यसैबीच, बेलायतले पनि सोमबारदेखि अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्युटिकल्स कम्पनीले तयार पारेको खोप दिने तयारी गरेको छ । अस्ट्राजेनेकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो ।

निकै सस्तो र वितरणमा निकै सहज मानिएको यो खोप एक जना ८२ वर्षीय बेलायती नागरिक ब्रायन पिकरलाई चर्चिल अस्पतालमा प्रदान गरेर खोप अभियान सुरु गरिएको छ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट १८ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने झन्डै ८ करोड ५० लाख मानिस संक्रमित भएका छन् । संक्रमण दर लगातार वृद्धि हुनुका साथै मानिसको मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ । ब

लायतले पहिलो चरणमा अस्ट्राजेनेकाको खोप ५ लाख ३० हजार डोज उपलब्ध गराउँदै छ । प्रधानमन्त्री बोरिस जोन्सनले संक्रमण बढ्दै गएकाले आगामी दिनहरू निकै कठिन रहेको बताउँदै खोप अभियान व्यापक बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : पुस २१, २०७७ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×