३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बागलुङमा डीपीआरसँगै थन्किए दुई ठूला योजना

प्रकाश बराल

बागलुङ — दुई वर्षअघि बनेका यहाँका दुई ठूला योजनाको डीपीआर सरकारी दराजमा थन्किँदा काम अघि बढ्न सकेको छैन । सरकारी लगानीमा कन्सल्ट्यान्टमार्फत बनाइएका दुईवटै डीपीआर बुझे पनि मन्त्रालयले स्वीकृति दिन ढिलाइ गरेको हो ।

बागलुङमा डीपीआरसँगै थन्किए दुई ठूला योजना

दुई वर्षअघि ढोरपाटन नगरपालिका–२ र निसीखोला गाउँपालिका–२ को भूभाग समेटिएको अर्नाकोटमा विमानस्थल निर्माणका लागि डीपीआर बनाइएको थियो । तर उक्त डीपीआर अहिले कहाँ छ, नगरप्रमुख देवकुमार नेपालीसमेत अनभिज्ञ छन् । ‘स्थानीय लगानी हैन, माथिबाटै लगानी गर्ने हो, उनीहरूले के गर्दै छन्, थाहा छैन,’ उनले भने, ‘पहुँच मार्ग निर्माणमा भने हामीले लगानी गरेका छौं ।’ बुर्तिवाङदेखि अर्नाकोटसम्म ५ किमि सडक स्तरीय बनाउन नगरपालिकाले लगानी गरेको उनले बताए ।

नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाले गत साउन २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पत्र र डीपीआर रिपोर्ट पठाएकोमा जवाफ आउनै ढिलाइ भएको हो । मन्त्रालयले स्वीकृति दिए अर्नाकोटको २ सय ७९ रोपनी जमिन अधिग्रहण गर्नुपर्नेछ । विमानस्थल सञ्चालन गर्न झन्डै एक सय घरसमेत सार्नुपर्छ ।

अर्नाकोटमा ट्विनअटर विमान आउजाउ गर्न सक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि रियल पार्ट इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर गुरुप्रसाद अधिकारीको नेतृत्वमा डीपीआर बनाइएको थियो । ‘सात सय मिटर लामो र एक सय मिटर चौडा रनवे, केही पार्किङ बनाउन सकिने प्रतिवेदनमा उल्लेख छ,’ अधिकारीले भने, ‘समुन्द्री सतहबाट २ हजार मिटर उचाइमा भएकाले पर्यटकीय दृष्टिले पनि उत्तम देखियो ।’

यो स्थान बुर्तिवाङ बजारदेखि ५ किमि दूरीमा पर्छ । यहाँबाट आरक्षसम्म पदमार्ग बनाउने नगरपालिकाको योजना छ । त्रिभुवन विमानस्थलबाट यो प्रस्तावित विमानस्थल १ सय २४ ‘नटिकल माइल’को दूरीमा छ ।

आरक्षभित्र पनि दशकौंअघि बनेको एयरपोर्ट छ । मर्मत र नियमित सञ्चालन नभएकोले यहाँ तारबार लगाएर मात्र राखिएको छ । अर्नाकोटमा विमानस्थल बनाइए पदमार्गमार्फत डेढ घण्टामा ढोरपाटन पुग्न सकिने स्थानीय द्रोण कुँवरले बताए । डीपीआरमा २ अर्ब रुपैयाँमा स्तरीय हवाई मैदान बनाउन सकिने सुझाव दिइएको थियो । यहाँ अध्ययन र प्रतिवेदनकै लागि ५० लाख खर्च भइसकेको छ ।

दुई वर्षअघि नै डीपीआर बनाइएको बागलुङ रंगशालाको काम पनि अलपत्रै छ । सदरमुकामको बाँङ्गेचउर खेल मैदान र आसपासको जमिनमा रंगाशाला बनाउने योजना अघि सारिएको हो । जिल्ला खेलकुद विकास समितिको अगुवाइमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को बजेट परिचालन गरेर डीपीआर बनाइएको थियो । जसमा सुविधासम्पन्न रंगशाला, प्यारापिट, एथलेटिक्स र इन्डोर खेलका लागि बृहत् योजना समेटिएको थियो । डीपीआरका लागि समितिले २० लाख रुपैयाँ खर्चेको थियो ।

डीपीआरअनुसार काम गर्दा १५ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । ‘त्यति बेलाको बजार मूल्य र जिल्ला दररेटमा राखिएको लागत हरेक वर्ष बढ्दै जान्छ,’ तात्कालिक समितिका अध्यक्ष धनबहादुर परियारले भने, ‘विकास समितिहरू खारेज भए, अब सबै जिम्मा नगरपालिकामा छ ।’

बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले नगरपालिकाले स्वामित्व लिएर रंगाशाला निर्माण गर्ने बताए । ‘हाल भइरहेको मैदानबाहेक केही जमिन आवश्यक छ, त्यसको प्रक्रिया पुर्‍याउने र संघ तथा प्रदेशको बजेटको साझेदारीमा बनाउँछौं,’ उनले भने, ‘जमिनको व्यवस्थापनपछि काम सुरु हुनेछ ।’

प्रकाशित : पुस १७, २०७७ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?