बागलुङमा डीपीआरसँगै थन्किए दुई ठूला योजना- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङमा डीपीआरसँगै थन्किए दुई ठूला योजना

प्रकाश बराल

बागलुङ — दुई वर्षअघि बनेका यहाँका दुई ठूला योजनाको डीपीआर सरकारी दराजमा थन्किँदा काम अघि बढ्न सकेको छैन । सरकारी लगानीमा कन्सल्ट्यान्टमार्फत बनाइएका दुईवटै डीपीआर बुझे पनि मन्त्रालयले स्वीकृति दिन ढिलाइ गरेको हो ।

दुई वर्षअघि ढोरपाटन नगरपालिका–२ र निसीखोला गाउँपालिका–२ को भूभाग समेटिएको अर्नाकोटमा विमानस्थल निर्माणका लागि डीपीआर बनाइएको थियो । तर उक्त डीपीआर अहिले कहाँ छ, नगरप्रमुख देवकुमार नेपालीसमेत अनभिज्ञ छन् । ‘स्थानीय लगानी हैन, माथिबाटै लगानी गर्ने हो, उनीहरूले के गर्दै छन्, थाहा छैन,’ उनले भने, ‘पहुँच मार्ग निर्माणमा भने हामीले लगानी गरेका छौं ।’ बुर्तिवाङदेखि अर्नाकोटसम्म ५ किमि सडक स्तरीय बनाउन नगरपालिकाले लगानी गरेको उनले बताए ।

नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाले गत साउन २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पत्र र डीपीआर रिपोर्ट पठाएकोमा जवाफ आउनै ढिलाइ भएको हो । मन्त्रालयले स्वीकृति दिए अर्नाकोटको २ सय ७९ रोपनी जमिन अधिग्रहण गर्नुपर्नेछ । विमानस्थल सञ्चालन गर्न झन्डै एक सय घरसमेत सार्नुपर्छ ।

अर्नाकोटमा ट्विनअटर विमान आउजाउ गर्न सक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि रियल पार्ट इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर गुरुप्रसाद अधिकारीको नेतृत्वमा डीपीआर बनाइएको थियो । ‘सात सय मिटर लामो र एक सय मिटर चौडा रनवे, केही पार्किङ बनाउन सकिने प्रतिवेदनमा उल्लेख छ,’ अधिकारीले भने, ‘समुन्द्री सतहबाट २ हजार मिटर उचाइमा भएकाले पर्यटकीय दृष्टिले पनि उत्तम देखियो ।’

यो स्थान बुर्तिवाङ बजारदेखि ५ किमि दूरीमा पर्छ । यहाँबाट आरक्षसम्म पदमार्ग बनाउने नगरपालिकाको योजना छ । त्रिभुवन विमानस्थलबाट यो प्रस्तावित विमानस्थल १ सय २४ ‘नटिकल माइल’को दूरीमा छ ।

आरक्षभित्र पनि दशकौंअघि बनेको एयरपोर्ट छ । मर्मत र नियमित सञ्चालन नभएकोले यहाँ तारबार लगाएर मात्र राखिएको छ । अर्नाकोटमा विमानस्थल बनाइए पदमार्गमार्फत डेढ घण्टामा ढोरपाटन पुग्न सकिने स्थानीय द्रोण कुँवरले बताए । डीपीआरमा २ अर्ब रुपैयाँमा स्तरीय हवाई मैदान बनाउन सकिने सुझाव दिइएको थियो । यहाँ अध्ययन र प्रतिवेदनकै लागि ५० लाख खर्च भइसकेको छ ।

दुई वर्षअघि नै डीपीआर बनाइएको बागलुङ रंगशालाको काम पनि अलपत्रै छ । सदरमुकामको बाँङ्गेचउर खेल मैदान र आसपासको जमिनमा रंगाशाला बनाउने योजना अघि सारिएको हो । जिल्ला खेलकुद विकास समितिको अगुवाइमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को बजेट परिचालन गरेर डीपीआर बनाइएको थियो । जसमा सुविधासम्पन्न रंगशाला, प्यारापिट, एथलेटिक्स र इन्डोर खेलका लागि बृहत् योजना समेटिएको थियो । डीपीआरका लागि समितिले २० लाख रुपैयाँ खर्चेको थियो ।

डीपीआरअनुसार काम गर्दा १५ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । ‘त्यति बेलाको बजार मूल्य र जिल्ला दररेटमा राखिएको लागत हरेक वर्ष बढ्दै जान्छ,’ तात्कालिक समितिका अध्यक्ष धनबहादुर परियारले भने, ‘विकास समितिहरू खारेज भए, अब सबै जिम्मा नगरपालिकामा छ ।’

बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले नगरपालिकाले स्वामित्व लिएर रंगाशाला निर्माण गर्ने बताए । ‘हाल भइरहेको मैदानबाहेक केही जमिन आवश्यक छ, त्यसको प्रक्रिया पुर्‍याउने र संघ तथा प्रदेशको बजेटको साझेदारीमा बनाउँछौं,’ उनले भने, ‘जमिनको व्यवस्थापनपछि काम सुरु हुनेछ ।’

प्रकाशित : पुस १७, २०७७ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुक बनाइनेछ : प्रधानमन्त्री ओली

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा लैजाने  लक्ष्यमा सफलता प्राप्त भइरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२० मा नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएको बताएका छन् ।

मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका क्षेत्रमा यातायात, पुल, रङ्गशाला र अन्य पुरातात्विक सम्पदा, स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।

सन् २०२० मा कोभिड–१९ को क्षति तुलनात्मक रूपमा कम गर्न नेपाल सफल रहेको र महामारीबाट नागरिकलाई बचाउन सरकारले अवलम्बन गरेका उपायलाई साथ दिँदै सुरक्षित रहन पनि उनले आग्रह गरेका छन् ।

समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेको र ‘समृद्ध नेपाल, सुखी नेपाली’को यो राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य भएको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

'मुलुक निर्माणको प्राथमिकताबाट विमुख व्यक्तिका निजी आकंक्षाले सिर्जना गरेका अवरोधलाई छिचोल्दै राष्ट्रको साझा आकांक्षा पूरा गर्ने बाटोमा हामी अविचलित निष्ठासाथ अघि बढिरहेका छौँ,' प्रधानमन्त्री ओलीले भनेका छन्, 'आगामी दिनमा हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यवहारिकरूपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै सुशासन र विकासको बाटोबाट अघि बढ्दैछौँ ।'

प्रकाशित : पुस १७, २०७७ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×