२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

नेकपाको गोरखा पार्टी कार्यालय भवनमा दुवै समूहको दाबी

हरिराम उप्रेती

गोरखा — सदरमुकामस्थित चाइनिजधारामा रहेको मदन आश्रित स्मृति प्रतिष्ठानको भवनमा नेकपाका दुवै समूहले आ-आफ्नो दाबी गर्दा विवाद भएको छ ।

नेकपाको गोरखा पार्टी कार्यालय भवनमा दुवै समूहको दाबी

पार्टी कार्यालयभित्रै रहेका ओली समूहका कार्यकर्ताहरुको प्रशिक्षण चलिरहेको बेला दाहाल–नेपाल समूहका नेता कार्यकर्ता र्‍यालीको तयारीका लागि कार्यालय प्रवेश गर्न खोज्दा विवाद भएको हो । दुवै पक्षबीच कार्यालयको स्वामित्वको विषयलाई लिएर केहीबेर विवाद भएको थियो । दाहाल–नेपाल समूहले विरोध र्‍याली प्रतिष्ठानको भवनबाट सुरु गर्न खोजेपछि विवाद भएको थियो ।

स्मृति प्रतिष्ठानको भवनबाट तत्कालीन नेकपा एमालेले कार्यलय सञ्चालन गर्दै आएको थियो । माओवादी र एमाले एकीकरण भएपछि भने प्रतिष्ठानको भवनबाट नेकपाको नगर कमिटी र जनवर्गिय संगठनका गतिविधि सञ्चालन हुँदै आएको थियो । उक्त भवनको दावा गरेर कुनै अर्थ नरहेको नेकपा ओली निकट केन्द्रिय सदस्य प्रेम गुरुङले बताए । ‘नेकपाले दावा गर्ने वैधानिक आधार छैन,’ उनले भने,‘प्रतिष्ठानसँग सम्झौता समझदारी गरेर साविकको एमालेले पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो, पार्टी एकता भएपछि एग्रिमेन्ट नसकिएकाले नगर कमिटीको कार्यालय यहिबाट सञ्चालन गरौं त भन्ने भएको हो, यो सम्पत्ति प्रतिष्ठानकै हुन्छ ।’ जिल्ला कमिटीको कार्यालय साविकको माओवादीको कार्यालय(पाटेचौर)बाट सञ्चालन भएको उनले बताए ।

बहुमत आफ्नो पक्षमा रहकाले भौतिक सम्पत्ति स्वतः आफूहरुकै हुने दाहाल–नेपाल समूहका केन्द्रिय सदस्य हरिराज अधिकारीले बताउँछन् । ‘यहि कार्यालयबाट नगर पार्टी कमिटी चलिरहन्छ,’ उनले भने,‘विधान अनुसार बहुमत हामीसँग छ ।’

संसद् विघटनको विरोधमा दाहाल-नेपाल समूहले मंगलबार नै गोरखा सदरमुकाममा प्रदर्शन गर्‍यो । चाइनिजधाराबाट निकालिएको र्‍याली सदरमुकामको विभिन्न भागको परिक्रमा गर्दै हरमटारी चोकमा आएर विरोध सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य अधिकारीले केपी ओलीको असंवैधानिक कदमको विरुद्ध सडकमा आएको बताए ।

ओलीको थुप्रै विकल्प हुँदा हुँदै संसद् विघटन गरेको उनको भनाइ छ । ‘उहाँलाई समस्या परे केन्द्रिय समितिमा आएर भन्नसक्नुपर्थ्यो,’ उनले भने,‘यो कदम कुनैपनि हिसाबले संवैधानिक छैन ।’ संविधान मिच्‍ने अधिकार कसैलाई नभएको उनले बताए । ‘कांग्रेसले हाम्रो मौका यहि हो भनेर सपना नदेखे हुन्छ,’ उनले भने,‘विधि विधान नमिच्‍ने परिपाटीको विकासका लागि पनि संसद् पुनःस्थापना हुनैपर्छ ।’

प्रकाशित : पुस १४, २०७७ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?