कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन पुस २१ देखि

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशसभाको विशेष अधिवेशन पुस २१ देखि सुरु हुने भएको छ । कोरोना नियन्त्रण तथा उपचारलगायतमा प्रदेश सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस र अर्को प्रतिपक्षी जनता समाजवादीले विशेष अधिवेशन माग गरेका थिए । मंसिर ३० मा दुवै प्रतिपक्षी दलका सांसदले हस्ताक्षर गरी निवेदन दर्ता गरेकोमा प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन डाकेका हुन् ।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन पुस २१ देखि

संविधानको धारा १८३ को उपधारा ३ बमोजिम पोखरा सभागृहमा अधिवेशन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । ‘विशेष अधिवेशनमा कोभिड र समसामयिक विषयमा छलफल हुनेछ,’ प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले भने, ‘बढीमा ३ दिन नभए दुई दिनमा छलफल सकिने अनुमान छ ।’

अरू विषयमा छलफल र विधेयक पारितजस्ता कार्यक्रम भने विशेष अधिवेशनमा हुनेछैन । संविधानअनुसार एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनु पर्छ । गत असोज २६ मा अधिवेशन अन्त्य भएको थियो । अधिवेशन अन्त्य भएको २ महिनामै विशेष कारण देखाएर अधिवेशनको माग गरिएको हो । ‘मुख्यमन्त्रीसँग भेटेर कोरोनाका विषयमा छलफल गरे पनि गम्भीर नभएकाले विशेष अधिवेशनको माग गरिएको हो,’ कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले भने, ‘प्रदेशभित्रको समस्यामा छलफल गर्ने संसद् एउटा थलो पनि भएकाले अधिवेशन मागेका हौं । सरकारले कति स्वीकार गर्छ/गर्दैन थाहा छैन । एउटा नयाँ अभ्यासको थालनी भने भयो ।’ प्रदेशसभाका एक चौथाइ सदस्यले लिखित अनुरोध गरे प्रदेश प्रमुखले मिति र समय खुलाएर बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : पुस १४, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?