विद्यार्थीमा कोरोना देखिएपछि लमजुङ क्याम्पसको परीक्षा स्थगित

आश गुरुङ

लमजुङ — विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) को परीक्षा स्थगित गरिएको छ । शनिबारमात्रै क्याम्पसको छात्रावासमा बस्ने २९ जना विद्यार्थीमा कोरोना पुष्टि भएको क्याम्पस प्रशासनले जनाएको छ ।

विद्यार्थीमा कोरोना देखिएपछि लमजुङ क्याम्पसको परीक्षा स्थगित

केही दिनअघि विद्यार्थीमा कोरोना देखिएपछि क्याम्पसमा चलिरहेको परीक्षा पुस ३ देखि ६ गतेसम्मलाई रोकिएको थियो । संक्रमित अझ थपिएकाले बाँकी सबै परीक्षा स्थगित गर्ने निर्णय गरिएको क्याम्पस प्रमुख डा. नारायण नेउपानेले बताए ।

क्याम्पसमा बीएससीएजीको चौथो र छैटौं सेमेस्टरको परीक्षा चलिरहेको थियो । विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि परीक्षा अघि बढाउने अवस्था नभएको क्याम्पसको परीक्षा शाखाका प्रमुख अजित अधिकारीले बताए । उनका अनुसार त्रिभुवन विश्वविद्यालयको तालिकाअनुसारै मंसिर २४ गतेबाट परीक्षा सुरु भएको थियो ।

क्याम्पसका आर्थिक उपनियन्त्रक राजमी खड्काका अनुसार संक्रमित २९ मध्ये १८ जना छात्रालाई नमुना सामुदायिक अस्पतालको आइसोलेसन र ११ छात्रलाई क्याम्पसकै आइसोलेसनमा राखिएको छ । क्याम्पसको छात्रावासमा बस्ने ८२ जना विद्यार्थीको स्वाब परीक्षणका लागि शनिबार पोखरा पठाइएकोमा २९ जनाको पोजिटिभ आएको उनले जानकारी दिए ।

सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाका अनुसार क्याम्पसभित्रका मात्रै नभएर बाहिरका समुदायका व्यक्तिसमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । थप ६ जना स्थानीयको कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए । ‘हामी क्याम्पसका बाँकी सबै जना साथै परीक्षामा सहभागी सबै विद्यार्थीको ट्रेसिङ गर्ने तयारीमा छौं । क्याम्पसका प्राध्यापक तथा कर्मचारीको पनि ट्रेसिङ गर्नुपर्ने हुन सक्छ,’ उनले भने ।

प्रकाशित : पुस ५, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?