३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पोखरामा सडक महोत्सव हुँदै

यसपटक स्वरुप भने फेरिने
दीपक परियार

पोखरा — पोखराको पर्यटनमा ‘ब्रान्ड’ बनेको पोखरा सडक महोत्सवले निरन्तरता पाउने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा लेकसाइडमा हुने यो महोत्सव यसपल्ट भने फरक स्वरुपमा हुनेछ । रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखराले २२ औं संस्करणको पोखरा सडक महोत्सव पुस १५, १६ र १७ मा गर्ने भएको हो ।

पोखरामा सडक महोत्सव हुँदै

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सडक महोत्सवलाई निरन्तरता दिने बुधबार पत्रकार सम्मेलनमार्फत रेबानले जनाएको छ । महोत्सव ५ दिनबाट ३ दिनमा झरेको हो । महोत्सवका संयोजक वसन्त गौतमका अनुसार यसपल्ट पनि लेकसाइडको हल्लनचोकदेखि बसुन्धरापार्कसम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने छ । कोमागाने पार्कमा भने पहिलेजस्तो फान पार्क, लोकदोहोरी र राति लाइभ कन्सर्ट यसपल्ट हुने छैन । तीन किलोमिटर क्षेत्रलाई ३ बजेबाट १० बजेसम्म ‘नो भेइकल जोन’ बनाइने छ । उक्त क्षेत्रमा ३ स्थानमा स्टेज राखेर सांस्कृतिक कार्यक्रम हुने छन् । ठाउँठाउँमा कोभिड–१९ सम्बन्धी डिसप्ले बोर्ड राखिनेछन् । डुंगा दौड, टेनिस टुर्नामेन्ट, तारो हान्ने खेल, बिच भलिबल प्रतियोगिता महोत्सव अवधिमा हुने छन् । आतिसबाजीको लागि भने समन्वय भइरहेको उनले बताए ।

संयोजक गौतमले तामझाम र भीडभाड नगरिकन पोखरा खुल्लै भएको र पाहुना स्वागत गर्न पर्यटन व्यवसायी तयार रहेको सन्देश दिन महोत्सवलाई निरन्तरता दिएको बताए । उनले भने, ‘स्वास्थ्य मापदण्ड पालना गरी भाइरस प्रति सचेत भइ पर्यटकलाई चलायमान बनाएर व्यवसाय खुला गर्नुको विकल्प छैन ।’

रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले संघको पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय कास्कीको अनुमतिमा महोत्सव आयोजना गरेको बताए । ‘महोत्सव आयोजना गर्ने कि नगर्ने भन्ने विषयमा हामीले धेरै पक्षसँग छलफल गर्‍र्यौं,’ उनले भने, ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएपछि गर्ने टुंगोमा पुग्यौं ।’ अघिल्लो वर्षका सडक महोत्सवमा ३–४ लाख पर्यटक लेकसाइड आउने गरेको सुनाउँदै उनले यसवर्ष त्यति नै संख्यामा नआएपनि न्यु इयर इभमा उल्लेख्य पर्यटक आउने आशा व्यक्त गरे ।

सुस्ताएको पर्यटन क्षेत्रलाई केही हदसम्म गतिशिलता प्रदान गर्न र पर्यटन व्यवसायीमा नयाँ उमंग र उत्साह थप्न महोत्सव फलदायी हुने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराइले बताए । उनले पोखराका अन्य पर्यटकीय स्थल खुल्ने क्रम रहेकोले सडक महोत्सवमा आउने पर्यटकको बसाइ लम्ब्याउन सकिने जनाए ।

प्रकाशित : पुस १, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?