१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बारपाकमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो

हरिराम उप्रेती

गोरखा — भूकम्पको केन्द्रविन्दु बारपाकमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । विद्युत् विस्तार सकेसँगै सोमबार बारपाक गाउँमा बिजुली बालिएको हो ।

बारपाकमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो

वालुवाबाट ११ केभीए लाइन ट्यापिङ गरेर विद्युत् विस्तार गरी बारपाक पुगेको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । झण्डै एक साता विद्युत् प्रवाह गरी परीक्षण सकेर सेवा सुरु गरिएको उनले बताए ।

संघीय सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत तीन करोड खर्चेर बारपाकमा बिजुली विस्तार गरिएको हो । बालुवाबाट राङरुङ, मान्द्रे हुदै बारपाक बिजुली पुर्‍याउन मेन लाइनमा २ सय ५५ वटा पोलको प्रयोग भएको छ । बस्तीभित्र शाखा लाइन विस्तारका लागि ५ सय ९० वटा पोलको प्रयोग गरिएको न्यौपानेले बताए । ‘वालुवाबाट करिव १० किलोमिटर तार टाँगेर विद्युत पुर्‍याएका हौँ,’ उनले भने । बारपाक बस्तीभित्र एबीसी केबल बिछ्याएर विद्युत् प्रवाह गरिएको उनले बताए ।

विद्युत् विस्तार सकेसँगै मंगलबारबाट मिटर वितरणको तयारी सुरु भएको नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । गरिब तथा विपन्न परिवारलाई नि:शुल्क मिटर वितरण हुनेछ । एक महिनाभित्र पाँच सय परिवारलाई मिटर वितरण सक्ने न्यौपानेले बताए । ‘बारपाक गाउँमै पहिले मिटर वितरण हुन्छ, कुलगाउँ र पोखरीमा भने यो आर्थिक वर्षभित्र बिजुली पुर्‍याउने लक्ष्य हो,’ उनले भने, ‘एक महिनाभित्र पाँच सय परिवारले केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पाउनुहुन्छ ।’

बारपाकमा बिजुली पुर्‍याउन दुइ वर्ष अघिदेखि काम सुरु भएको थियो । ६ महिनाअघि नै काम सक्ने लक्ष्य राखिए पनि कोभिड–१९ का कारण ढिलाई भएको न्यौपानेले बताए ।

बारपाकका स्थानीयले यसअघि लघु जलविद्युत्को बिजुली प्रयोग गर्दै आएका थिए । लघु जलविद्युत्को बिजुली पर्याप्त नभएपछि बारपाकमा आन्तरिक लोडसेडिङ हुँदै आएको थियो । विद्युत् विस्तार सकेसँगै यहाँका एक हजार जना लाभान्वित हुनेछन् ।

यसअघि बारपाकवासीले प्रयोग गर्दै आएको १३० किलोवाट क्षमताको लघुजलविद्युत् केन्द्रीय प्रसारण लाइनमार्फत् प्राधिकरणलाई बेच्न सुझाएको गोरखा वितरण केन्द्रका प्रमुख न्यौपानेले बताए ।

बारपाकबाट धार्चे गाउपालिका–४ लाप्राकमा पनि विद्युत् विस्तार सुरु भएको न्यौपानेले बताए । लाप्राकदेखि गुम्दासम्म विद्युत् विस्तारका लागि प्रदेश र संघीय सरकारले कुल एक करोड ५० लाख विनियोजन गरेका छन् । लाप्राक बिजुली पुर्‍याउन पोलिङको काम सकेर तार टाँग्ने काम सुरु गरिएको छ । चैत महिनाभित्रै लाप्राक बिजुली पुर्‍याउने योजना रहेको नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित : मंसिर ३०, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?