कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चुहिने भवन ‘जबर्जस्ती’ हस्तान्तरण

प्रकाश बराल

बागलुङ — बागलुङ नगरपालिका–११ रायडाँडा स्वास्थ्य चौकीको भवन ठेकेदारले भर्खरै हस्तान्तरण गरेको हो । गत सातादेखि सोही भवनबाट सेवासमेत दिन थालिएको छ । तर, नवनिर्मित भवन अहिल्यै चुहिन थालिसकेको छ । खानेपानीको ट्यांकी भरिँदा छतमा खसेको पानी सोझै कोठाभित्र तप्किन्छ । 

चुहिने भवन ‘जबर्जस्ती’ हस्तान्तरण

डेढ करोड लागतको भवन कमसल बनेकैले वडा कार्यालयले लिन चाहेको थिएन । तर, ठेकेदारले नगरपालिकामा गएर जबरजस्ती हस्तान्तरण गरेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । ‘गुणस्तरहीन भवनको स्वामित्व लिन नखोजेकै हो,’ उनले भने, ‘काम पूरा भएको छैन, सम्झौताअनुसार काम पनि भएको छैन ।’ गेटबाट भवनसम्म बिरामीलाई ह्विलचियरमा लैजाने ‘र्‍याम्प’ सम्म बनाइसकिएको छैन ।

ठेकेदार पक्षको निरन्तर दबाबपछि भवन हस्तान्तरण भएको नगरप्रमुख जनकराज पौडेलले बताए । नबुझ्दा भवन थप जीर्ण हुन सक्ने भएपछि बुझ्नुपरेको उनको भनाइ छ ।

वडा नं. ९ को तित्याङस्थित भवनमा स्वास्थ्य चौकी सरेको एक महिना नबित्दै गत साउनमा जमिन भासियो । भवनको पेटीबाटै पहिरो खसेको छ । तल्लो खण्डमा सडकका लागि डोजर प्रयोग गर्दा पहिरो खसेको स्थानीय सुरक्षा खड्काको भनाइ छ ।

वडाध्यक्ष गणेश थापामगर सडकबाट पर्खाल उठाएर भवनको संरक्षण गर्ने बताए । ‘स्टिमेट गर्दा सडकको पहिरो आउँछ भन्ने अनुमान भएन, अहिले हामीले जिम्मा लिनुपर्ने भयो,’ उनले भने, ‘सडकबाट पर्खाल उठाएर संरक्षण गर्दा ३० लाखदेखि ४० लाख खर्च गर्नुपर्ने अनुमान छ ।’

तत्कालीन भवन डिभिजन कार्यालयबाट ठेक्का सम्झौता भएर बनेका धेरै स्वास्थ्यचौकी भवनमा यस्तै कुनै–कुनै कमजोरी देखिन्छन् । ठेकेदारले काम अलपत्र छाड्ने, गुणस्तरहीन बनाउने र जोखिमको आकलन नगरीकनै भवन बनाउने गरेको भेटिएको नगरप्रमुख पौडेलले बताए । ‘सम्भावित जोखिमको आकलन नभएकाले अहिले समस्या आयो,’ उनले भने, ‘मर्मत र संरक्षणको व्ययभार नगरपालिकामा आएको छ, खर्चको जोहो गर्न हम्मे–हम्मे परेको छ ।’

अहिले भवन डिभिजन कार्यालय खारेज भइसकेको छ । डिभिजन बसेको ठाउँमा सघन सहरी तथा भवन निर्माण आयोजना र पूर्वाधार विकास कार्यालय स्थापना भएका छन् । आयोजनाले निर्माणाधीन र निर्माण भइसकेका कार्यालयको फाइल बुझेको छ । ‘हामीले कागजात बुझे पनि सबैको अवस्था पहिचान गर्न भ्याएका छैनौं, केही कमजोरी होलान्, केही वर्षौंसम्म हस्तान्तरण नभएर जीर्ण बनेका हुन्,’ सब–इन्जिनियर हरिशंकर रजकले भने, ‘ठेकेदारले काम सके पनि स्थानीयले नबुझेपछि जीर्ण त बन्ने नै भए ।’ उनले ठेकेदारको बचाउ गर्दै वडा र नगरपालिकाले मर्मत गरेर बस्नुपर्ने प्रतिक्रिया दिए । ‘सामान्य चर्किने, पानी चुहिने त भइहाल्छ नि, अब मर्मत गर्नुपर्छ,’ रजकले भने, ‘आगामी वर्षको बजेटमा ती भवनको मर्मतमा रकम पर्न सक्छ ।’ मुख्य व्यवस्थापनको काम नगरपालिकाले गर्नुपर्ने उनले बताए ।

तमानखोला गाउँपालिकास्थित बोङगादोभान स्वास्थ्य चौकीको काम पनि दुई वर्षसम्म अलपत्र थियो । गाउँपालिकाले भुक्तानी रोकेपछि मात्रै ठेकेदारले काम पूरा गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘अधिकांश स्वास्थ्य चौकी भवनका ठेकेदार नेता र उनीहरूका आफन्त छन् । त्यसैले कर्मचारीहरू ठेकेदारविरुद्ध बोल्नै सक्दैनन्,’ संघीय सांसद सूर्य पाठकले भने, ‘नेतृत्वबाट कडाइ गरियो भने मात्रै कर्मचारी र ठेकेदारबाट गुणस्तरीय काम बन्छ ।’ पाठकले आफ्नै वडाको स्वास्थ्य चौकीसमेत लामो रस्साकसीपछि मात्रै सम्पन्न भएको बताए ।

तीन वर्षदेखि कार्यालयहरूको व्यवस्थापन झमेलाले ठेकेदारबाट लापरबाही हुने गरेको पूर्वाधार विकास कार्यालय बागलुङका वरिष्ठ इन्जिनियर शोभियत खड्काले स्विकारे । ‘कार्यालयको व्यवस्थापनको निहुँमा कोही पनि जिम्मेवार भएन,’ उनले भने, ‘अझै पनि ठेकेदारलाई कडाइका साथ काम लगाउने वातावरणमा राजनीतिक र प्रशासनिक संरक्षण देखिन्छ ।’ गुणस्तरहीन काम गर्नेको फर्म रद्द गर्न सक्ने व्यवस्था गर्दा राज्यको लगानी संरक्षण हुने उनले बताए ।

प्रकाशित : मंसिर २२, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?