जबर्जस्ती गर्भपतन गराएको भन्दै प्रहरी निरीक्षकविरुद्ध जाहेरी

घनश्याम खड्का

म्याग्दी — जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट पोखराको बैदाम सरुवा भई गएका प्रहरी निरीक्षक ध्रुव शर्माविरुद्ध जबरजस्ती गर्भपतन गराएको र बहुविवाह गरेको आरोपमा जाहेरी दर्ता भएको छ ।

शर्माकी पत्नी बेनी नगरपालिका–७ की स्मृति शर्माका तर्फबाट आफन्त एकेन्द्र महतले दिएको जाहेरीमा पद र हतियारको दुरुपयोग गरी डर देखाई जबरजस्ती गर्भपतन गराएको र पोखरामा छुट्टै विवाह गर्न अर्की युवतीसँग टीकाटालो गरेको उल्लेख छ ।

उनीहरूले निरीक्षक शर्मा सम्पर्कविहीन भएपछि प्रहरीमा उजुरी गर्दा सुरुमा लिन नमानेको र जालझेल गर्न खोजेको आरोपसमेत लगाएका छन् । ‘शर्माविरुद्ध श्रीमतीका तर्फबाट आफन्तले गर्भ संरक्षण विरुद्धको कसुर र बहुविवाहसम्बन्धी दुईवटा मुद्दामा जाहेरी दर्ता गर्नुभएको छ । अनुसन्धान थालेका छौं,’ जिल्ला प्रहरीप्रमुख डीएसपी किरणजंग कुँवरले भने, ‘उहाँको सरुवा नियमित हो, घटनामा जोगाउन होइन ।’

कुँवरले पीडितको जाहेरी लिन प्रहरीले आनकानी गरेको, जालझेल गरेको भन्ने आरोप सत्य नभएको दाबी गर्दै सरकारी वकिल वा हुलाकबाटसमेत जाहेरी दर्ता गर्न मिल्ने बताए । ‘शर्माले यौनशोषणपछि विवाहको नाटक गरी शारीरिक तथा मानसिक यातना दिएकाले बहिनी अहिले विक्षिप्त छिन् । गर्भपतन गर्न बाध्य पारेको र पोखरामा अर्को विवाह गर्न लागेको जानकारी पाएपछि आफन्तको सहयोगमा उजुरी दिएका हौं,’ स्मृतिकी दिदी स्तुति सुवेदीले भनिन् ।

शर्मा र स्मृतिले गत वैशाखमा बेनीकै मन्दिरमा विवाह गरेका थिए । त्यसअघि नै स्मृति गर्भवती बनेकाले गत चैतमा गर्भपतन गराइएको जाहेरीमा उल्लेख छ । स्मृतिका अनुसार शर्माले पेस्तोल देखाई गर्भपतन नगरे मार्ने र आफू पनि मर्ने भन्दै डर देखाएर पर्वतको कुस्मास्थित मेरीस्टोप्समा लगी गर्भपतन गराएका थिए । गर्भपतनपछि सम्बन्धमा खटपट सुरु हुँदा अधिकारकर्मी र डीएसपीसमेतको दबाबमा ध्रुव र स्मृतिको विवाह भएको थियो । शर्माले विवाह दर्ता गरी आफ्नो नामबाट नागरिकतासमेत दिलाएका छन् ।

शर्माले भने स्मृतिकै इच्छामा गर्भपतन गरिएको दाबी गरेका छन् । ‘विवाहपछि पारिवारिक विषयमा खटपट सुरु भयो । सँगै जीवन बिताउन सक्ने अवस्था नदेखेपछि मैले जिल्ला अदालत बागलुङमा परिवार र उनीसँग समेत अंशबन्डा दाबी गरी मुद्दा दायर गरें,’ उनले भने, ‘परिवारबाट एक्लै बस्न चाहेँ । यही विषयमा उनी आवेगमा आई गर्भपतन र बहुविवाहको मुद्दा दर्ता गरेकी हुन् ।’

प्रकाशित : मंसिर १८, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?