बुटवल-नारायणगढ सडक खण्डमा कार्यरत मजदुर र चिनियाँ ठेकेदारबीच सहमति

नारायण शर्मा

नवलपरासी — बुटवल-नारायणगढ सडकमा कार्यरत मजदुर र व्यवस्थापन पक्षबीच १० बुँदे सहमति भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि त्यहाँ कार्यरत मजदुर र व्यवस्थापन पक्षबीच मजदुरका सर्त पूरा गर्ने सहमतिपछि आन्दोलन तोडिएको छ ।

बुटवल-नारायणगढ सडक खण्डमा कार्यरत मजदुर र चिनियाँ ठेकेदारबीच सहमति

दाउन्ने गैंडाकोट खण्डका मजदुरले न्यूनतम तलब सुविधा भुक्तानी लगायतका माग राखेर गत ४ दिनबाट सडक निर्माणको काम ठप्प पारेका थिए ।

मजदुरको दैनिक ज्याला बापतको रकम भुक्तानी दिने, बिमाको व्यवस्था गर्ने, ८ घण्टाभन्दा बढी समय र शनिबार काम गरेबापत डेढ गुणा बढीको दरले भुक्तानी दिने, दुर्घटना बिमा ठेकेदार कम्पनीले गर्नेलगायत बुँदामा सहमति भएपछि मजदुरले गरेको हड्ताल रोकिएको छ ।

बुटवल नारायणगढ खण्डका करिब २ सय ५० मजदुरले काम गरेबापतको भुक्तानी चिनियाँ ठेकेदार कम्पनीले नदिएको, आफूखुसी कामबाट हटाउने गरेको भन्दै गत शनिबारबाट साइड अफिस घेराउ लगायत कार्यक्रम गरी काम ठप्प पारेका थिए । उनीहरुले रजहरमा रहेको चिनियाँ ठेकेदार कम्पनीको साइड अफिसमा रिले अनशन समेत सुरु गरेका थिए ।

मंगलबार प्रमुख जिल्ला अधिकारी मनमया पंज्ञेनीको रोहवरमा मजदुर प्रनितिधि र ठेकेदारका प्रतिनिधिबीच जिल्ला प्रशासन कार्यालयमा लिखित सहमति भएर हड्ताल टुंगिएको प्रशासनका सूचना अधिकृत आनन्द शर्माले जानाकारी दिए । सहमतिमा ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनका मेनेजर लिन होंगताओ, उक्त सडक योजनाका सरकारी प्रतिनिधि इन्जिनियर रमेश दिष्टी, प्रोजेक्ट म्यानेजर भूमिनन्द ढकाल र मजदुर प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने गैंडाकोट खण्डको ११४ किलोमिटर सडक फराकिलो पार्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिंग कर्पोरेसनले १७ अर्बमा ठेक्का लिएको हो । आगामी ०७९ सालमा काम सम्पन्न गर्न पर्ने सम्झौता छ । लकडाउनका कारण सडक निर्माण अहिलेसम्म ५ प्रतिशतमात्र सकिएको छ ।

प्रकाशित : मंसिर १६, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?