बागलुङका तामाखानी सञ्चालन गर्न माग
बागलुङ — राणाकालमै प्रयोगमा ल्याइएका जिल्लाका खानीहरू पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । तमानखोला गाउँपालिकाको नर्जाखानीमा रहेका तामाखानी झन्डै ८० वर्षदेखि ठप्प छन् ।
तिनलाई पुनः सञ्चालन गर्न स्थानीयले पालिकालाई दबाब दिइरहेका हुन् । पालिकाले खानी सञ्चालन अनुमतिका लागि संघीय सरकारसँग पहल गरिरहेको छ ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाले प्राविधिक परीक्षणका लागि खानी विभागमा धाउ पठाइएको बताए । ‘मैले धाउको गुणस्तर परीक्षणका लागि पनि पठाएको छु, उत्खननको काम गरिरहेको चिनियाँ प्राविधिकलाई पनि नमुना दिएको छु,’ उनले भने । सदरमुकाम देखि १ सय ३० किमी पश्चिमको नर्जाखानीमा अहिले मोटरबाटो पुगेको छ ।
१९९७ सालसम्म तमानखोलाका छन्त्यालहरूले खानीबाट तामा निकाल्ने गरेको स्थानीयको भनाइ छ । त्यति बेला तमानखोला–६ नर्जाखानीका रूपलाल छन्त्याल खानी सञ्चालनबापतको कर तिर्न राजधानी गएको वडाध्यक्ष कुलबहादुर छन्त्यालले बताए । उनका अनुसार यहाँको कर संकलन गर्ने भएकाले राणाशासकले रूपलाललाई डिट्ठा बनाएका थिए । अहिले पनि ओमप्रकाशलाई डिट्ठा खलक भनेर सम्बोधन गरिन्छ ।
उति बेला हरेक घरले बर्सेनि २ धार्नी तामा सरकारलाई करका रूपमा तिर्ने गरेको बूढापाकाहरू बताउँछन् । ‘सरकारले कर बढाइदियो, त्यसपछि उत्पादन पनि हुन छाड्यो,’ ८७ वर्षीया भीममाया छन्त्यालले भनिन्, ‘अहिले त खोजी पनि गर्दैनन् ।’
यहाँ फलाम खानीसमेत रहेको स्थानीयले बताएका छन् । ‘सामान्य पहिरो खसेको स्थानमा पनि तामाको धाउ भेटिन्छ,’ ओमप्रकाश छन्त्यालले भने, ‘पहिरोको धाउ पगालेर गाग्रीसमेत बनाइएको छ ।’ प्रक्रियागत रुपमा उत्खनन गरे यो तामाखानी राज्यकै मुख्य आयस्रोत हुने भए पनि अति दुर्गम भएकाले कसैको दृष्टि नपरेको उनले बताए ।
अहिले गाउँपालिकाले नर्जाखानीसम्म सडक सञ्जालले जोडेको छ । वडा नं. ६ को नर्जाखानीसहित यहाँका ९ वटा गाउँमा तामाखानी भएको प्रारम्भिक अध्ययनले देखाइसकेको छ । ती स्थानको नाममै खानी जोडिएको छ । नर्जाखानी, खुंखानी, घोसाखानी, घैयाखानी, पाण्डवखानी, भुंखानी, सिसाखानी, राङखानी र लेखानी यस्ता स्थान हुन् ।
छन्त्यालले खानीबाट तामा निकाल्ने, विश्वकर्माले पगाल्ने र थकालीले निकासी गर्ने पुरानो चलनको प्रमाणस्वरूप ती सबै स्थानमा छन्त्याल र विश्वकर्माको संयुक्त बसाइ अझै भेटिन्छ । थकालीहरू केही स्थानमा मात्रै छन् । ‘पैसा कमाउन सिपालु भएकोले अधिकांश थकाली बसाइँ सरे, छन्त्याल र विश्वकर्माहरु खानीको काम छाडेर खेतीपातीमा बसेका छन्,’ स्थानीय रनकुमारी विकले भनिन्, ‘राज्यले चाहेको खण्डमा थोरै लगानीमा धेरै उत्पादन गर्न सकिन्छ ।’ चन्द्रशम्शेरको पालासम्म यहाँ ९ वटा खानी संचालनमा रहेको आफूले सुनेको उनले बताइन् ।
पहिरो खसेको स्थानमा देखिएको ढुंगा तामाझैं टल्केपछि परीक्षणका लागि पठाएको गाउँपालिका अध्यक्ष बुढाले बताए । ‘कुन गुणस्तरको र कति मात्रामा छ भन्ने पत्ता लागेपछि उत्खननमा पहल गर्छौं,’ उनले भने ।
खानी उत्खननका लागि बुढापाकाले प्रयोग गरेका घरेलु हतियार तथा सामान अझै खुंखानी र नर्जाखानीमा भेटिने गरेको ओमप्रकाशले सुनाए । ‘मेरै घरमा खानीको धाउका डल्ला सुरक्षित छन्।’ उनले भने, ‘यसको उत्खनन, राजस्व, रोयल्टीजस्ता विषय स्पष्ट भए उत्खननमा छिटो सफलता पाउन सकिन्छ ।’
व्यक्तिगत र सार्वजनिक जमिन पर्ने भएकाले कानुनी प्रक्रिया पनि पूरा गर्नुपर्ने उनीहरूको भनाइ छ । त्यति बेला उत्खनन गर्दा बनाइएका ठूला खाडल र सुरुङ अहिले पनि भेटिन्छन् । जंगली जनावर लुक्ने र बालबालिका पर्न सक्ने भन्दै कतिपय खाडल स्थानीयले बारेर राखेका छन् ।
पाण्डवखानीमा २०३५ सालमा सरकारले पनि वैज्ञानिक अनुसन्धान गरेर तामा भएको निष्कर्ष निकालेको थियो । त्यति बेला भौगोलिक कठिनाइका कारण सरकारले उत्खननको काम गर्न नसकेको गलकोट नगरपालिका–१० का वडाध्यक्ष तिलक घर्तीले बताए । ‘अहिले भने सडक पुगेकाले ती स्थान उत्खननका लागि उपयोगी छन्,’ उनले भने ।
प्रकाशित : मंसिर १६, २०७७ १३:४२