हत्याका ३ अभियुक्त १८ वर्षपछि पक्राउ- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्याका ३ अभियुक्त १८ वर्षपछि पक्राउ

आश गुरुङ

लमजुङ — एक युवकलाई हत्या गरी फरार भएका ३ जना अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् । लुकिछिपी बसेको र घटनाबारे प्रहरीले बिर्सेको भनी गाउँ आएर बसेको उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले दाबी गरेको छ ।

डीएसपी गंगाबहादुर थापाका अनुसार साविक कोल्की गाबिस ३ (हाल दूधपोखरी गाउँपालिका ५), कोल्कीका ४१ वर्षका मनबहादुर गुरुङ र ४६ वर्षका धनराज गुरुङलाई प्रहरीले गाउँघरमै लुकिपिछी बसेको अवस्थामा बिहीबार पक्राउ गरेको थियो । ४५ वर्षका मिरु भन्ने धनबहादुर गुरुङलाई चितवनको भरतपुर महानगरपालिका १२ मा लुकिछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

२०५९ असोज ३० गते मध्यान्ह साविक कोल्की गाबिस ३ (हाल दूधपोखरी गाउँपालिका ५) को हिमालय मावि चौरमा भीमबहादुरलाई टाउकोमा ढुंगाले हिर्काएर हत्या गरेको भन्दै उनकी पत्नी बुद्धिमायाले तिनैजनाविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि फरार भएका उनीहरुलाई पक्राउ गरी प्रहरीले आइतबार पत्रकार भेटघाट गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार मनबहादुर र मृतकबीच घटना हुनुभन्दा १ वर्ष अगाडिदेखि घरायसी कुरामा विवाद भएको थियो । उक्त विवादका कारण २०५९ असोज ३० गते बडा दसैंका दिन मृतकको घरदेखि करिब १० मिनेटको पैदल दुरीमा पर्ने विद्यालयको चौरमा विवाद हुँदा ३ जनाले भीमबहादुरलाई टाउकोमा ढुंगा प्रहार गरी ‘कर्तव्य’ गरी फरार भएको प्रहरीले जनाएको छ । उनका अनुसार अनुसन्धान र अभियोजन हुन बाँकी रहेकाले ३ जना अभियुक्तलाई लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याथ थप गरेर अनुसन्धान थालिएको छ ।


प्रकाशित : मंसिर १४, २०७७ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्

बौद्धिक अपांगता : महिनावारीमा स्याहार्नै गाह्रो

अरूले त रगत बगेपछि के भयो भनेर आमा, दिदी, भाउजू वा साथीलाई सुनाउन सक्छन्, बौद्धिक अपांगता भएकाले त्यतिसमेत भन्न सक्दैनन्
विद्या राई

काठमाडौँ — बुटवलको सुक्खानगरकी १८ वर्षीया अस्मिता पराजुली महिनावारी भएका बेला आमाले प्याड राखिदिन्छिन् । फोहोर र दुर्गन्धित हुन नदिन उनले गरेको यो प्रयास एकछिन पनि टिक्दैन, थुतेर फ्याँकिहाल्छिन् । सानैमा बौद्धिक अपांगता भएकी अस्मितालाई महिनावारी प्राकृतिक चक्र हो, सफासुग्घर रहनुपर्छ भन्ने थाहा छैन ।

‘उसलाई महिनावारी भएको मैले नै थाहा पाएर प्याड राखिदिन्छु तर निकालेर च्यातचुत पार्छे,’ आमा सीताले भनिन्, ‘घण्टा–घण्टामा प्याड फेर्दिइरहनुपर्छ ।’ महिनावारी भएको पाँच दिनपछि मात्रै स्कुल पठाउने गरेको उनले सुनाइन् । अस्मिता १५ वर्षकी हुँदा महिनावारी सुरु भएको थियो । ‘महिनावारी भएपछि मलाई भन्नु है छोरी’ भनेर आमाले सिकाइरहन्छिन् । उनी चालै पाउँदिनन् । ‘अहिलेसम्म महिनावारी भएको आफैंले अड्कल गरेर, पिसाब गराउँदा थाहा पाउनुपर्छ,’ आमाले भनिन्, ‘निन्याउरो मुख लाउँछे, पेट दुखेको होला भनेर दुखाइ कम गर्ने औषधि खुवाउँछु । बहिरा भए सांकेतिक भाषा प्रयोग गर्नु, दिमागै सुस्त भएपछि बुझ्न र बुझाउन साह्रै गाह्रो हुँदो रहेछ ।’

कीर्तिपुरकी लक्ष्मी काफ्लेकी ३० वर्षीया छोरी विनमलाई पनि महिनावारीका बेला अस्मितालाई जसरी नै स्याहार गर्नुपर्छ । सानामा निमोनिया भएपछि बौद्धिक अपांगता भएकी विनमले धेरै सम्झाइबुझाइपछि महिनावारी भएका बेला राखेको प्याड फ्याल्ने, च्यात्ने काम त छोडिन् तर आफैंले प्याड राख्न, फेर्न र सफाइ गर्न जानेकी छैनन् । उनी सामान्य बोल्छिन् । अह्राएको सजिलो काम गर्छिन् । तर, एकछिनमै बिर्सिन्छिन् ।

यी दुई पात्र प्रतिनिधि मात्रै हुन् । महिनावारी भएका बेला बौद्धिक अपांगता भएका किशोरी/महिलाले आफ्नो सफाइ गर्न नसक्ने मात्रै होइन, यसबारे जान्न, बुझ्न र सिक्नै नसक्ने भक्तपुर सूर्यविनायककी अञ्जु बुढाथोकीले बताइन् । ‘अरूले त रगत बगेपछि के भयो भनेर आमा, दिदी, भाउजू वा साथीलाई सुनाउन सक्छन् । बौद्धिक अपांगता भएकाले त्यतिसमेत भन्न सक्दैनन्,’ उनले भनिन्, ‘कति गाह्रो हुन्छ भन्ने भोगिरहेका अभिभावकलाई मात्रै थाहा छ ।’ उनकी छोरी प्रज्ञा १३ वर्षको हुँदा पहिलोपटक महिनावारी भएकी थिइन् । छोरीलाई कोठामा छोडेर भाँडा माझ्न गएकी अञ्जु फर्कंदा हातभरि रगत देखिन् । हातमा चोट लाग्यो कि भनेर हेरिन्, चोट भेटिनन् । भित्री कपडा खोलेर हेर्दा महिनावारी भएको थाहा पाइन् । प्रज्ञा ३९ वर्षकी भइसके पनि महिनावारीका बेला आफैंले सरसफाइ गर्न जान्दिनन् । आमा वा बहिनीले सहयोग गर्छन् ।

२०६८ सालको जनगणनाअनुसार बौद्धिक अपांगता भएका व्यक्तिको संख्या १४ हजार ८ सय ८८ छ । जसमा महिला ६ हजार ६ सय ८ र पुरुष ८ हजार २ सय ८० छन् । ‘बौद्धिक अपांगता र समावेशी शिक्षा’ नामक एक सामग्रीमा उल्लेख गरिएअनुसार उमेरअनुसारको विकासमा ढिलाइ हुने, सम्झन र सोच्न कठिन हुने, ढिलो सिक्ने, छिटो बिर्सने, सञ्चार गर्न कठिन हुने, अस्वाभाविक व्यवहार देखाउने जस्ता अवस्था (डाउन सिन्ड्रोमसमेत) लाई बौद्धिक अपांगता भनिन्छ । पुरुषको तुलनामा महिलालाई बढी जटिलता हुने बौद्धिक अपांग आमा समाज ललितपुरकी सचिव सिर्जना केसीले बताइन् । ‘छोरीहरू महिनावारी भएपछि आफ्नो स्याहार आफंै गर्न सक्दैनन्, त्यो आमाले गरिदिनुपर्छ,’ उनले भनिन्, ‘नत्र रगत जथाभावी लिप्ने, फोहरमै बस्ने समस्या हुन्छ ।’ यस्ता महिलाको महिनावारी व्यवस्थापन पहिलो चुनौती रहेको उनको भनाइ छ । उमेर बढ्दै गएपछि शारीरिक विकास हुँदै जाने, कसैले संवेदनशील अंगहरू छोइदिने, चलाइदिने, बलात्कारसमेत हुने तर सञ्चार कठिनाइले कानुनी कारबाहीमा जान अत्यन्तै जटिल हुने गरेको उनले बताइन् ।


प्रकाशित : मंसिर १४, २०७७ २१:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×