पोखरामा भेन्टिलेटर सर्भिस

लालप्रसाद शर्मा

पोखरा — अस्पतालहरुमा भेन्टिलेटर तथा अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु हुन थालेपछि पोखरामा गण्डकी प्रदेशस्तरीय नेपाल भेन्टिलेटर सर्भिसको स्थापना गरिएको छ ।

पोखरामा भेन्टिलेटर सर्भिस

अक्सिजनबाट बिरामीको ज्यान जोगाउन सकिने विश्वाससाथ काठमाडौंपछि सर्भिसको शाखा सञ्चालनमा ल्याइएको हो । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा ५ सदस्यीय सर्भिस स्थापना गरी तत्काल ४ भेन्टिलेटर र ३ वटा हाइफ्लो नोजल क्यानला (बढी मात्रामा अक्सिजन प्रवाह गर्ने साधन) को व्यवस्था गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो । ‘६० लाख रुपैयाँ बराबरका उपकरण ल्याइसकिएको छ,’ अध्यक्ष पालिखेले भने, ‘आवश्यकता अनुसार अस्पतालमा पठाइनेछ ।’ उनले तत्काल १० भेन्टिलेटर मेसिन ल्याइने र केही समयमै २० पुर्‍याउने बताए ।

सर्भिस सदस्य रामकृष्ण ज्ञवालीका अनुसार सरकारी अस्पतालमा प्रतिदिन भेन्टिलेटर मेसिन एक हजार र क्यानला ३ सय रुपैयाँ, सामुदायिक अस्पतालमा २ हजार र ५ सय तथा निजी अस्पतालको हकमा भेन्टिलेटर ३ हजार र क्यानला ७ सय रुपैयाँ शुल्क लिइ प्रयोग गर्न दिइनेछ । ‘मेसिनको सरसफाई, ढुवानीलगायतका लागि रकम लिने निर्णय गरिएको हो,’ उनले भने ।

गण्डकी प्रदेशमा कोरोना उपचारका लागि तोकिएका ६ सहित १९ अस्पतालमा शुक्रबारसम्म २ सय ३२ आईसीयू र ६८ भेन्टिलेटर छन् ।

एकैदिन ६ लाख सहयोग

पत्रकार सम्मेलनका दौरान सर्भिसलाई आइतबारमात्रै ६ लाख रुपैयाँ सहयोग मिलेको छ । युवा उद्यमी मञ्च पोखराका अध्यक्ष पुनित वैद्यले संस्थागतरुपमा २ लाख सहयोगको घोषणा गरे । यसैगरी सर्भिस अध्यक्ष पालिखेले एकलाख, सदस्य विप्लब पौडेलले एकलाख, सदस्य सुनील गोशलीले एकलाख र सर्भिसका सल्लाहकार किरणलाल श्रेष्ठले १ लाख रुपैयाँ नगद दिने बताए । श्रेष्ठले रोटरी क्लबमार्फत ५० प्रतिशत मूल्यमा भेन्टिलेटर ल्याउने जनाए ।

प्रकाशित : मंसिर १४, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?