भारतीय विदेश सचिवद्वारा गोरखामा तीन विद्यालय भवन उद्घाटन

हरिराम उप्रेती

गोरखा — नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले भूकम्पपछि पुनर्निर्माण भएका गोरखाका ३ वटा विद्यालयको शुक्रबार उद्घाटन गरेका छन् ।

भारतीय विदेश सचिवद्वारा गोरखामा तीन विद्यालय भवन उद्घाटन

भारतको अनुदान सहयोगमा बनेको गोरखा नगरपालिकाअन्तर्गतको तारा मावि छेवेटार, रत्नलक्ष्मी मावि डुम्रीडाँडा र महालक्ष्मी मावि लक्ष्मिबजारको विद्यालय भवनको विदेश सचिव श्रृंगला र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले संयुक्त रुपमा उद्घाटन गरे । गोरखा नगरपालिका–९ लक्ष्मिबजारस्थित महालक्ष्मी माविमा आयोजित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रृंगलाले भूकम्पपछिको पुनर्निर्माणमा भएको सहयोगले भारत र नेपालबीचको सम्बन्ध सुमधुर भइरहने विश्वास व्यक्त गरे ।

प्रत्येक वर्ष नेपालका ७ हजार विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गरेको उनले बताए । श्रृंगलाले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मस्थलको रुपमा परिचित ऐतिहासिक भूमिमा आउन पाउँदा खुसी लागेको बताए । ‘गोर्खाली बहादुरी छन् भनेर संसारभर चिनिएका छन्, विश्वभर विरताको रुपमा चिनिएको यो भूमिमा आउन पाउँदा खुसी लागेको छ,’ उनले भने । विदेशमन्त्रीको साथमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी थिए ।


भूकम्पले भत्काएको गोरखाका सात वटा विद्यालय पुनर्निर्माणका लागि भारत सरकारले जिम्मा लिएको थियो । भारतकै सहयोगमा बन्ने अमर ज्योति जनता मावि लुइँटेल, गण्डकी मावि थुमि, कृष्णज्योति मावि गाखु र सुर्योज्योति मावि ताकुकोटका भवन भने निर्माणाधीन छन् । भूकम्पपछि गोरखा र नुवाकोटमा ५० हजार घर निर्माण गर्ने भारत सरकारले प्रतिबद्वता जनाएको थियो । जसमध्ये ४६ हजार पाँच सय घरको पुनर्निर्माण सम्पन्न भइसकेका छन् ।

प्रकाशित : मंसिर १२, २०७७ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?