पोखरामा ३ कोरोना संक्रमितको मृत्यु- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा ३ कोरोना संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेशमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीनैजना पोखराका हुन् ।

मृत्यु हुनेमा पोखरा–२ का ५९ वर्षीय पुरुष, पोखरा–३२ की ६६ वर्षीया महिला र पोखरा–७ की ७६ वर्षीया महिलाको मृत्यु भएको हो । पुरुषको बिहीबार बेलुकी चरक मेमोरियल अस्पतालमा निधन भएको हो ।

यसैगरी ६६ वर्षीया महिलाको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र अर्की महिलाको पनि शुक्रबारै गण्डकी मेडिकल कलेजमा निधन भएको निर्देशनालयले जनाएको छ । मंसिर ५ मा कोरोना पुष्टि भएका पुरुषमा मिर्गौला र मधुमेहको समस्यासमेत थियो ।

यसैगरी मंसिर ५ मै कोरोना पुष्टि भएकी ६६ वर्षीयामा निमोनिया र मधुमेहको समस्या रहेको निर्देशनालयले जनाएको छ । मंसिर ८ मा कोरोना पुष्टि भएकी ७६ वर्षीयामा निमोनिया देखिएको थियो । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४७ पुगेको छ ।

प्रकाशित : मंसिर १२, २०७७ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्

गाउँ खाली गराएर न्यानो खोज्दै बेंसी

तुलाराम पाण्डे, राजबहादुर शाही

कालिकोट,मुगु — जाडो बढ्दै गएपछि नरहरिनाथ–८, लालुका नमराज विष्ट बुधबार वस्तुभाउ र लालाबालासहित औंल (खुलालु) झरे । लेकाली बस्तीमा लगाइएका मकै, आलु कुर्न र वस्तुभाउ चराउन जेठमा माथि उक्लिएका उनी भदौमा पहिलो साता ठाटीकोटको घर झरेका थिए । अहिले भने घरमा खेतीपातीको काम सकेर उनी परिवारसहित जाडो छल्ल खुलालु झरेका हुन् ।

खाडाचक्र–३ का लालप्रसाद पाण्डे पनि वर्षायाममा गर्मी छल्न दहवनबाट औंलको बस्ती सियाला झरेका छन् । ‘हिउँद लाग्यो, जाडोबाट बच्न औंल झरियो,’ उनले भने, ‘माथि हिउँ पर्ने भएकाले बर्सेनि औंल (बेंसी) झर्छौं ।’

उनीहरु मात्र होइन, यहाँका अधिकांश बासिन्दा गर्मीमा लेक र जाडोमा औंलमा बस्छन् । गाउँका मूलघरमा चैत्र–वैशाख र असोज– कात्तिक बस्ने उनीहरुले जेठदेखि भदौ महिना लेकका खर्कमा बिताउँछन् । जाडो सिजनको मंसिरदेखि फागुन भने बेंसीका खर्कमा बित्छ । अधिकांश पुरुष व्यापार र ज्याला–मजदुरीका लागि जिल्लाबाहिर जाने गरेको स्थानीय कमला पाण्डेले बताइन् । ‘कोरोनाको डरले यो वर्ष बाहिर जानेको संख्या पोहोर परारभन्दा कम छ,’ उनले भनिन्, ‘अधिकांश लेकाली बस्तीका बासिन्दा औंल झरिसक्यौं ।’

स्थानीयहरु खाडाचक्रको ताडीबाट सियाला, बदालकोटबाट रेगिंल, लालुबाट खुलालु, बड्डालाबाट सान्नीगाड, फूकोटबाट भात्तडीलगायत गाउँमा झर्ने गरेको नगरप्रमुख जसीप्रसाद पाण्डेले बताए । उनका अनुसार ३ महिना हिउँ जम्ने फोइमहादेव, राचुली, रतडा, चिल्खाया, रुरुलगायतका बस्तीका अधिकांश भेडाबाख्रापालक किसान लुकालमा सामाल बोकेर औंल झरेका छन् । कालीकोटको हावापानी विविध खालको भएकाले हिउँदमा औंल र वर्षामा लेकका बस्तीमा बसोबास हुने गरेको कृषिविज्ञ पर्शुराम काफ्लेले बताए । ‘सडक नहुँदासम्म त अधिकांश किसान भेडा लिएर नुन, तेल र चामल ल्याउन हिउँदमा सुर्खेत र कैलालीको चिसापानीसम्म पुग्थे,’ उनले भने, ‘सडक पुगेपछि त्यो चलन हटेको छ ।’ जाडो र गर्मी सिजनमा बस्ने घर पनि अलग हुने भएकाले यहाँका बासिन्दाले अलगअलग ठाउँमा घरजग्गा खरिद गरेका छन् ।

फागुनसम्ममा जाडो कटाएर सबैजना आफ्नो थातथलो फर्किन्छन् । कोरोनाका कारण यो वर्ष लेकाली बस्तीका विद्यालयको पठनपाठन प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेश देवकोटाले बताए । उनका अनुसार अधिकांश अभिभावकको ३ ठाउँमा बस्ती हुँदा बालबालिकामा शिक्षा, खोप, पोषण, सामाजिक सुरक्षालगायतमा असर परेको छ ।

मौसमी बसाइले झन्झट

मगुको मुगुमकार्मारोङ गाउँपालिका–२, मुगुका चुफा तामाङको परिवार दुई साताअधि जाडो कटाउन ६ महिनाका लागि सिरानचौर झरेको छ । मंसिर नलाग्दै गाउँमा बरफ जम्न सुरु भएपछि उनको ५ जनाको परिवार अन्नपात, लत्ताकपडा, पशुचौपाया र धनसम्पत्तिसहित सिरानचौर झरेको हो ।

उनीहरु मात्र होइन, माथिल्लो मुगुका बासिन्दा मंसिरमा बेंसीका बस्तीमा झरेर गर्मी सुरु भएपछि चैत महिनामा मात्रै गाउँ फर्किन्छन् । गाउँमा हिउँ पर्ने मौसम सुरु भएपछि गमगढी झरेको मुगुगाउँकी पेमासाङमु तामाङले बताइन् । ‘चिसोले गाउँमा बस्नै मुस्किल छ,’ उनले भनिन्, ‘मौसमी बसाइले सबै कुराको झन्झट बेहोरिरहेका छौं ।’

समुद्र सतहदेखि करिब ३५ मिटर उचाइमा रहेको मुगुका झन्डै एक सय घरपरिवार जाडो कटाउन चिरानचौर, पिलाडी, पुलु छाइल र गमगढी झरेका छन् । मौसमी व्यापार गर्नेहरु जुम्ला, नेपालगन्ज, काठमाडौं र भारतका सहरमा गइसकेको तामाङले बताइन् । ‘माथिका गाउँहरु सुनसान भइसके,’ उनले भनिन्, ‘अहिले त्यहाँ घर कुरुवा मात्र छन् ।’

बेंसीमा झर्नेले गाउँ कुरुवाका लागि एक महिनाअघि नै बस्दोबस्तीका सामग्रीको व्यवस्था गरिदिन्छन् । ६ महिना बेसी र ६ महिना गाउँमा बस्दा स्थानीयबासी शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत सुविधाबाट पछाडि परेको गाउँपालिका उपाध्यक्ष छिरिङ तामाङले बताइन् । ‘गाउँ छोड्दा महिलाले झन् सास्ती खेपिरहेका छन्,’ उनले भनिन्, ‘उनीहरुलाई सुत्केरी र महिनावारी भएको बेला सरसफाइ गर्न र कपडा फेर्नसमेत समस्या छ ।’ उनका अनुसार स्थानीयहरु तल झरेपछि विकास निर्माणका काम ६ महिनाका लागि अवरुद्ध भएका छन् ।

जाडो कटाउन स्थानीयहरु बेंसी झरेपछि मुगु, चितै, डोल्फुलगायत गाउँका विद्यालय बन्द भएका छन् । वर्षैसाल बेसी झर्दा पढाइ बिग्रिएको कक्षा ९ मा अध्ययनरत टासीछिरिङ तामाडले बताइन् । ‘यहाँ आएपछि पढ्नै पाइँदैन,’ उनले भनिन्, ‘लामो समय विद्यालय नजाँदा पढेका कुरा पनि बिर्सिन्छ ।’

चिसो बढेपछि आगो तापेर गफगाफ गर्दै मुगुको माथितुमका बासिन्दा । तस्बिर :राजबहादुर शाही/कान्तिपुर

कार्यालय पनि मौसमी

हिउँदमा स्थानीयबासी तल झरेपछि मुगमकार्मारोङका सरकारी कार्यालय पनि मौसमी बनेका छन् । चिसो बढेपछि मुगुगाउँमा रहेका सीमा प्रहरी चौकी, भन्सार कार्यालय र वडा कार्यालय औंलको पुलुमा विस्थापित हुन्छन् ।

करिब ६ महिनासम्म गाउँ सुनसान हुने भएपछि चौकीमा कार्यरत सुरक्षाकर्मीलाई सदरमुकाम र औंलका बस्तीमा बोलाउने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भिमदत्त जोशीले बताए । ‘गाउँ सुनसान भएपछि हाम्रो काम पनि हुँदैन,’ उनले भने, ‘बस्तीमा चहलपहल भएपछि प्रहरीलाई पनि चौकीमा पठाउँछौ ।’

प्रकाशित : मंसिर १२, २०७७ १५:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×