२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जब बालिकाले फोनमा बुबाबाटै बलात्कृत भएको सुनाइन्

दीपक परियार

पोखरा — एक गैरसरकारी संस्थाको पोखरास्थित कार्यालयमा गत सोमबार आएको फोनले कर्मचारीलाई खङ्ग्रङ्ग बनायो । कास्कीकी १३ वर्षीया बालिकाले आफूलाई बुबाले पाँच वर्षअघिदेखि बलात्कार गरिरहेको फोनमा बताइन् ।

जब बालिकाले फोनमा बुबाबाटै बलात्कृत भएको सुनाइन्

संस्थाले सोमबार बेलुकी नै जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दियो । प्रहरीले बालिकाका ३९ वर्षीय बुबालाई घरनजिकैबाट मंगलबार पक्राउ गर्‍यो । बालिकाकी आमाले बुधबार हाडनाता करणी तथा करणीसम्बन्धी कसुरमा कारबाहीको माग गर्दै पतिविरुद्ध जाहेरी दिइन् ।

ती व्यक्तिले बालिकालाई ४ कक्षा पढ्दादेखि नै यौन–दुर्व्यवहार गर्न थालेको जाहेरीमा उल्लेख छ । त्यतिखेर उनी ८ वर्षकी थिइन् । गत मंसिर ६ गते पनि बुबाले होटलमा लगेर बलात्कार गरेको बालिकाले बताएकी छिन् । बालिकाकी आमाका अनुसार त्यस दिन उनीहरूकहाँ घर बनाउने कामदार थिए । अरू बेला बिहान ९ बजे नै मेला जाने उनी त्यस दिन कामदारलाई खाजा बनाउन घरै बसेकी थिइन् । दुई छोरा मेला गएका थिए । श्रीमान् र कान्छी छोरी काममै थिए । साँझ ५ बजे बुबाले साथीलाई चामल पुर्‍याइदिने भन्दै छोरीलाई मोटरसाइकलमा राखेर पोखरा ल्याए । राति साढे ७ बजेतिर घर फर्किए । उनले पतिलाई ढिलो हुनुको कारण सोध्दा केही जवाफ दिएनन् ।

बालिकाले संस्थालाई बताएअनुसार चामल छोडेर फर्किने क्रममा बुबाले बाटोको एक होटलमा खाजा खान लिएर गए । होटलको तल्लो तलामा रहेको कोठामा लगेर खाजा मगाए । जबर्जस्ती बियर पिलाए । यौन–दुर्व्यवहार गर्न सुरु गरे । बालिकाले कोठामा रहेको घण्टी थिचिन् तर सहयोगका लागि कोही आएन । बुबाले मोबाइलमा आमाको नग्न तस्बिर र भिडियो देखाए । छोरीको पनि नग्न भिडियो खिचे । झन्डै एक घण्टा जबर्जस्ती करणी गरे ।

बालिकाले सोमबार छिमेकीको मोबाइलबाट संस्थाको कार्यालयमा फोन गरिन् । ‘घटना एकदमै वास्तविक लाग्यो,’ संस्थाका प्रतिनिधिले भने, ‘प्रहरीमा नगई हुँदैन भनेर पक्राउका लागि त्यसै दिन निवेदन दियौं ।’ बुबा पक्राउ परेपछि संस्थाले बालिकालाई आफ्नो संरक्षणमा राख्यो । आफूलाई चार कक्षा पढ्दा पहिलोपल्ट बुबाले घरमा कोही नभएको समयमा जबर्जस्ती करणी गरेको उनले संस्थाका प्रतिनिधिलाई बताइन् । त्यसपछि कहिले घर, कहिले होटलमा लगेर निरन्तर यौनशोषण गरेको उनले सुनाइन् । ‘बुबाले धेरैजस्तो घरमा कोही नहुँदा करणी गर्ने, बिरामी हुँदा समेत करणी गर्ने, नमाने कुटपिट गर्ने, घरबाट निस्कन नदिने, निरन्तर यौनशोषण गर्ने रहेछन्,’ ती प्रतिनिधिले भने, ‘यी कुरा कसैलाई भने मार्ने धम्की दिएकैले अहिलेसम्म लुकाउन बाध्य रहिछन् ।’ उनका अनुसार सातामा तीनपल्टसम्म बुबाले उनीमाथि करणी गर्थे ।

उनले झन्डै ३ वर्षअघि बुबाको हर्कतबारे आमालाई बताइन् । तर त्यही कुराले बुबाले आमालाई कुटपिट गरेको देखेपछि भन्नै छोडिन् । अधिवक्ता कुञ्जनी परियारको सम्पर्कमा पुगेकी बालिकाका अनुसार उनले बुबाको व्यवहारबारे काका–काकीलाई समेत भनेकी थिइन् । विद्यालयका शिक्षकलाई लेखेरै दिएकी थिइन् । टोल–छिमेकमा समेत ती व्यक्तिले आफ्नै छोरीमाथि यौनशोषण गर्ने गरेको छिपेको थिएन । तर कसैले चुँसम्म बोलेनन् । ‘बुबाले दिनभरि आफूसँगै काममा लिएर हिँड्ने, बिहान–बेलुका बालिकाले आमालाई भन्न खोज्दा उनी पुगिहाल्ने रहेछन्,’ अधिवक्ता परियारले भनिन्, ‘समुदाय र विद्यालयमा थाहा हुँदा पनि किन सुनुवाइ भएन भन्ने उदेक लाग्दो छ । अहिले अति भएपछि विस्फोट भएर बाहिर आयो ।’

बुबा पक्राउ परेपछि ठूली छोरीले आफूमाथि पनि यौनशोषण भएको खुलाइन् । बुबाले यौन–दुर्व्यवहार गरेकै कारण ९ कक्षा पढ्दापढ्दै छोडेको र सानैमा बिहे गरेर गएको उनले कान्तिपुरसँग बताइन् । ‘बुबाको बानी पहिलेबाटै त्यस्तो थियो । साथीसँग कुरा गरेको पनि थिएँ,’ २० वर्षीया उनले भनिन्, ‘त्यति बेला सपोर्ट गर्ने कोही भएन ।’ बुबाले आमालाई सधैं पिट्ने भएकाले आमासँग पनि भन्न नसकेको उनले सुनाइन् । ‘आमासँग यसो कुरा निकाल्न लाग्यो बाउ आइहाल्थे,’ उनले भनिन्, ‘डरैडरले कसैसँग केही भन्न सकिएन ।’

अधिवक्ता परियारले ती व्यक्तिलाई हदैसम्म सजाय र पीडितलाई क्षतिपूर्ति दिन माग राखी जाहेरी दर्ता गरिएको बताइन् । हाडनाता करणीमा जन्मकैदको व्यवस्था छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी सुवास हमालका अनुसार प्रारम्भिक बयानमा प्रतिवादीले आरोप स्वीकार गरेका छन् । बालिकाको बुधबार नै शारीरिक जाँच गराइएको छ ।

प्रकाशित : मंसिर ११, २०७७ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?