पोखरामा अल्ट्रालाइट सञ्‍चालन 

प्रतीक्षा काफ्ले

गण्डकी — पोखरामा कोरोना भाइरस महामारीका कारण ८ महिनादेखि बन्द रहेको साहसिक खेल 'अल्ट्रालाइट' सञ्‍चालनमा आएको छ । 

पोखरामा अल्ट्रालाइट सञ्‍चालन 

लकडाउनका कारण लामो समयसम्म बन्द गरिएको अल्ट्रालाइट एक हप्तादेखि सञ्चालन भइरहेको छ । पर्यटनलाई चलायमान बनाउने उद्देश्यले विशेष सहुलियत दिएर अल्ट्रालाइट सञ्चालन गरिएको पोखरा अल्ट्रालाइटका संचालक पोमनारायण श्रेष्ठले बताए । उनका अनुसार ७ हजार शुल्क लिइने अल्ट्रालाइटले हाल ५५ सय रुपैयाँमा उडान गरिरहेको छ ।

अल्ट्रालाइटले एक पटकमा १५ मिनेटमात्रै उडान गर्ने संचालक श्रेष्ठले बताए । ‘पोखराको पर्यटन सुस्ताएपछि कसरी चलायमान गर्न सकिन्छ भनेर विशेष सहुलियतको व्यवस्था गरिएको छ’, उनले भने, ‘एक हप्तादेखि सुरु गर्‍यौं तर पर्यटक खासै आएका छैनन् । फाटफुटमात्र चलेको छ ।’ उनले दिनमा चार पटकसम्म उडान गरिएको जानकारी दिए । पोखरामा जम्मा चारवटा मात्रै अल्ट्रालाइट छन् । चारवटा अल्ट्रालाइट दिनमा एक/एकपटक मात्र उडान गरिएको कम्पनीले बताएको छ । स्वास्थ्य मापदण्डलाई ध्यान दिएर उडान गरिएको कम्पनीले जनाएको छ ।

पोखरा विमानस्थलबाट उडान गरिने अल्ट्रालाइट सोही ठाउँमा ल्याएर अवतरण गरिन्छ ।

यसभन्दा अघि प्याराग्लाइडिङ कम्पनीले पनि साविक दरमा ५० प्रतिशत छुट दिएर उडान सुरु गरेपछि अहिले भीड बढेको छ ।

केही दिनअघि मात्रै अल्ट्रालाइट उडान गरेका पोखराका मौसम पराजुलीले पोखराको खुलेको मौसममा अल्ट्रालाइटबाट दृश्यावलोकन गर्दा निकै आनन्द भएको बताउँछन् । उनले भने, ‘अल्ट्रालाइट उडान गर्ने ठूलो इच्छा थियो अहिले पूरा भयो’, उनले भने, ‘उडौला भन्दाभन्दै लकडाउन सुरु भयो । अल्ट्रालाइट बन्द गरिएको रहेछ । अहिले खुलेपछि उडान गर्ने मौका मिल्यो ।’

प्रकाशित : मंसिर ३, २०७७ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?