कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तमानखोलाका ६ वटै वडामा बर्थिङ सेन्टर

प्रकाश बराल

बागलुङ — तमानखोला गाउँपालिका–६ की टीका छन्त्यालले पहिलोपटक घरमै सुत्केरी हुँदा धेरै समस्या भोगिन् । घरमै सुत्केरी हुँदा छिमेकी महिलाको मृत्यु भएपछि उनले गाउँका अन्य महिलाहरूलाई समयमै बजारमा गएर बस्न सल्लाह दिइन् । गाउँमा सुरक्षित सुत्केरी सेवा उपलब्ध थिएन ।

तमानखोलाका ६ वटै वडामा बर्थिङ सेन्टर

नजिकको स्वास्थ्य संस्था भेटाउन एक दिनको पैदल यात्रा गर्नुपर्थ्यो । बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया सेवा नभएकाले पाल्पा पुग्नुपर्ने बाध्यता थियो ।

दुई वर्षदेखि भने यहाँको व्यवस्था फेरिएको छ । तमानखोला गाउँपालिकाले सबै वडामा बर्थिङ सेन्टर सञ्चालन गरेको छ । ६ वडामध्ये ३ वटामा मात्रै स्वास्थ्यचौकी छन् । अन्यत्रका महिलाले दुःख भोग्नुपरेपछि गाउँपालिकाले ५ वटा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको हो । ती इकाइमा सुरक्षित प्रसूति सेवा दिने गरी व्यवस्थापन पनि गरिएको छ ।

बर्थिङ सेन्टरमा कम्तीमा एक जना दक्ष प्रसूतिकर्मी, दुई अनमी र सहयोगीसमेतको व्यवस्थापन गरिएको छ । गाउँपालिकाले आन्तरिक लगानीमार्फत ३० जना स्वास्थ्यकर्मी नियुक्त गरेको अध्यक्ष जोकलाल बुढाले बताए । उनका अनुसार स्वास्थ्य संस्थाका जनशक्ति व्यवस्थापनमा मात्रै वर्षको एक करोड रुपैयाँ खर्च हुन्छ ।

वडा–१, ४, ६ का पाँच स्थानमा स्वास्थ्य इकाइ स्थापना गरिएको छ । ती इकाइका लागि आवश्यक उपकरण र अस्थायी भवनको समेत व्यवस्थापन भइसकेको छ । ‘सबै इकाइमा गरी २ करोड रुपैयाँ सुरुमै लगानी गरेका थियौं,’ बुढाले भने, ‘बर्सेनि एक करोड रुपैयाँ बराबर पारिश्रमिक र सञ्चालन खर्च निस्कन्छ ।’ आगामी वर्ष आफ्नै भवन बनाएर इकाइहरू चुस्त बनाउने योजना पनि उनले सुनाए ।

अहिले बुर्तिबाङमै शल्यक्रियासहितको सुत्केरी सेवा सुरु भएको छ । बर्थिङ सेन्टरमा सम्भव नहुने अवस्था आएमा तत्काल रेफर गर्ने व्यवस्था छ । एक वर्षदेखि यहाँका सबै गर्भवती महिलाहरू स्वास्थ्य संस्थामै सुत्केरी हुन थालेको खुंखानी स्वास्थ्यचौकीकी इन्चार्ज गरिमा हर्मेलले बताइन् । ‘अहिले नियमित गर्भ परीक्षणमा पनि आउनुहुन्छ, नआएमा घरदैलो पनि गर्छौं,’ उनले भनिन्, ‘जटिल अवस्था भएमा समयमै बुर्तिबाङ पठाउन पाएका छौं ।’ उनका अनुसार गत आर्थिक वर्षमा ३२ जनाले यहाँ सुरक्षित सुत्केरी गराएका थिए । चालु वर्षको चार महिनामा ४ जनाले सुत्केरी सेवा लिएका छन्, १७ जना तयारीमा छन् ।

नर्जाखानी, भित्रिवन र पात्लेबाट नजिकको स्वास्थ्य संस्थामा पुग्नसमेत तीन घण्टा लाग्ने भएपछि गाउँपालिकाले इकाइ स्थापना गराएको हो । ती इकाइमा पनि नियमित स्वास्थ्य परीक्षण, बहिरंग सेवा र गर्भवती महिलाको नियमित गर्भ जाँच हुने गरेको छ । ‘अहिले त समस्या भयो भने गाडी चढेर पनि जान सकिन्छ,’ नर्जाखानी सामुदायिक स्वास्थ्य इकाइकी प्रमुख लक्ष्मी छन्त्यालले भनिन्, ‘बीस वर्षमुनिका गर्भवती भएमा सुरक्षित स्थानमा पठाउने गरेका छौं ।’

गाउँपालिकाले बालविवाह अन्त्यका लागि तीन वर्षदेखि अभियान पनि थालेको छ । अटेर गर्नेलाई कारबाहीसमेत गरिने भएपछि २० वर्ष उमेर नपुग्दै गरिने विवाहमा उल्लेख्य कमी आएको वडाध्यक्ष कुलबहादुर छन्त्यालले दाबी गरे । ‘छिटपुट रूपमा १६–१७ वर्षकाको पनि विवाह भएको छ तर धेरै घटेको छ,’ उनले भने, ‘बालविवाह गरेको खण्डमा गाउँपालिकाबाट पाउने सेवासुविधा वञ्चित हुने चेतावनीले घटाएको हो ।’ विवाह गरेकाले पनि २० वर्ष पुगेपछि मात्रै सुत्केरी हुने गरेको उनले बताए ।


बागलुङको तमानखोला–६ को नर्जाखानीमा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाइ । गाउँपालिकाको आन्तरिक लगानीमा यहाँबाट नियमित स्वास्थ्य परीक्षणसहित बर्थिङ सेन्टर पनि सञ्चालन गरिएको छ । तस्बिर : प्रकाश

प्रकाशित : मंसिर २, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?