१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

व्यवसायीलाई फूल बेच्‍न चटारो

प्रतीक्षा काफ्ले

गण्डकी — बजारमा तिहारको रौनक छाएको छ । पुष्प व्यवसायीहरुलाई फूल बेच्‍नका लागि भ्याइनभ्याइ छ । दसैंमा सुनसान बनेको बजार यतिबेला चहलपहल बढेको छ ।

व्यवसायीलाई फूल बेच्‍न चटारो

पोखरा महानगरपालिका–२८ का पुष्प व्यवसायी जगदीशनाथ योगीलाई लक्ष्मी पूजाको दिनमा फूल बिक्रीको चटारो छ । भन्छन, ‘हिजोसम्म एउटा फूल बिक्री भएको थिएन । बिहानैदेखि फूल किन्न आउने ग्राहकको भीड लागेको छ ।’ उनले बिहानदेखि नै फुलबारीमा व्यस्त रहेको बताए । पोखराको बजारबाट नै फूल किन्न आउनेको भीड लागेको उनको भनाइ छ ।

शुक्रबार दिउँसो एक बजेसम्म तीनसयवटा फूलको माला बिक्री गरिसकेको उनले बताए ।उनका अनुसार बेलुकासम्म ४ देखि ५ सयसम्म फूलको माला बिक्री हुनेछन् । एकलाख रुपैयाँ लगानी गरेर ४ रोपनी क्षेत्रफलमा फूलको खेती गरेका योगीले प्रतिमाला एकसय रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

एउटा फूलको थुँगालाई ४ रुपैयाँमा बिक्री गरेको बताउँदै उनले लक्ष्मी पूजा गर्नका लागि, होटल तथा रिर्सोट सजावटको लागि फूलको माग बढेको बताए ।

पोखरा महानगरपालिका–२९ ज्योती बस्नेतले एकैदिनमा २२ हजार रुपैयाँको फूल बिक्री भएको बताइन् । ‘फूल किन्नको लागि ग्राहक घरमै आएका छन्,’ उनले भनिन्, ‘बिउ, खेतला, मल गरेर ८/९ हजार रुपैयाँ लगानी गरेर एक रोपनी क्षेत्रफलमा फूल लगाएकी थिएँ । एउटा फूलको थुँगाको ४ देखि ६ रुपैयाँसम्म लिएकी छु ।’

उनले फूलको माग बढेको देख्दा सबै घरबाट नै बिक्री हुने बताइन् । पुष्प व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष दयाकुमार दुवाले पोखरामा एक करोड बराबरको फूल आवश्यक पर्ने बताए । भारतीय नाका बन्द भएकाले यसपटक पोखरामा बाहिरबाट फूल आयात नभएको उनले बताए । उनका अनुसार गतवर्ष साढे २ करोडको फूल पोखरामा बिक्री भएको थियो । गतवर्ष बिक्री भएको रकम बराबरको ३३ प्रतिशत फूल यसवर्ष बिक्री हुने उनले बताए ।

यसपटक पनि धादिङ, गोरखा, लमजुङ, स्याङ्जा, बाग्लुङ लगायत आसपासका जिल्लाबाट फूल पोखरा आउने गरेको उनको भनाइ छ । ‘कास्कीमा उत्पादन भएको फूलले कास्कीका जनतालाई पुग्छ,’ उनले भने, ‘तर, हामीले कसरी छुट्याउने ? पोखरामा बाहिरबाट आएर बसोबास गर्नेको संख्या ठूलो छ । त्यसैले कास्कीकै उत्पादित फूलले पुर्‍याउन सकिदैन ।’ कोरोनाका कारण यसवर्षको तिहारमा विगतको जस्तो रमझम नभएको उनले बताए ।

प्रकाशित : कार्तिक २९, २०७७ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?