२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जथाभाबी पोल ढालिँदा बिग्रिए बागलुङ बजारका सीसी क्यामेरा

प्रकाश बराल

बागलुङ — सदरमुकाम बागलुङ बजारमा पाँच वर्षअघि जडान गरिएका सीसी क्यामेरा मर्मत–सम्भार अभावमा काम नलाग्ने भएका छन् । कतिपय क्यामेरा फुटिसकेका छन् भने कतिपयमा धुलो जमेर केही नदेखिने भएको छ  ।

जथाभाबी पोल ढालिँदा बिग्रिए बागलुङ बजारका सीसी क्यामेरा

बजारको सुरक्षामा प्रहरीलाई साथ दिने भन्दै उद्योग वाणिज्य संघले ४० वटा सीसी क्यामेरा जडान गरेको थियो । तिनको फुटेज जिल्ला प्रहरीमा रहने व्यवस्था थियो । तर, झन्डै एक वर्षदेखि प्रहरीमा फुटेज हेर्ने व्यवस्था छैन । ‘हामीले लाखौं खर्चेर जडान गर्‍यौं, नगरपालिकाले पनि हेरेन, प्रहरीले पनि वास्ता गर्न छाडेको छ,’ संघका पूर्वअध्यक्ष वसन्तकुमार श्रेष्ठले भने, ‘बजार क्षेत्रमा हुने जुनसुकै अपराधमा सीसी क्यामेरा नभएपछि प्रहरीले अनुसन्धान गर्न सक्दैन, रेकर्ड पनि भेटिँदैन ।’ नगरपालिकाले बजारका अव्यवस्थित पोल हटाउँदा फालिएका क्यामेरा पनि जडान नभएको श्रेष्ठले बताए ।

जडान गर्दाको समयताका सीसी क्यामेराको सहायताले चोरीका धेरै घटना सार्वजनिक भएका थिए । सबै क्यामेरा बिग्रेपछि कन्ट्रोल रुम सञ्चालनमा नआएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्र रेग्मीले बताए । ‘पहिला थियो, अहिले कन्ट्रोल रुम पनि छैन, बजारका पोल व्यवस्थापन गर्ने बेलामा सबै तार चुँडिएपछि जडानै हुन सकेन,’ उनले भने । अपराध नियन्त्रणमा समेत प्रहरीलाई बाधा पर्न थालेको रेग्मीले बताए । नगरपालिकासहित विद्युत्, टेलिकम र निजी केबुल टेलिभिजन कम्पनीहरूले तार हटाउने बेलामा सीसी क्यामेरा क्षतविक्षत बनाएको रेग्मीले टिप्पणी गरे । ‘उनीहरूले प्रहरी र उद्योग वाणिज्य संघलाई वास्तै नगरी पोल ढालेछन्,’ उनले भने, ‘सुरक्षा चासो बढी भएकाले व्यवसायीले फेरि सहयोग गर्ने भन्नुभएको छ ।’

प्रहरीलाई बजारभित्र गस्ती गर्नका लागि सुनचाँदी व्यवसायी संघले ५ वर्षअघि ७ वटा साइकल दिएको थियो । केही महिनापछिबाटै ती साइकल प्रयोगमा आउन छाडेका थिए । गत वर्ष बैंकर्स एसोसिएसनले पनि ७ वटा साइकल दिएको थियो । ती साइकल पनि दुई महिनापछि देखिन छाडेको एसोसिएसनका अध्यक्ष दीपक शर्माले बताए ।

‘हामीले दिएका साइकल त अब भेटिँदैन होला, बैंकर्सले दिएका पनि कता पुगेका छन्,’ सुनचाँदी व्यवसायी अनिश खातीले भने, ‘सुरक्षाको व्यवस्थापनमा सजिलो भएका सामग्री नै अलपत्र भएपछि प्रहरीको अनुसन्धान फितलो हुन्छ ।’ बागलुङ नगरपालिकाले चोक सुधार तथा सडक चौडा पार्ने कार्यक्रमअन्तर्गत पुराना पोल ढालेको छ । गुजुल्टा तार हटाउँदा सीसी क्यामेरामा पनि क्षति पुगेको हो । वाणिज्य संघले केही समयभित्रै नयाँ क्यामेरा जडान गर्ने योजना बनाएको अध्यक्ष युवराज राजभण्डारीले बताए । ‘हामीले जोडिरहने, नगरपालिका र प्रहरीले संरक्षण नगर्ने भयो भने अपराध नियन्त्रण हुँदैन,’ उनले भने, ‘पाएका सामाग्री चुस्त रूपमा सञ्चालन गर्न इच्छाशक्ति चाहिन्छ ।’ अपराध नियन्त्रणमा गरिएको प्रयासमा प्रहरी र नगरपालिकाकै असहयोग भइरहेको उनले टिप्पणी गरे ।

प्रकाशित : कार्तिक २६, २०७७ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?