म्याग्दीका स्थानीय तहमा धमाधम लकडाउन- गण्डकी - कान्तिपुर समाचार

म्याग्दीका स्थानीय तहमा धमाधम लकडाउन

कान्तिपुर संवाददाता

म्याग्दी — कोरोना भाइरस संक्रमण समुदायमा बढेपछि जिल्लाका स्थानीय तहले धमाधम मुख्य बजारहरू लकडाउन गर्न थालेका छन् ।

करिब ७ हजार जनसंख्या रहेको सदरमुकाम बेनीमा दसैंयता कम्तीमा २१ जनामा कोरोना संक्रमण भएको र एक वृद्धको मृत्युसमेत भएपछि नगरपालिकाको आग्रहमा स्थानीय प्रशासनले आउँदो शुक्रबारसम्म लकडाउन गरेको छ ।

सदरमुकामबाट ग्रामीण भेगमा संक्रमण फैलन थालेपछि बुधबार रातिदेखि मालिका गाउँपालिकाले आगामी मंगलबारसम्म गाउँपालिका केन्द्र रहेको पश्चिमको ठूलो व्यापारिक बजार दरबाङ्गमा लकडाउन गरेको छ । ‘साँघुरो क्षेत्र, घना बस्तीमा कोरोना संक्रमण देखिएपछि स्थानीय त्रसित भई लकडाउन गर्न दबाब आयो,’ मालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले भने, ‘लकडाउन तिहारसम्मै लम्ब्याउनु उचित हुने ठानेका छौं ।’

अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगर, तातोपानी क्षेत्रमा उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन सूचना जारी गरिएको छ । म्याग्दी सदरमुकामसँग जोडिएको पर्वतको जलजला गाउँपालिकाले पनि बुधबार मध्यरातदेखि आगामी मंगलबारसम्म लकडाउन गरेको छ । भौगोलिक रूपमा जलजला पर्वतमा पर्ने भए पनि यहाँका सबै व्यापारिक कारोबार बेनीमा हुने गर्छ ।

संक्रमण समुदायमा फैलिएपछि छिमेकी पर्वतको कुस्मा र बाग्लुङले पनि सदरमुकाम क्षेत्रमा लकडाउन गरेका छन् । मुस्ताङमा पनि सदरमुकाम जोमसोम क्षेत्रमा २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार चिसो बढेको र हिमपात सुरु भएकाले संक्रमण बढ्ने डर छ । अति जरुरी कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले सूचना जारी गरेको छ ।

प्रकाशित : कार्तिक १९, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकी प्रदेशका कृषि मन्त्रीलाई कोरोना

हरिराम उप्रेती

गोरखा — गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई कोरोना संक्रमण भएको छ ।

पोखरास्थित प्रदेश प्रयोगशालामा भएको स्वाब परीक्षणको क्रममा बुधबार मन्त्री थापालाई कोरोना संक्रमण पुष्टि भएको थापाका स्वकिय सचिव भरत खनालले बताए ।

नेकपा गोरखा जिल्ला अध्यक्ष समेत रहेका थापालाई स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सोमबार स्वाब लिएर परीक्षणको लागि पठाइएको थियो ।

मन्त्री थापा हाल होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको खनालले बताए । सामान्य रुघाखोकी देखिएदेखि नै भेटघाट बन्द गरेर मन्त्री थापा होम आइसोलेसनमा थिए ।

प्रकाशित : कार्तिक १९, २०७७ १७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×