१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

होङ्सीमा बिजुली लैजान ५६०० रूख काटिने

नारायण शर्मा

पूर्वी नवलपरासी — नेपालको सबैभन्दा ठूलो होङ्सी सिमेन्ट उद्योगमा बिजुली पुर्‍याउन बर्दघाट–सर्दी १३२ केभीए प्रसारण लाइन निर्माणका लागि ५ हजार ६ सय रूख काटिने भएको छ  । पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका–२ सर्दीमा उद्योगको कारखाना छ  ।

३६ अर्ब रुपैयाँ चिनियाँ लगानीमा सञ्चालित होङ्सी सिमेन्ट उद्योगका लागि आवश्यक विद्युत् सरकारले दिनुपर्ने सहमति थियो । सोहीअनुसार १३२ केभीए प्रसारण लाइनको निर्माण सुरु भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लगानीमा बर्दघाट नगरपालिकाको विद्युत् सबस्टेसनदेखि दाउन्ने, दुम्कीबास हुँदै १३२ केभीए प्रसारण लाइन उद्योगमा लैजानुपर्छ । प्रसारण लाइनको विस्तार गरिन लागेको क्षेत्रमा दाउन्ने धार्मिक वनको अधिकांश क्षेत्र पर्छ ।

बर्दघाटदेखि उत्तरतर्फको २० किलोमिटर पहाडी जंगल, दाउन्ने मन्दिर हुँदै सर्दीमा रहेको उद्योगमा विद्युत् पुर्‍याउनुपर्ने १३२ केभीए प्रसारण आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए ।

उक्त प्रसारण लाइन निर्माणका लागि उद्योग मन्त्रालयले गत आर्थिक वर्षको बजेटमा ४५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

२०७४ देखि निर्माण सुरु भएको बर्दघाट–सर्दी १३२ केभीए प्रसारण लाइन आयोजनामा ६६ वटा टावर निर्माण हुनेछन् । उक्त प्रसारण लाइनबाट तीन वटा विद्युत् सर्किट जानेछन् । जसमध्ये दुईवटा होङ्सी सिमेन्ट उद्योग र एउटा दुम्कीबास अनि सर्दीका स्थानीयका लागि लगिने योजना रहेको पाण्डेले बताए ।

वन मन्त्रालयले विद्युत् प्रसारण लाइन निर्माण क्षेत्रका ५ हजार ६ सय रूख काट्ने अनुमति दिइसकेको छ । दाउन्ने पहाड हुँदै लगिने प्रसारण लाइनका लागि फाउन्डेसन निर्माणको काम अघि बढेको छ ।

१२ हजार टन क्षमताको यो सिमेन्ट कारखाना नेपालकै सबैभन्दा ठूलो हो । कारखानाले हाल दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । वैदेशिक लगानी रहेका ठूला कारखानामा विद्युत्, पानी, सडक र सुरक्षा (प्रहरी पोस्ट) नेपाल सरकारले दिने व्यवस्था छ ।

प्रकाशित : कार्तिक १३, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?