कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङका चेपाङलाई दसैं राहत

आश गुरुङ

लमजुङ — गएको वर्ष जनता आवास कार्यक्रममार्फत घर बन्यो । यतिले उनीहरुको ओत ढाक्यो । तर, जग्गा जमीन केही नभएका चेपाङले कोरोना संक्रमण र लकडाउनका कारण काम पाएनन् ।

लमजुङका चेपाङलाई दसैं राहत

काम नपाएपछि चाडवाडको बेला उनीहरु समस्यामा परे । केटाकेटीले नयाँ लुगा फेर्न पाएनन् । घरमा मिठो मसिनोको जोहो भएन । चारैतिर दसैंको रमझम छाएको बेला चेपाङ समुदायमा दसैंको कुनै रौनक आएन । उनीहरु कोही एक छाक खानाले दिन गुजार्न बाध्य भए ।

इकान्तिपुरमा ‘दसैंमा बेखर्ची चेपाङ’ समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले शनिबार बिहान राहत लिएर चेपाङ गाउँ पुगेका छन् । बेंसीसहर नगरपालिका–११, बरबोट चेपाङ गाउँका १० घरपरिवार र दोर्दी गाउँपालिका–९, हिलेटक्सार भीरकुनाका ४ घरपरिवारलाई उनले चामल, दाल, नुन, तेल र कुकिज वितरण गरे । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार १४ घर चेपाङ परिवारलाई प्रति परिवार १५ किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ पोका नुन, १ पोका सोयाबिन र एक प्याकेट कुकिज दिइएको छ ।

राहत पाएपछि पूर्णबहादुर चेपाङले दसैं खर्च टरेको बताए । ‘चामल, भुटुन मसला पाएपछि दसैं राम्रोसँग मनाउने भइयो’ उनले भने, ‘दु:खी गरिबले पैसा पौको छैन । आफ्नो स्थिति के हुन्छ अझै थाहा छैन ।’ अरुकोमा काम गर्न गएर केही कमाउँदै आएका उनले यो वर्ष कुनै काम नहुँदा र साहुले पनि काममात्रै लगाएर पैसा नदिएपछि दसैं खर्चको जोहो गर्न नसकिएको उनले बताए ।

स्थानीय राजु चेपाङका अनुसार मिठो मसिनो खान पाएन भनेर छोराछोरी रोएको बेला राहतले सान्त्वना मिलेको बताए । ‘लकडाउनले यता हिन्न पनि पाइएन, उता हिँड्न पनि पाइनँ । भएको सानो गह्रोमा पनि पुल बनाउनेले माटोले पुरिदिए । दसैंमा केही पाइएन’ उनले भने, ‘अहिले राहत पाइयो । खुसी छौं ।’

प्रकाशित : कार्तिक ८, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?