३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

म्याग्दीमा होटल व्यवसाय बन्द हुँदा एक हजारभन्दा बढीले रोजगारी गुमाए

घनश्याम खड्का

म्याग्दी — लामो समयको लकडाउनले व्यवसाय बन्द भएर घरभाडा तिर्न नसकेपछि व्यवसायी पेसाबाट पलायन हुन थालेका छन् । जिल्लामा साना–ठूला होटल तथा रेस्टुरेन्टमा कार्यरत एक हजारभन्दा बढी मजदुरले रोजगारी गुमाएको होटल व्यवसायी संघले जनाएको छ । 

संघका अनुसार म्याग्दीका ३ सय ५० भन्दा बढी रेस्टुरेन्ट, होटल तथा लजमा १ अर्बभन्दा बढी लगानीे छ । अहिले खुलेका सबै होटल, रेस्टुरेन्ट स्वरोजगारमूलक शैलीमा चलेका छन् ।

‘लामो समयदेखिको लकडाउनका कारण होटल तथा रेस्टुरेन्ट बन्द हुँदा घरभाडा तिर्न नसकेर बेनीका मात्र १५ भन्दा बढी व्यवसायी पलायन भए । आफ्नै घरमा होटल चलाएका बाहेक अरुलाई व्यवसायमा टिक्न समस्या भएको छ,’ संघ अध्यक्ष बाबुराम आचार्यले भने, ‘व्यवसाय नै बन्द गरी व्यवसायी पलायन भएपछि कार्यरत मजदुरले रोजगारी गुमाएका छन् ।’

लकडाउन खुकुलो भइसक्दा पनि कोरोना संक्रमण समुदायमै फैलिएपछि बजारमा मानिसको चहलपहल छैन । होटल–रेस्टुरेन्टमा खाजा, खाना खान पहिलेजस्तो ग्राहक आउँदैनन् । बाह्य पर्यटकमा निर्भर रहेका घोडेपानी, महरे, चित्रे, तातोपानीलगायत स्थानका होटल तथा लज अझै खुलेका छैनन् । घोडेपानी/पुनहिल क्षेत्रमा तिहारअघि पर्यटकलाई प्रवेशमा रोक लगाइएको छ ।

महँगो भाडा तिरिरहेका होटल व्यवसायी घरबेटीले कम्तीमा एक महिनाको घरभाडा छुट दिँदा पनि थेग्न नसकेपछि व्यवसायबाटै पलायन भइरहेको होटल व्यवसायी संघले जनाएको छ । केही व्यवसायी होटलका सामान नै घरबेटीलाई बुझाएर हिँडेका छन् ।

संघका अनुसार कम्तीमा १२ होटल व्यवसायी घरभाडा बुझाउने विकल्प नभएको भन्दै पेसाबाट पलायन भएका छन् ।

संघले गत सोमबार होटल तथा रेस्टुरेन्टलाई धितो मानेर बैंक/वित्तीय संस्थाबाट कर्जा व्यवस्था, पानी, बिजुली, इन्टरनेटमा लकडाउन अवधिको छुट, घरधनीको कर्जाको ब्याजमा छुट र बैंकको ब्याज तथा साँवा गाभेर कम्तीमा २ वर्ष भाका बढाउने व्यवस्था मिलाइदिन’ जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रकाशित : कार्तिक ८, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?