१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अकासियो च्यांग्राको भाउ

पोखरामा यस वर्ष १२ हजार च्यांग्रा भित्रिएका छन्
प्रतीक्षा काफ्ले

गण्डकी — मुस्ताङको कोरला नाकाबाट तिब्बती च्यांग्रा नभित्रिएपछि यस वर्ष मूल्य अकासिएको छ । स्वदेशमा सीमित मात्रामा च्यांग्रा उत्पादन भएकाले मूल्य बढेको व्यवसायी बताउँछन् ।

अकासियो च्यांग्राको भाउ

कोरोनाका कारण कोरला नाका बन्द भएपछि व्यवसायीले यस वर्ष भेडा, च्यांग्रा ल्याउन सकेनन् । मुस्ताङ, डोल्पा र दार्चुलाका च्यांग्रा पोखरा आइपुगेका छन् । सीमित संख्यामा मात्रै च्यांग्रा आएकाले मूल्य महँगो भएको व्यवसायीको भनाइ छ । पोखरा खसीबोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले ढुवानीको खर्चसँगै च्यांग्राको पनि मूल्य वृद्धि भएको बताए । ‘पोहोर–परार खसी, बोका भारतबाट पनि ल्याउँथ्यौं,’ उनले भने, ‘यस वर्ष ल्याउन पाइएन । नेपालभित्रबाटै ल्याएका छौं । पहाडी क्षेत्रबाट खरिद गर्दा ढुवानी महँगो भएकाले मूल्य बढेको हो ।’

उनका अनुसार हिमाली जिल्लाबाट समितिले मात्र नभई व्यक्तिले पनि भेडा, च्यांग्रा खरिद गरी बिक्रीवितरण गर्छन् । बिहीबारसम्म पोखरामा १२ हजार भेडा, च्यांग्रा भित्रिएका छन् । दार्चुला र डोल्पाबाट केही मात्रामा आए पनि अधिकांश च्यांग्रा मुस्ताङबाट ल्याइएको उनले जनाए । खसी–बोका भने रुकुम, रोल्पा, पाल्पा, तनहुँ, स्याङ्जा, नवलपरासी, बागलुङ र पर्वतबाट आउँछन् । पोखरा झारिएका भेडा–च्यांग्रा बिक्रीका लागि हेम्जास्थित पोखरा–बाग्लुङ राजमार्गको दायाँबायाँ किनारमा राखिएका छन् ।

व्यापारीका अनुसार गत वर्ष नेपालका विभिन्न स्थानबाट पोखरामा ३५ हजार भेडाच्यांग्रा ल्याइएको थियो । यस वर्ष बढीमा १५ हजारको संख्यामा मात्र आउने उनीहरूले बताएका छन् । च्यांग्रा बिक्रेता प्रकाश कुँवरले एउटै च्यांग्राको मूल्य १० हजार रुपैयाँको दरले बढी परेको बताए । मुस्ताङमै व्यापारीले मूल्य बढी लिएको उनको दाबी छ । उनले १ सय ७८ वटा च्यांग्रा ल्याएका छन् । मुस्ताङमै प्रतिच्यांग्रा २८ हजारमा खरिद गरेको र पोखरा ल्याउँदा प्रतिगोटा २ हजार खर्च भएको उनी बताउँछन् । पोखरामा प्रतिगोटा ३३ देखि ३५ हजारमा बिक्री गरेको कुँवरले बताए । २७ लाख रुपैयाँ लगानी गरेको जनाउँदै उनले १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको बताए ।

पोहोर २० हजार रुपैयाँ हाराहारी पर्ने च्यांग्रालाई हाल २८ देखि ३० हजार मुस्ताङमै तिर्नुपरेको अर्का व्यापारी रमेश श्रेष्ठको दाबी छ । ३५ देखि ३७ हजार रुपैयाँ प्रतिगोटा च्यांग्रा बिक्री गरेको उनले बताए । उनले २ सय ३९ वटा च्यांग्रा ल्याएका छन् । समितिका अध्यक्ष श्रेष्ठका अनुसार दसैंलाई लक्षित गर्दै पोखरामा ८ हजार खसी–बोका झरेका छन् । जिउँदो खसी–बोकालाई प्रतिकिलो ५ सय ८० देखि ६ सय ३० रुपैयाँसम्म बिक्री गरिएको छ । जिउँदो च्यांग्रा ७ सय ८० देखि ८ सय रुपैयाँ प्रतिकिलोसम्म र भेडा ५ सय ७० देखि ६ सय रुपैयाँसम्म प्रतिकिलो बिक्री भएको छ । काटेको खसीको मासु प्रतिकिलो ११ सय र च्यांग्रालाई १५ सय रुपैयाँ पर्ने उनले बताए ।

यति बेला पोखराका मासु पसलले १६ सय रुपैयाँ प्रतिकिलोमा च्यांग्राको मासु बिक्री गर्दै आएका छन् । विशेष गरी पोखरामा फूलपातीको दिनमा च्यांग्रा बढी बिक्री हुने गरेको छ । पोखराको पुरानो टुँडिखेलमा च्यांग्रा बिक्रीका लागि राखिने र त्यहाँ ठूलो मेलासमेत लाग्ने गर्थ्यो । यसपल्ट भने त्यस्तो छैन । पोखरा आएका भेडा–च्यांग्रा विभिन्न माध्यमबाट काठमाडौंदेखि देशका अन्य भागमा पुग्ने गरेका छन् । व्यापारीका अनुसार कात्तिकको सुरुमा मुस्ताङबाट सबै च्यांग्रा पोखरा आइपुग्छन् । केही व्यवसायीले तिहारसम्म पनि च्यांग्रा ल्याउने गरेका छन् । मुस्ताङबाट पोखरासम्म भेडा–च्यांग्रा ल्याउन करिब १० दिन लाग्ने उनीहरुको भनाइ छ ।

प्रकाशित : कार्तिक ७, २०७७ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?