स्वाबको नमुना परीक्षण नै नगरी फिर्ता
गोरखा — कोरोना परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब परीक्षण नगरी फिर्ता भएको छ । गोरखाबाट कोरोना परीक्षणका लागि पठाइएको स्वाबको नमुना काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यसै फिर्ता पठाइदिएको हो ।
यहाँका विभिन्न पालिकाका २ सय ३४ जनाको स्वाब संकलन गरेर मंगलबार परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । जनस्वास्थ्य प्रयोगशालाले स्वाबको नमुना नबुझी मंगलबार नै गोरखा फिर्ता गरिएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए । ‘पठाएको स्याम्पल नबुझेपछि फिर्ता भएको हो, तर किन फिर्ता गरियो भन्ने औपचारिक जानकारी पाएका छैनौँ,’ उनले भने ।
टेकुबाट फिर्ता भएको स्वाबको नमुना बुधबार परीक्षणका लागि पोखरास्थित प्रयोगशाला पठाइएको उनले बताए । ‘दसैंअघि रिपोर्ट आए नमुना लिएकाहरुलाई सजिलो हुन्छ भनेर काठमाडौं पठाएका हौँ, उनले भने ‘पोखराको ल्याबमा परीक्षण गर्ने स्वाबको यतिखेर लोड बढी छ, फेरि यसअघि पनि गोरखाबाट काठमाडौं स्वाब परीक्षणका लागि पठाउने गरेका थियौँ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नागरिकको उपचार खर्च आफै बेहोर्नुपर्ने जानकारी गराएको केही दिन बित्न नपाउदै स्वाबको नमुना फिर्ता भएपछि नागरिकस्तरबाट विरोध भएको छ ।
प्रकाशित : कार्तिक ५, २०७७ १२:०१