१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पीसीआर रिपोर्ट माग्दै कारागारबाट बन्दी प्रहरीमै फिर्ता

नारायण शर्मा

नवलपरासी — पश्चिम नवलपरासी कारागारले पीसीआर रिपोर्ट नभएको भन्दै जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पठाएका बन्दी प्रहरीमै फिर्ता गरिदिएको छ ।

लागुऔषध मुद्दामा अदालतले पुर्पक्ष थुनामा राख्न आदेश दिएका एक व्यक्तिलाई प्रहरीले सोमबार कारागार पठाएको थियो । तर, कारागार व्यवस्थापनले बन्दीको तीन दिनभित्रको पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाण चाहिने भन्दै राख्न नमानेको हो ।

पूर्वी नवलपरासीका एसपी प्रकाश मल्ल कारागारमा पठाइने व्यक्तिलाई कारागारले नै छुट्टै कोठामा राखेर पीसीआर परीक्षण गर्नुपर्ने बताउँछन् । ‘प्रहरीले अभियुक्त समात्ने कि स्वास्थ्य कार्यालयको जिम्मेवारीभित्र पर्ने पीसीआर जाँच गराउँदै हिँडने ?,’ उनले भने ।

आइतबारयता चितवन कारागारले लागुऔषध मुद्दाका दुई तथा पश्चिम नवलपरासीले लागुऔषध र जबरजस्ती करणी मुद्दाका दुई अभियुक्त फिर्ता पठाइसकेका छन् ।

साबिक नवलपरासी दुई जिल्लामा विभाजन भएपछि पूर्वी नवलपरासीमा कारागार नभएका कारण यहाँका कैदीबन्दीलाई पश्चिम नवलपरासी र चितवन कारागार पठाउनुपर्ने बाध्यता छ । कैदीबन्दीको पीसीआर परीक्षण गराउने जिम्मा कारागार, प्रहरीको वा स्वास्थ्य कार्यालयको भन्ने स्पष्ट निर्देशन नहुँदा अन्योलमा परेको एसपी मल्लको भनाइ छ । अदालतबाट सजाय तोकिएका र पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रजहरमा छुट्टै आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।

कारागार व्यवस्था विभागका महानिर्देशक द्रोण पोख्रेल भने थुनुवा पठाउने निकायले नै पीसीआर परीक्षण गराएर रिपोर्टसहित पठाउन पर्ने दाबी गर्छन् । ‘यस्ता कुरामा जिल्लामा सीडीओहरूले समन्वय गर्छन्,’ उनले भने, ‘कारागारमा आइसोलेसन छैन । पीसीआर नगरी पठाउँदा त संक्रमण फैलिने जोखिम बढ्छ ।’

प्रकाशित : कार्तिक ४, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?