१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

डन्डामा पीसीआर मेसिन

कान्तिपुर संवाददाता

नवलपरासी — गण्डकी प्रदेशको राजधानी पोखराबाहिर पहिलोपल्ट पूर्वी नवलपरासीमा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन सञ्चालनमा आउने भएको छ । चीन सरकारको सहयोगमा प्राप्त उक्त मेसिन डन्डास्थित जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो ।

यसअघि प्रदेशमा पोखरामा दुई सरकारी र एक निजी प्रयोगशालामा मात्रै कोरोना परीक्षण हुँदै आएको थियो । पूर्वी नवलपरासीबाट पठाइएको स्वाबको रिपोर्ट आउन एक सातासम्म लाग्थ्यो । जिल्ला अस्पतालमा पीसीआर परीक्षण सुरु हुने भएपछि झन्डै एक सय ८० किलोमिटर टाढा स्वाब पठाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

संघीय सांसद तिलक महतले मेसिन हस्तान्तरण गर्दै परीक्षणको दायरा बढाउन सकिने बताए । जिल्ला अस्पतालमै १० शय्याको आईसीयू र भेन्टिलेटर राख्न आफूले पहल गरिरहेको र बजेट निकासा भइसकेको उनले जानकारी दिए ।

स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंले पीसीआर मेसिन जडान गरेपछि सञ्चालनका लागि माइक्रो भाइरोलोजिस्ट (पीसीआर ल्याब विज्ञ) ल्याएर जिल्लाको प्रयोगशालामा काम गर्नेलाई सिकाइने र स्वाब परीक्षणको नजिता सार्वजनिक गर्ने तयारी भएको बताए । उनका अनुसार पीसीआर मेसिन २४ घण्टा सञ्चालन गर्न कम्तीमा १५ देखि २० जना दक्ष जनशक्ति आवश्यक पर्छ । २४ घण्टा मेसिन सञ्चालन गर्न सके दिनमा ४ सय नमुनाको रिपोर्ट निकाल्न सकिने उनको दाबी छ ।

पूर्वी नवलपरासीमा शल्यक्रिया गर्ने अस्पताल नभएका कारण यहाँका बिरामी चितवन रेफर हुँदै आएका छन् । जिल्लामा शनिबारसम्म १ हजार ३ सय जना कोरोना संक्रमित भइसकेका छन् । कोरोनाकै कारण १२ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : कार्तिक १, २०७७ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?