कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बागलुङको कालिका मन्दिर सुनसान

प्रकाश बराल

बागलुङ — गृह मन्त्रालयको निर्देशन भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले मठमन्दिरमा निशेधाज्ञा लगाएपछि घटस्थापनाको दिन बागलुङ कालिका मन्दिर सुनसान भएको छ ।

बागलुङको कालिका मन्दिर सुनसान

कोरोना संक्रमण समुदाय स्तरमा पुगेको भन्दै प्रशासनले शनिबारदेखि लागू हुने गरी दसैंको अष्टमीसम्म मठमन्दिरमा निशेधाज्ञा लगाएको छ । अन्यत्र भने निशेधाज्ञा लगाइएको छैन । बजार क्षेत्रमा नियमित सवारी, पसल र व्यवसाय सञ्चालनमा छ ।

लकडाउन खुकुलो भएपछि मन्दिरमा दैनिक पूजापाठ सञ्चालनमा थियो । दसैंकालागि सरसफाइ, पूजा व्यस्थापन र दूरी कायम गरेर पूजा गराउने तयारी गरिसकेपछि निशेधाज्ञा लगाइएको हो । प्रशासनले शुक्रबार बेलुकी जारी गरेको निशेधाज्ञा कालिका मन्दिरलाई लक्षित गरिएको एक पूजारीले बताए ।

मन्दिरमा सयौं मानिसले पूजा गर्थे भने दर्जनौं बली चढाइन्थ्यो । मन्दिरमा छिमेकी जिल्ला र चितवन, पोखरा लगायतका स्थानबाट समेत भक्तजन आउथे । घण्टौं लाइन बसेर मात्र पूजा गर्न सकिने अवस्था भएको स्थानमा पहिलो पटक सुनसान देखेको बागलुङ उद्योग वाणिज्य संघका सदस्य गणेश लम्सालले बताए ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिसँग सामान्य सोधपुछ पनि नगरी मन्दिर लक्षित निशेधाज्ञा लगाइएको अध्यक्ष राजु खड्काले बताए । ‘हिजो तयारी गरेर गयौं, बिहान मन्दिर आउँदा गेटमा बार लगाइएको छ, प्रहरी र सशस्त्र लगाएर रोकिएको छ,’ खड्काले भने, ‘सयौं मानिस गेटमा आएर ल्याएको फूल प्रसाद चढाएर फर्केका छन् ।’ मन्दिर आसपासका पसल समेत बन्द गराइएको उनले बताए ।


मन्दिरमा पूजाका लागि आएकी पर्वतको पाङकी यमुना सुवेदीले मन्दिरको गेटमै रोकिएपछि फूल प्रसाद छाडेर फर्केको बताइन् । ‘वर्षौंदेखि मन्दिरमा दर्शनका लागि आउने गरेकी थिएँ,’ उनले भनिन्, ‘पहिलो पटक मन्दिर जान नपाएर फर्कन बाध्य भएँ ।’ शुक्रबारसम्म नियमित भक्तजन गएकोमा शनिबारबाटै बन्द गर्दा अस्थामा चोट लागेको उनले टिप्पणी गरिन् ।

दसैं र चैते दसैंमा बागलुङ कालिका मन्दिरमा सयौं भक्तजन आउने गर्छन् । अघिल्लो वर्षको दसैंमा ६ लाख वटा नरिवल चढेको समितिले रेकर्ड राखेको थियो । ‘सबैले चढाएनन्, कोही दोहोरिएर आए होला, तर १५ दिनमा ६ लाख भक्तजन आएको अनुमान गरेका थियौं,’ खड्काले भने, ‘भेटी व्यवस्थाबाट संरचना सुधार पनि गरिएको छ ।’ मन्दिर आसपासमा झण्डै १० करोडको संरचना बनाइएको उनले बताए । अधिकांश लगानी भेटीबाटै भएको हो ।

मन्दिरमा नियमित पूजा, घटस्थापना र जमरा राख्‍ने काम भने गरिने पूजारी गोपीनाथ उपाध्यायले बताए । ‘पाँचसय वर्षदेखि गरिएको संस्कार त हामीले छाड्ने कुरा भएन,’ उपाध्यायले भने, ‘आम मानिसको आस्था मर्न नदिनका लागि सबैको प्रतिनिधित्व गरेर पूजा गरेका छौं ।’ गेटमा चढाइएका फूल प्रसादपनि मन्दिरमा ल्याउने व्यवस्था गरिएको उनले बताए ।

प्रकाशित : कार्तिक १, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?