घान्द्रुकबासीको निर्णय– टीका थाप्न बाहिर नजाने, अरूलाई पनि आउन नदिने

लालप्रसाद शर्मा

पोखरा — गत चैतमा सरकारले लकडाउन गरेदेखि नै बाहिरी व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाएका घान्द्रुकबासीले दसैंतिहारजस्ता चाडपर्व घरमै मात्र मनाउने निर्णय गरेका छन् । घान्द्रुक पर्यटन समितिको बिहीबारको बैठकले आफूहरू टीका थाप्न बाहिर नजाने र बाहिरबाट पनि कसैलाई नआउन भनेको हो ।

घान्द्रुकबासीको निर्णय– टीका थाप्न बाहिर नजाने, अरूलाई पनि आउन नदिने

‘हामी मावली, ससुराली पनि टीका थाप्न नजाने,’ समितिका अध्यक्ष किसम गुरुङले भने, ‘भान्जाभान्जी, छोरीज्वाइँ कसैलाई पनि नआउन भनिएको छ ।’ बिरामी र अन्य अत्यावश्यक कामबाहेक पोखरासमेत नजाने बैठकको निर्णय छ । अध्यक्ष गुरुङका अनुसार समितिको निर्णयलाई घान्द्रुकका सबै टोलमा पुगेर जानकारी गराउने अभियान थालिसकिएको छ । बिहीबारमात्रै दुई टोलमा यो अभियान सकिएको छ । ‘घान्द्रुकमा अहिलेसम्म कोरोना छैन,’ उनले भने, ‘बाहिरी व्यक्ति (आफन्त र इष्टमित्रसमेत) लाई प्रवेश दिइयो भने फैलने डर भयो । त्यसैले रोक लगाउन यस्तो निर्णय गरेका हौं ।’

स्थानीय व्यवसायी कृष्ण गुरुङका अनुसार दसैंका बेला आफन्तलाई पनि नबोलाउने निर्णय भएको छ । ‘आफन्तबाट पनि कोरोना गाउँमा भित्रिन सक्ने अवस्था रह्यो,’ उनले भने, ‘यसअघिको गाउँमा कसैलाई पनि प्रवेश गर्न नदिने निर्णयलाई निरन्तरता दिएर यस्तो अभियानमा लागेका हौं ।’ साबिकको घान्द्रुक गाविस अहिले अन्नपूर्ण गाउँपालिकाको १० र ११ नम्बर वडामा पर्छ ।

कोरोना संक्रमण कम नभएको भन्दै असोज पहिलो दिनदेखि नै होटल नखोल्ने निर्णय पर्यटन व्यवसायीले गरेका थिए । उक्त निर्णयलाई बिहीबारको बैठकले पनि अनिश्चित कालसम्मलाई निरन्तरता दिएको छ । कोरोनाको महामारी नसकिएको र तत्काल होटल र होमस्टे सञ्चालन गर्दा गाउँमा कोरोना भित्रन सक्ने सम्भावना देखिएको समिति अध्यक्ष गुरुङले बताए । पैसाभन्दा पनि ज्यान ठूलो भएकाले सबै व्यवसायीको ठहरपछि होटल सञ्चालनमा नल्याउने निर्णय गरिएको उनको भनाइ छ । भोलि कोरोना कम भएको महसुस भएमात्रै होटल, रेस्टुरेन्ट खोल्ने उनले जनाए ।

पदयात्रा पर्यटनका लागि उपयुक्त अन्नपूर्ण आधार शिविर, घोरेपानी–पुनहिल पुग्न घान्द्रुक हुँदै जानुपर्छ । स्याउलीबजारदेखि मुख्य गाउँ घान्द्रुकसम्मका पाँच दर्जन होटल र केही होमस्टे सञ्चालनमा थिए । गाउँ प्रवेश गर्ने नाका सादीखोलामा स्थानीय युवा क्लबका सदस्य राखेर दैनिक निगरानी हुने गरेको छ । बाहिरबाट जानेलाई ती युवाले रोकिदिन्छन् । ‘दैनिक ३/४ युवा सीमामा खटिन्छन्,’ व्यवसायी कृष्ण गुरुङले भने, ‘यो अरू केही नभएर कोरोनाबाट गाउँ जोगाउने उद्देश्य मात्र हो ।’

प्रकाशित : आश्विन ३०, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?