३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नक्कली सुकुम्बासी आयोग बनाएर ठगी

जमिन दिलाइदिने भन्दै २३ जनाबाट ७ हजारका दरले उठाउने गिरोहका ८ जना पक्राउ
दीपक परियार

पोखरा — सुकुम्बासी आयोगमार्फत जग्गा दिलाइदिने प्रलोभन देखाएर ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । ‘अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोग’ को नाममा कार्यालय नै खडा गरेर रकम असुल्ने ८ जना पोखराबाट पक्राउ परेका हुन् । 

नक्कली सुकुम्बासी आयोग बनाएर ठगी

नक्कली आयोग बनाएर ठगी भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले आइतबार ५ र सोमबार ३ जनालाई पक्राउ गरेको हो । गिरोहका मुख्य नाइके कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङ घर भई हाल पोखरा मालेपाटन बस्ने हिराबहादुर तामाङ हुन् । उनी यसअघि पनि ज्यान मार्ने उद्योगमा ४ वर्ष कास्की कारागारमा सजाय भुक्तान गरी निस्किएका थिए । उनीसहित हाल पोखरा–१४ बस्ने म्याग्दीका रमेशकुमार परियार, रुपन्देहीका ओमबहादुर सुनार, सिन्धुपाल्चोककी रिता विश्वकर्मा र पोखरा–१७ की सोनु परियार आइतबार पक्राउ परेका हुन् । सोमबार पक्राउ पर्नेमा पोखरा–१३ का सीता सुनार, हर्कबहादुर विक, र मौसम सदाशंकर छन् ।

प्रहरीका अनुसार उनीहरुले देवी ज्ञवाली अध्यक्ष रहेको भूमि समस्या समाधान आयोगको प्रदेश कार्यसमितिका रुपमा आफूलाई चिनाएका थिए । पोखरा–१४ भोटेचौतारामा रहेको ३ सय रोपनी जग्गा दिलाइदिने र घर समेत बनाउने प्रलोभनमा पारेर स्थानीयलाई विश्वास दिलाए । ‘नेपाल सरकार, अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोग काठमाडौं’ लेखिएको लेटरप्याडमा असोज २२ मा गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र प्रहरीले फेला पारेको छ । उक्त पत्रमा आठै जनालाई प्रदेश समितिमा चयन गरिएको व्यहोरा छ । पत्रमा अध्यक्ष देवी ज्ञवालीको नाम र हस्ताक्षर छ । ज्ञवाली अध्यक्ष रहेको आयोगसँग नाम नमिलेकोले उक्त पत्र नै नक्कली भएको र ज्ञवालीको हस्ताक्षर समेत किर्ते गरिएको भेटिएको कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

हाल उनीहरुले २३ जनाबाट ७ हजार रुपैयाँको दरले उठाएको पाइएको छ । उक्त जग्गामा तत्काल अमिन लगेर फिल्डमा नापजाँच गर्ने भन्दै उनीहरुले रकम असुलेका थिए । प्रहरीले उनीहरुको साथबाट विभिन्न मितिमा बैठक बसी निर्णय गरिएको रजिस्टर, नगद उठाएको रजिस्टर, नगदी रसिद प्याड, नगद उठाएको रसिद प्याडको अर्धकट्टी, १९ थान नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिको पासपोर्ट साइजको फोटो बरामद गरेको छ ।

उनीहरुलाई ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी श्रेष्ठले बताए । ‘स्थानीयलाई भ्रममा पार्ने, झुक्याउने र त्यसबाट फाइदा लिने नियतले काम गरेको देखिन्छ,’ उनले भने, ‘गिरोहमा अन्यको पनि संलग्नता देखिएको छ । खोजी गर्दैछौं ।’

प्रकाशित : आश्विन २७, २०७७ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?