कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कृषि विधेयक पारित गर्दै गण्डकी प्रदेशको बर्खे अधिवेशन अन्त्य

६२ वटा बैठकसहित १४ वटा विधेयक पारित भए
प्रतीक्षा काफ्ले

गण्डकी — कृषि व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्दै गण्डकी प्रदेशसभाको छैठौं (बर्खे) अधिवेशन अन्त्य भएको छ ।

कृषि विधेयक पारित गर्दै गण्डकी प्रदेशको बर्खे अधिवेशन अन्त्य

सभामुख नेत्रनाथ अधिकारीले प्रदेशप्रमुख अमिक शेरचनले पठाएको पत्र पढेर सुनाउँदै बर्खे अधिवेशन अन्त्य भएको घोषण गरेका हुन् ।

छैठौं अधिवेशनले १४ वटा विधेयक पारित गरेको छ भने ६२ वटा बैठक सम्पन्न गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानले जानकारी दिए ।प्रदेशसभाको चालू अधिवेशन जेठ ११ गते सुरु भएको थियो । कोरोना महामारीसँगै नदीपुरस्थित प्रदेशसभाको हल साँघुरो हुने भएकाले पोखरा सभागृहमा संसद बैठक बस्दै आएको छ ।विभिन्न माग राख्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद अवरुद्ध गरेपनि सरकार र प्रतिपक्ष दलबीच सहमति भएपछि भने संसद निरन्तर चल्यो ।

संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख प्रतिपक्ष दल बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताए । उनले गण्डकी विश्वविद्यालय लगायत कुनै पनि सरकारले नियुक्ति गर्ने व्यक्ति कुनै पार्टीका झोले नरहेको प्रष्टाएका थिए । उनले मेरो र तेरो नभनी सबै पार्टी र दललाई मिलाएर सँगसँगै काम गर्दै आएको दाबी गरे ।

प्रमुख प्रतिपक्ष कांग्रेसको संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकारले कोरोना केन्द्रित बजेट नल्याएको बताए । उनले सत्तारुढ दल नेकपा जति कमजोर भए उति नै कांग्रेसलाई फाइदा हुने भन्दै निर्वाचनको पर्खाइमा रहेको बताए ।

यसैगरी, सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी विश्वविद्यालयमा आवश्यक कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । उपकुलपति नियुक्तिसँगै काम अगाडि बढाउनुपर्ने भएकाले हालका लागि ९८ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

गण्डकी विश्वविद्यालयलाई शिक्षक तथा कर्मचारी नियमावली, संगठन र शैक्षिक प्रशासन नियमावली र आर्थिक प्रशासन नियमावली बनाउन स्वीकृति प्रदान गरिएको प्रवक्ता बस्नेतले बताए । हालैमात्र प्रदेश मातहत आएको लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन आदेश सोमबारको बैठकले स्वीकृत गरेको छ । ७ सदस्यीय समिति रहने र अध्यक्ष प्रदेश सरकारले तोक्ने गरी गठन आदेश पारित भएको उनले बताए ।

प्रकाशित : आश्विन २६, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?