बागलुङमा ३० सैनिकमा काेराेना पुष्टि

प्रकाश बराल

बागलुङ — ३० जना सैनिकसहित बागलुङमा एकैदिन ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणबाट बागलुङस्थित नेपाली सेनाको २३ नम्बर बाहिनीमा कार्यरत ३० जना सैनिकमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये २९ पुरुष र एक महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिए । 

बागलुङमा ३० सैनिकमा काेराेना पुष्टि

जिल्ला प्रहरी कार्यालयका दुई पुरुष, उच्च अदालत बागलुङ इजलासका २ कर्मचारी र १ जना थुनुवामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । चार दिनअघि सेनाका २८ जनामा एकैपटक कोरोना संक्रमण देखिएको थियो । तित्याङस्थित तामाखानीमा काम गर्ने मजदुरमा कोरोना देखिएपछि सुरक्षार्थ गएका सैनिकको स्वाब परीक्षण गरिएको थियो । उनीहरुमा संक्रमण देखिएपछि सेनाको ब्यारेकमा परीक्षण थालिएको थियो । अहिलेसम्म सैनिक ब्यारेकमा मात्रै ६० बढीमा संक्रमण देखिएको हो ।

सैनिकहरुमा धेरै संक्रमण देखिएपछि २३ नम्बर बाहिनीमै ८० बेडको आइसोलेसन बनाइएको छ । ‘अस्पताल वा अन्य स्थानमा लैजानुभन्दा यही सुरक्षित बेड बनाएर राखेका छौं’ एक सैनिक अधिकारीले भने, ‘समुदायमा नपुगोस् भनेर उच्च सर्तकता पनि अपनाएका छौं ।’

प्रहरीमा यसअघि एक निरीक्षकलाई कोरोना संक्रमण देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य दुई जनामा कोरोना पुष्टि भएको हो । प्रहरीका संक्रमित भने अस्पतालको आइसोलेसन जानेछन् । बागलुङ नगरपालिकाकै एक जनप्रतिनिधि र अर्का एक होटल व्यवसायीमा पनि संक्रमण पुष्टि भएको हो ।

अहिलेसम्म जिल्लामा ५ सय २५ जनामा कोरोना संक्रमण भइसकेको छ । तीमध्ये ३ सय ६७ जना निको भएका छन् । अझै १ सय ५७ जना आइसोलेसनमा रहेका छन् । संक्रमणको दर बढेपछि जिल्लाका दशवटै पालिकाले १०/१० वटा आइसोलेसन थप गरेका छन् । अहिलेसम्म जिल्लामा २ सय २० बेडको आइसोलेसन बनेको थियो ।

प्रकाशित : आश्विन २५, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?