कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

घोप्टेखोलामा बेलिब्रिज बनेसँगै मनाङमा दुई महिनापछि गाडी

आश गुरुङ

लमजुङ — बेंसीसहर–चामे सडकअन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, ताघ्रिङको घोप्टेखोलामा बेलिब्रिज बनेको छ । सडक बनेको करिब १४ वर्षपछि निर्माण गरिएको बेलिब्रिजले हिमाली जिल्ला मनाङ आउजाउमा सहज भएको छ । 

घोप्टेखोलामा बेलिब्रिज बनेसँगै मनाङमा दुई महिनापछि गाडी

नेपाली सेनाले सडक निर्माण गरिरहँदा उत्तरी लमजुङको ताघ्रिङ क्षेत्रमा २०६३ मा मोटरबाटो पुगेको थियो । बेंसीसहरबाट करिब १९ किलोमिटर दूरीको घोप्टेखोलामा गत साउन २२ मा बाढीले बाटै बगाएपछि आउजाउमा समस्या थियो ।

स्थानीय बासिन्दा भर्‍याङ र फड्के राखेर जोखिमपूर्ण तरिकाले आरपार गर्थे । मोटरसाइकल पार गर्न जनप्रतिनिधिको पहलमा भदौ पहिलो साता बनेको फलामे पुल पनि बाढीले बगाएको थियो । वडाध्यक्ष सुमन गुरुङका अनुसार मुख्यमन्त्री, नेता, कर्मचारीलाई गुहारेपछि भदौ ७ बाट बेलिब्रिज निर्माण सुरु गरिएको थियो । निर्माण सकिएर शुक्रबारबाट सवारी आवागमन सुरु भएको छ ।

डुम्रे–बेंसीसहर–चामे सडक योजनाका सब–इन्जिनियर सुमन अधिकारीका अनुसार ४० टन भार थेग्ने गरी बेलिब्रिज निर्माण गरिएको छ । यसको लम्बाइ २७ मिटर र चौडाइ ४ दशमलव २० मिटर छ । ‘अब लमजुङबाट मनाङसम्म पुग्न कुनै अवरोध छैन, उनले भने, ‘बर्खायाममा भेलबाढी आए पनि समस्या छैन ।’

सडक योजनाका प्रमुख सिनियर डिभिजन इन्जिनियर अमितकुमार श्रेष्ठका अनुसार बेलिब्रिज निर्माण गर्न डिभिजन सडक कार्यालय दमौलीले स्टिल पार्ट्स सहयोग गरेको थियो । ढुवानी र फिटिङ डुम्रे–बेंसीसहर–चामे सडक योजनाले गरेको उनले बताए । ‘कुल इस्टिमेट ३२ लाखको हो । बीचमा केही सामान बाढीपहिरोले बगायो । केही पुरिए । केही बिग्रिए । तैपनि यो रकम पूरै खर्च हुँदैन,’ उनले भने । उनका अनुसार पुल बनेपछि दसैंतिहारमा यात्रा गर्नेलाई सहज भएको छ । ‘२ महिनासम्म सवारी साधन लमजुङ–मनाङ आउजाउ गर्न पाएनन् । मानिस पनि जोखिमले वारपार गरे । बेलिब्रिज बनेपछि सहज भयो । यो ठाउँमा अब बर्खायाममा पनि समस्या नहोला,’ उनले भने ।

नेपाली सेनाले निर्माण गरेको बेंसीसहर–चामे सडक सात वर्षअघि २०६९ मा सरकारलाई हस्तान्तरण गरिसकिएको छ । डिभिजन सडक कार्यालयमार्फत बर्सेनि मर्मत हुँदै आए पनि यस वर्षदेखि छुट्टै योजनाको कार्यालय स्थापना गरेर काम थालिएको छ । २०७२ को भूकम्पले थिलथिलो बनाएपछि उक्त क्षेत्रमा बर्सेनि बर्खामा पहिरो जाने गरेको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ बताउँछन् । सडक बनाउँदा अत्यधिक विस्फोटक र डोजर प्रयोगले पनि उक्त क्षेत्रमा पानी पर्नेबित्तिकै पहिरो जाने गरेको उनको भनाइ छ ।

बेंसीसहर–चामे सडकको बेंसीसहरदेखि म्यार्दीसम्म (लमजुङ खण्ड) ३५ किलोमिटर र म्यार्दीदेखि चामेसम्म (मनाङ खण्ड) ३० किलोमिटर छ । मनाङ खण्डको म्यार्दीदेखि तालडाँडा, सिरानताल, धारापानी क्षेत्रमा बर्सेनि पहिरो खस्छ । लमजुङतर्फ च्याम्चे, स्याँगे, काप्रेभीर, अर्खले, खुदी–भुलभुले साथै बेंसीसहरनजिकैको उतिसघारी खरखरे, बेलौती बिसौना क्षेत्रमा पहिरो खस्ने गर्छ । नेपाली सेनाले १९ वर्ष लगाएर ट्य्राक खोलेको उक्त सडक सडक विभागले आर्थिक वर्ष २०५१/०५२ देखि निर्माण सुरु गरेको थियो ।

प्रकाशित : आश्विन २४, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?