३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बेंसीसहरमा कर कार्यालय

आश गुरुङ

लमजुङ — दूधपोखरी गाउँपालिका-२ बिचौरका अनिल दवाडी स्थायी लेखा नम्बर लिन दमौली जाने भन्दै आधा दिन लगाएर बेंसीसहर आए । बुधबार आएका उनले बिहीबारबाट बेंसीसहरमै कर कार्यालयले करसम्बन्धी सेवा दिने जानकारी पाए ।

बेंसीसहरमा कर कार्यालय

कार्यालय समयमै भीमसेनस्थानस्थित करदाता सेवा कार्यालय पुगेका उनले केही बेरमै बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल र आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत सूर्यप्रसाद सेढाइाको हातबाट आफ्नो फर्मको प्यानकार्ड पाए ।

‘म दमौली जाने भनेर आएको हुँ । बेंसीसहरमै कर कार्यालय खुल्दैछ भनेपछि यहिँ रोकिएँ । बिचौरबाट यहाँ आउन खर्च त भयो । तर, यहाँबाट दमौली जान, लाइनमा उभिएर भीडभाडमा सेवा लिन, आउन लाग्ने खर्च र समय बच्यो,’ उनले भने । उनका अनुसार आफ्नै घरआँगनमा कर कार्यालय खुलेपछि नागरिकले सहजै सेवा पाए ।

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाका अनुसार यसअघि व्यवसायी करको कामका लागि पहिले पोखरा र त्यसपछि दमौली जान बाध्य थिए । ‘कर कार्यालय लमजुङमै हुनुपर्छ भन्ने हाम्रो माग हो । हाम्रो माग पूरा भएको छ,’ उनले भने, ‘अब करकै कामको लागि व्यवसायीले हैरानी व्यहोर्नु परेन ।’

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालका अनुसार कार्यालय स्थापना गर्नेमात्रै नभई नागरिकको सेवामा समर्पित भएर सेवा दिनुपर्ने बताए । ‘हिजो पोखरा जाँदा, दमौली जाँदा लाइनका लाइन बस्नुपर्ने । कहिलकाहीं कर्मचारीले दु:ख दिएको गुनासो आउँथ्यो । प्रक्रिया पद्धति नबुझ्दा फर्केर आएर फेरि जानु पर्थ्यो । अब त यहीं भएपछि सहज भयो,’ उनले भने, ‘कर्मचारीले मुस्कानसहित सेवा दिन आवश्यक छ ।’

करदाता सेवा कार्यालय बेंसीसहरका कर अधिकृत सुशिल लम्सालका अनुसार कार्यालयबाट करदाताले स्थायी लेखा नम्बर लिन, अन्त शुल्क इजाजत पत्र लिन, कर तिर्न, करचुक्ता प्रमाणपत्र लिन सकिन्छ । लमजुङमा ८ हजार २ सय ९० करदाता र मनाङमा ५ सय ९७ करदाता छन् । कार्यालयले ८ हजार ८ सय ८७ करदातालाई सेवा दिने उनले बताए ।

आन्तरिक राजस्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत सूर्यप्रसाद सेढाइँका अनुसार लमजुङ र मनाङका नागरिकले कर तिर्नको लागि धेरै समस्या भोग्नुपरेको गुनासो आएपछि बेंसीसहरमा करदाता सेवा कार्यालय स्थापना गरिएको हो । गोरखामा पनि करदाता कार्यालय स्थापना गरिएको बताए ।

प्रकाशित : आश्विन २२, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?