कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

६ वर्षमा पनि बनेन पुल

प्रतीक्षा काफ्ले

स्याङ्जा — वारिपारि पिल्लर ठड्याइएको छ । पिल्लरका रडमा खिया लागिसकेको छ । निर्माण सामग्री असरल्ल छन् । समयमै काम भएको भए ४ वर्षअघि नै पक्की पुल बनिसक्थ्यो । तर, आँधीखोला गाउँपालिका–५ सेतीदोभानका स्थानीय जोखिम मोलेरै खोला तर्न बाध्य छन् ।

६ वर्षमा पनि बनेन पुल

नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुबारी जान छोटो सडकखण्डमा पर्ने पुल निर्माणका लागि २०७१ असोज २६ मा सम्झौता भएको थियो । अहिलेसम्म ३० प्रतिशत काम पनि सकिएको छैन । प्राविधिक र निर्माण कम्पनीको लापरबाहीका कारण पुल अलपत्र परेको आँधीखोला–१ पञ्चमूलका लालकुमार अधिकारी बताउँछन् । ‘पुल नहुँदा सास्ती बेहोर्दै आएका छौं,’ उनले भने, ‘बर्खाका चार महिना खोला वारपार गर्नर् ैसकिँदैन । कि त बनाउन सकिँदैन भनेर हात झिक्नुपर्‍यो कि निर्माण थाल्नुपर्‍यो ।’

सम्झौताअनुसार कान्छाराम–अशेष जेभीले २०७३ असोज २५ मा पुल हस्तान्तरण गरिसक्नुपर्थ्यो । उक्त पुलको लम्बाइ ५० र चौडाइ ७ मिटर छ । स्थानीय थमनारायण ढकालका अनुसार निर्माण व्यवसायीले सम्झौताविपरीत काम गरेको भन्दै प्राविधिकले भत्काइदिएका थिए । ‘ठेकेदार र प्राविधिकबीच तालमेल नमिलेको हो या तालमेलमै षड्यन्त्र गरिएको हो, बुझ्न सकिएन,’ उनले भने । सम्झौता कान्छारामले गरे पनि निर्माणको जिम्मा अर्कै ठेकेदारले लिएको स्थानीयको भनाइ छ ।

पुलको लागत ३ करोड २७ लाख तोकिएको छ । निर्माण कम्पनीले १ करोड ४५ लाख रुपैया भुक्तानी लगिसकेको छ । सम्झौताअनुरूप काम नभएकाले पुलको पुनः मूल्यांकन गर्न समय लागेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । कार्यालयका अनुसार तोकिएको समयमा काम नभएर वर्षातमा पानीको सतह माथि आउने भएकाले स्ट्रक्चर परिवर्तन गर्नुपरेको छ ।


ठेकेदार ऋषिराम गौतम हिउँद लागेसँगै काम सुरु गर्ने बताउँछन् । ‘प्राविधिकले डिजाइन गलत दिएका थिए । पटकपटक फरकफरक डिजाइन दिने अनि हामीले सोही अनुसार काम गर्दा भएन भन्दै भत्काउने गरे । तीन वर्षपछि डिजाइन चेन्ज गर्दा समस्या भएको हो ।’ पुलको बीचमा पिल्लर छैन । डिजाइनमै पिल्लर नभएकाले काम गर्न नसकिएको उनले बताए ।

सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर सुनीलबाबु पन्तले कम्पनीले डिजाइनको बहाना बनाउँदै निर्माणमा ध्यान नदिएको बताए । ‘अलिकति काम गरेर सिधै ढलान गर्न आँट्यो । हामीले अधुरो काम गर्न हुँदैन भनेर रोक्यौं,’ उनले भने, ‘उसले प्राविधिक कुरामा ध्यान दिएन । हामीले यसरी गर्न हुँदैन भन्दा काम गर्न सक्दिनँ भन्यो । दोस्रो व्यक्तिले काम गरेको भएर अलपत्र परेको हो ।’

प्रकाशित : आश्विन १९, २०७७ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?