बागलुङ–पर्वत जोड्ने झोलुंगे पुलमा आन्तरिक पर्यटकको चहलपहल

प्रकाश बराल

बागलुङ — निषेधाज्ञा खुकुलो भएसँगै बागलुङ–पर्वत जोड्ने झोलुंगे पुलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लकडाउनको समयमा निर्माण सम्पन्न भएको पुल तत्काललाई सर्वसाधारणका लागि खुला थिएन ।

बागलुङ–पर्वत जोड्ने झोलुंगे पुलमा आन्तरिक पर्यटकको चहलपहल

लकडाउन आंशिक खुला भए पनि बागलुङमा भदौभर निषेधाज्ञा थियो । तर, असोज १ बाट सार्वजनिक यातायात पनि खुला भएपछि यो पुलमा पर्यटक बढेका छन् ।

बागलुङ नगरपालिकाको रामरेखादेखि छिमेकी पर्वत जिल्लाको पाङ जोड्ने यो पुल ५ सय ६७ मिटर लामो छ । यो सिंगल स्पाम पुल कालिगण्डकी नदीदेखि १ सय ६५ मिटर उचाइमा बनेको छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले संसारमै यति लामो झोलुंगे पुल अन्त नभएको बताए । यो पुलले डेढ घण्टाको बाटोलाई १० मिनेटमा छोट्ट्याइदिएको छ । ‘हामीले संसारकै लामो झोलुंगे पुल भनेका छौं, गिनिज बुकमा नाम लेखाउन पहल भएको छ,’ पौडेलले भने, ‘सामान्य विधिबाट नभएपछि चीनबाट ल्याएका मेसिनले पुलको लट्ठा तानेर बनायौं ।’


१० करोड लागतको यो पुल थानी, बिएलटी, हिमशिखर संयुक्त निर्माण कम्पनीले बनाएको हो । यो पुलबाट धौलागिरि हिमाल, कालीगण्डकी नदी, पोखरा–बागलुङ तथा मालढुगा–बेनी सडकको दृश्यावलोकन गर्न सकिन्छ । पूर्वदक्षिणमा बागलुङ कालिका मन्दिर छ । पुल हेर्न विभिन्न जिल्लाबाट पर्यटक आउन थालेका हुन् ।

प्रकाशित : आश्विन १८, २०७७ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?