हाजिर भएको २ सातामै सरुवा

धौलागिरि अस्पतालमा पठाइएकी स्त्रीरोग विशेषज्ञलाई दुई सातामै पोखरा सरुवा गरिएको छ ।
प्रकाश बराल

बागलुङ — स्वास्थ्य मन्त्रालयको भदौ १५ को सचिवस्तरीय निर्णयले स्त्रीरोग विशेषज्ञ डा. निशा खरेललाई धौलागिरि अस्पतालमा सरुवा गर्‍यो । विशेषज्ञका रूपमा उनी पहिलो पटक नियुक्त भएकी हुन् ।

हाजिर भएको २ सातामै सरुवा

उनी अस्पताल हाजिर हुन आइसकेकी थिइनन् । भदौ २५ मा फेरि मन्त्रालयको सचिवस्तरीय बैठकले उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरुवा गर्‍यो । पोखरा सरुवा भए पनि खरेल असोज १ मा धौलागिरि अस्पतालमा हाजिर हुन आइन् । एक महिनादेखि स्त्रीरोग विशेषज्ञ खाली भएकाले अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नै उनलाई लिन गए । क्वार्टरको पनि राम्रै व्यवस्थापन भयो ।

अस्पतालमा असोज १ मा उनको नियुक्ति ५१ नम्बरमा दर्ता भयो । हाजिर गरेको छैटौं दिन (असोज ६) मा मन्त्रालयले भदौ २५ को पत्र पठाएर पोखरा सरुवा भएको जानकारी गरायो । खरेल बुधबार अस्पतालमा हाजिर गरी पोखरा गइसकेकी छन् । उनलाई सरुवा गर्दाका दुवै पत्रमा एउटै व्यहोरा ‘मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता भएको प्रमाणपत्र प्राप्त भएपछि सोहीअनुसार हुने गरी’ लेखिएको छ । सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार अध्ययनपूर्व भएको कबुलियतनामा अनुसार उनलाई धौलागिरि अस्पताल पदस्थापन गरिएको मन्त्रालयको पत्रमा छ ।

अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले दुर्गमको अस्पताल भनेर मन्त्रालयले गम्भीर लापरबाही गरेको आरोप लगाए । ‘विशेषज्ञ अस्पतालमा भएका २ जनाको दरबन्दी पनि कहिल्यै पूरा हुन पाएन,’ शर्माले भने, ‘हामी प्रादेशिक अस्पतालको बाटोमा छौं, मन्त्रालयले स्वास्थ्यचौकीझैं हेप्यो ।’ संघीय सरकारको नीति तथा कार्यक्रममा बागलुङमै २ सय शय्याको अस्पताल बनाउने उल्लेख छ । हाल यहाँ ५० शय्या छन् । दुई सय शय्या चलाउन दोब्बर जनशक्ति आवश्यक पर्नेमा भएको समेत फिर्ता लगेकोमा उनले गुनासो गरे ।

अस्पतालमा अब डा. श्रीना श्रेष्ठमात्रै स्त्रीरोग विशेषज्ञ छिन् । दैनिक ४ जनासम्म शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने र विशेषज्ञ नभएपछि जटिल अवस्थाका बिरामीलाई पोखरा रेफर गर्नुपर्ने बाध्यतामा अस्पताल छ । ‘कम्तीमा २ जना विशेषज्ञ भएनन् भने धान्नै सकिन्न । शल्यक्रिया सेवा अवरुद्ध हुन्छ,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘जटिल केस आयो भने एक्लो डाक्टरले केही गर्न सक्दैन ।’ मन्त्रालयदेखि विज्ञ चिकित्सकले पनि अस्पतालप्रति चासो नदिएको उनको आरोप छ ।

कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि भन्दै खरेललाई पोखरा पठाइएको सूचना मन्त्रालयले दिएको पोखरेलले बताए । बागलुङमा पनि ४ सय कोरोना संक्रमित पुगेका छन् । हाल ७७ सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

७ दिनमै नियुक्तिको निर्णय फेरिँदा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगर पनि आक्रोशित छन् । ‘आफ्नो सरुवा अन्यत्रै भइसकेको छ भन्ने थाहा पाएर पनि तामधामका साथ हाजिर गर्न पनि आउनु पर्थेन,’ उनले भने, ‘हामीलाई नाटक देखाइयो ।’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जसको जहाँ आवश्यकता भयो, त्यहीं पठाइएको बताए । ‘उहाँको ठाउँमा अर्को डाक्टर पठाइएको छ,’ उनले भने, ‘त्यहाँ उहाँको आवश्यकता थिएन ।’

अस्पतालमा मेडिकल अधिकृतको पनि अभाव छ । १५ विशेषज्ञ र १० मेडिकल अधिकृत गरी २५ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले मेसुसहित १० जना मात्रै विशेषज्ञ चिकित्सक छन् । मेडिकल अधिकृतको पद खाली छ । ‘भएका सबै मेडिकल अधिकृतहरू परीक्षाका लागि गए, यहाँ कोही छैन,’ पोखरेलले भने, ‘विभागीय प्रमुख पनि छैनन् ।’

ओपीडीमा बस्ने मेडिकल अधिकृत नभएपछि तल्लो तहका स्वास्थ्यकर्मीले बिरामी जाँच्नुपर्ने बाध्यता छ । दैनिक ३ सय जनासम्म बिरामी आउने अस्पतालमा कोरोना संक्रमणविरुद्ध आइसोलेसन पनि सञ्चालनमा छ । यहाँ २५ शय्याको आइसोलेसन राखिएकाले स्वास्थ्यकर्मीले दिउँसो र रातिसमेत सेवा दिइरहेका छन् ।

प्रकाशित : आश्विन १६, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?