नवलपरासीको शान्ति माविमा पढाइ सुरु

नारायण शर्मा

नवलपरासी — यहाँको एक सामुदायिक विद्यालयले नियमित पठानपाठन सुरु गरेको छ । पिठौलीमा रहेको शान्ति निकुन्ज माविले सामाजिक दूरी र अन्य उपाय अवलम्बन गरेर बिद्यालयमा अघिल्लो मंगलबारबाट नियमित पढाइ सुरु गरेको हो । 

नवलपरासीको शान्ति माविमा पढाइ सुरु

विद्यालयका प्रधानाध्यापक हरि न्यौपानेका अनुसार कक्षा ६ देखि १२ सम्म पढाइ सुरु भएको हो । १ सय ८० विद्यार्थीलाई नियमित पढाइ सुरु भएको हो । एउटा कक्षामा बढीमा २५ जना र एउटा बेन्चमा २ जना राखिएको छ ।

विद्यालयको गेटमा हरेक दिन ज्वरो नाप्ने, अनिवार्य साबुन पानीले हात धुने, मास्क अनिवार्य गरिएको छ । विद्यालयमा शिक्षक र विद्यार्थीले घरबाट आफैले ल्याएको खाजा खाने व्यवस्था छ । विद्यालयले कोभिडबाट बच्न अबलम्बन गर्न सरकारले तोकेको सबै मापदण्ड पूरा गरेर पठनपाठन सुरु गरिएको हो ।

अघिल्लो मंगलबारबाट नियमित कक्षा सुरु भएको छ । विद्यार्थीको पढाइ नबिग्रियोस् भन्ने अभिभावकको चाहनालाई समेत दृष्टिगत गरेर पठनपाठन नियमित गरेको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए । उनले विद्यार्थी घरबाट आउँदा समेत एक्लाएक्लै आउनेगरि विद्यालय सञ्चालन हुनुअघि नै घरघरमा पुगेर काउन्सिलिंग गरिएको जानकारी दिए ।

कोभिड–१९ का कारण बन्द रहेको विद्यालयमा पठनपाठन सुरु गर्ने शान्ति निकुन्ज मावि जिल्लाकै पहिलो विद्यालय हो । बिद्यालयमा २३ जना शिक्षकले पनि सबै नियम पालना गरेर उदाहरणीय बनाइएको प्रधानाध्यापकको दाबी छ ।

पूर्वी नवलपरासीमा सरकारी ३ सय १२ र निजी ९३ विद्यालय छन् भने विद्यार्थी ९८ हजार छन् ।

प्रकाशित : आश्विन १५, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?