१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्मार्ट वालिङ डिजिटल सिस्टमको सुरुवात

प्रतीक्षा काफ्ले

स्याङजा — स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङजाको वालिङ नगरपालिकाले स्मार्ट वालिङ डिजिटल सिस्टमको सुरुवात गरिएको छ । वालिङलाई उत्कृष्ट स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट वालिङ एप्सको सुरुवात गरिएको हो ।

स्मार्ट वालिङ डिजिटल सिस्टमको सुरुवात

वडामा हुने सिफारिसका काम काजहरु डिजिटल सिस्टमबाट भुक्तानीसहित गर्ने नेपालकै पहिलो पालिका वालिङ बनेको छ । स्मार्ट पालिकाले निर्माण गरेको यो एप तथा विद्युतीय सुशासन प्रणाली वालिङ नगरपालिकालाई हस्तान्तरण गरेसँगै यसको शुभारम्भ भएको हो ।

जन्मदेखि मृत्युसम्मका लागि आवश्यक पर्ने सम्पूर्ण सेवा वडा तथा नपाको कार्यालयसम्म नपुगी घरबाटै एपको प्रयोगबाट गर्न सकिने भएकाले पनि सेवा प्रवाह तथा सेवाग्राहीलाई सहजता हुनुकासाथै सुशासनका लागि सहयोगी हुने नगरप्रमुख दिलीपप्रताप खाँडले बताए ।

'डिजिटल सिस्टमलाई कार्यान्वयनका लागि सुरुका चरणमा केही समस्या आउन सक्छन्,' उनले भने,'समस्या आउँछन् भनेर अगाडि नबढ्ने होइन समस्यासँग जुध्दै अगाडि बढेमात्रै सफल बन्न सकिन्छ । नगरका सबै गतिविधि हेर्न सकिने भएकाले पनि पारदर्शिताको उच्चतम प्रयोग भएको छ ।’

स्मार्ट सिटी वालिङ निर्माणका लागि २० वर्षको योजना बनाइएको नगर प्रमुख खाँडले बताए । स्मार्ट वालिङ डिजिटल सिस्टम स्मार्ट पालिका निर्माणका लागि तयार गरिएका १०६ वटा सूचकमध्ये एउटा सूचक मात्रै यो रहेको बताउँदै उनले यो कार्य पुरा गर्न करिब २० वर्ष लाग्ने बताए । 'जहिले सूचकहरु पूरा हुन्छन् त्यतिबेलामात्रै आधारभूत तहको स्मार्ट सिटी बन्नेछ,’ उनले भने ।

विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) को प्रयोगले छिटो छरितो, पारदर्शी सेवा प्रदान गर्न सकिनुका साथै कागजी प्रक्रियाको समेत अन्त्य हुने उनको भनाइ छ । जनप्रतिनिधि तथा कर्मचारी सबैलाई व्यक्तिगत रुपमा ‘क्रिप्टो टोकन’ उपलब्ध गराएका नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार विद्युतीय हस्ताक्षर लागू भएपछि कोही पनि सेवाग्राही कार्यालय समयबाहेक पनि सेवा लिन सक्नेछन् ।

नगर उपप्रमुख कल्पना तिवारीले नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै वालिङलाई स्मार्ट सिटी बनाउने मार्गमा रहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले वालिङलाई स्मार्ट नगरको रुपमा विकास गर्नका लागि ल्याइएका सूचकहरुमध्येको स्मार्ट वालिङ डिजिटल सिस्टमलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि नगरबासीलाई यसबारे आवश्यक तालिम तथा प्रशिक्षणको व्यवस्था गरी प्रविधिमैत्री बनाउनका लागि आवश्यक पहल गर्ने बताए ।

रेडियन्ट ईन्फोटेक नेपालले वालिङ नगरपालिकालाई विद्युतीय हस्ताक्षर उपलब्ध गराएको थियो भने सेल एपले डिजिटल प्रणाली हस्तान्तरण गरेको थियो । अनलाईन पेमेन्ट गेटवेका लागि डिजिटल पेमेन्ट सिस्टम खल्तीसँग नगरपालिका र खल्तीबीच सम्झौता आदान प्रदान भएको थियो ।

प्रकाशित : आश्विन १३, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?